गृहपृष्ठ बेनी-जोमसोम सडक पाँच दिनपछि सञ्चालनमा

बेनी-जोमसोम सडक पाँच दिनपछि सञ्चालनमा

nkarobar-newskarobar

पाँच दिनदेखि अवरुद्ध बेनी-जोमसोम सडक सञ्चालनमा आएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ र मुस्ताङको थासाङ गाउँपालिका-४ को सिमाना घोप्टेभिरमा पहिरोले आइतबारदेखि अवरुद्ध बनेको बेनी-जोमसोम सडक बिहीबार बिहानबाट सञ्चालनमा आएको हो । पहिरोले करीब १३ मिटर सडकको बेस भत्काएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने ७६ किलोमिटर दूरीको यो सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको थियो ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाको निर्माण कम्पनीको डोजर परिचालन र नेपाली सेनाको सहयोगमा विस्फोटक पदार्थ प्रयोग गरेर पहाड फुटाएर मर्मत गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए ।

बुधबार राति सडक मर्मत गरेपछि आज बिहानबाट सिधा यातायात सेवा सुचारुमा आएको हो । बेनीदेखि मुस्ताङ जाने सवारी साधन काभ्रे र मुस्ताङबाट बेनीतर्फ आउने सवारी साधन घाँसामा रोकिएका थिए । बाटो सुचारुभएसँगै स्थानीयवासी, मुस्ताङ भ्रमण गर्ने पर्यटक र मुक्तिनाथ तीर्थयात्राका लागि जाने आउने तीर्थयात्रीलाई गन्तव्यतर्फ जान सहज भएको छ । मुस्ताङमा उत्पादित स्याउ बजारमा पुग्न थालेको छ ।

यसअघि गत असार अन्तिम सातासमेत सोही ठाउँमा कालीगण्डकीले कटान गरेर बगाएको सडक एक हप्तापछि मर्मत गरेर यातायात सञ्चालन गरिएको थियो । स्तरोन्नतिको क्रममा रहेको बेनी-जोमसोम सडकको गलेश्वरदेखि घाँसासम्मको सडक पहिरोको जोखिममा रहेको छ ।(रासस)

प्रकाशित समय ०७:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु