गृहपृष्ठ बाल दिवसमा प्रधानमन्त्रीको सन्देश- बालहिंसा सह्य हुँदैन

बाल दिवसमा प्रधानमन्त्रीको सन्देश- बालहिंसा सह्य हुँदैन

kp_oli-newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकामाथि हुने कुनै पनि प्रकारको हिंसा सह्य नहुने बताएका छन् । राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न सरकारले विशेष पहल थालेको छ ।’

‘समृद्ध नेपाल सुखी नेपाल’ दीर्घकालीन राष्ट्रिय अभिष्ट भएकाले यसलाई हासिल गर्न योग्य,सक्षम,सुशिक्षित र गुणवान नागरिक निर्माणतर्फ लाग्न उनले सबैमा आग्रह गरेका छन् । ‘आजैदेखि हाम्रा बालबालिकालाई पोषणयुक्त खाना, उचित व्यायाम, स्वस्थ मनोरञ्जन, आवश्यक आरामको अवसर, जीवनपयोगी शिक्षा र सामाजिक सुसंस्कार प्रदान गर्नु हामी सबैको दायित्व हो,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

निरक्षरताविरुद्ध अभियान चलाउने क्रममा सरकारले बालअधिकारको पहिलो पाइलाको रूपमा आधारभूत तहको शिक्षा निःशुल्क गरेको उनको भनाइ छ । पढ्ने अवसरबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भन्नेमा सरकार सचेत रहेको प्रधानमन्त्रीले बताएका छन् । ‘सरकारले विपन्न परिवारका केही बालबालिकाको शैक्षिक अभिभावकत्वसमेत ग्रहण गरी दुई वर्षभित्र विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने लक्ष्य निश्चित गरेको छ,’ प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ, ‘प्राथमिक तहमा भर्ना भएका जुनसुकै विद्यार्थीले पनि माध्यमिक तहको शिक्षा पूरा गर्ने सुनिश्चितताकf लागि लक्षित वर्ग केन्द्रित छात्रवृत्ति, दिवा खाजा र विद्यार्थीमैत्री पाठ्यक्रमको व्यवस्था गर्ने नीति लागू गरिएको छ ।’

संविधानको धारा ३९ ले प्रत्येक बालबालिकालाई परिवार तथा राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारसहित सर्वाङ्गीण विकासको हक सुनिश्चित गरेको भन्दै प्रधानमन्त्री ओलीले बालबालिका आफैं अधिकार प्रयोग गर्न नसक्ने भएकाले परिवार, समाज र राज्यबाट पहलकदमी लिइनुपर्ने आवश्यकता औंल्याए ।

नेपालले संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ मा अनुमोदनयता हरेक वर्ष भदौ २९ लाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आएको छ । यो वर्षको बाल दिवसको मूल नारा ‘सुनिश्चित बालअधिकार : समृद्ध नेपालको आधार’ लिइएको छ ।

प्रकाशित समय ०८:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु