fbpx
Rashifal Ad

गृहपृष्ठ सुर्खेत गौहत्या प्रकरण : १६ आरोपित धरौटीमा रिहा, चारविरुद्ध मुद्दा चलेन

सुर्खेत गौहत्या प्रकरण : १६ आरोपित धरौटीमा रिहा, चारविरुद्ध मुद्दा चलेन

surkhet_district_court

गौबध काण्डका आरोपीहरु धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत सुर्खेतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यबाट भएको थुनछेक आदेशअनुसार उनीहरुलाई धरौटीमा रिहा गरिएको हो ।

जिल्ला अदालत सुर्खेतले उनीहरुलाई शुक्रबार धरौटीमा बैंक जमानतसहित रिहा गरेको श्रेष्तेदार भुपाल भण्डारीले जानकारी दिए । गौबधका १८ आरोपितमध्ये दुईजना फरार भएको र १६ जनालाई धरौटीमा रिहा गरिएको उनले बताए ।

फरार दुई जना नेपालगन्ज कान्जी हाउसका सहयोगी राकेश भारती र पवन कनौजियालाई समेत म्याद जारी गर्ने आदेश भएको भण्डारीले बताए । नेपालगन्ज उपमहानगरपालिका बाँकेका नगर प्रहरी सूर्यबहादुर बोगटीलाई चार लाख ५० हजार र प्रहरी सहायक निरीक्षक विकास गौतमलाई २ लाख ५० हजार धरौटीमा रिहा गरिएको हो । त्यस्तै, प्रहरी जवान सुवर्ण तारामीमगर, प्रहरी जवान चन्द्रबहादुर राना, प्रहरी जवान सुशान्त शाही र कमल वयकलाई दुई–दुई लाख धरौटीमा अदालतले रिहा गरेको छ ।

त्यस्तै क्यारियर ट्रान्सपोर्ट चितवनका सञ्चालक सन्तृप्त श्रेष्ठलाई ३ लाख ५० हजार, वारुण यन्त्र फायर कर्मचारी कमल थापामगरलाई १ लाख ५० हजार, कान्जी हाउस सहयोगी धर्मेन्द्र नेपालीलाई १ लाख ५० हजार धरौटीमा जिल्ला अदालत सुर्र्खेतले रिहा गरेको भण्डारीले बताए ।

त्यस्तै सवारी चालकहरु शत्रुधन चौधरी, हिमबहादुर विसी, दामोदर केसी, विवेक कुँवर र सागर विश्वकर्मालाई जनही एक–एक लाख रुपैयाँमा रिहा गरिएको छ । दुई जना सहचालक अमृत चौधरी र कृष्णबहादुर बिसीलाई भने साधारण तारेखमा रिहा गरिएको उनले बताए ।

सरकारी वकिल कार्यालय सुर्खेतले नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा, जिल्ला प्रसासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्याय, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल र जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेमबहादुर थापालाई भने मुद्दा नचालाउने निर्णय गरेको जिल्ला अदालत सुर्खेतले बताएको छ ।

गौवध मुद्दामा जिल्ला न्यायाधिवक्ता डम्बरप्रसाद काफ्ले तथा सहायक जिल्ला न्यायाधीवक्ता आरति चपाईंले सरकारका तर्फबाट बहस गरेका थिए । त्यस्तै प्रतिवादीको तर्फबाट कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोविन्दप्रसाद शर्मा वन्दी, वरिष्ठ अधिवक्ता प्रेमध्वज शाही, अधिवक्ता शालिकराम सापकोटा, सुनिलकुमार श्रेष्ठ, मेहरसिंह खत्री, ईश्वरीप्रसाद ज्ञवाली, उत्तमप्रसाद आचार्य र लोकबहादुर शाहले बहस गरेका थिए । जिल्ला अदालत सुर्खेतका अनुसार प्रतिवादीहरु सोह्रै जनाले शुक्रबार नै धरौटी रकम बुझाइसकेका छन् ।

भदौ १३ गते नेपालगन्ज उपमहानगर अन्तर्गत सञ्चालित कान्जी हाउसमा रहेका गाईगोरु सुर्खेतको कटकुवा, बिउरेनीलगायतका स्थानमा मृत फेलापरेका थिए । नेपालगन्जबाट सुर्खेत हुँदै आठ वटा ट्रकमा दैलेखको श्रीस्थानसम्म लैजान ल्याइएका २९१ गाईगोरुमध्ये ३९ वटा सुर्खेतमा मृत फेलापरेका थिए ।

प्रकाशित समय १७:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु