fbpx
Nepal Mediciti

गृहपृष्ठ आत्महत्या रोकथामका केही उपाय

आत्महत्या रोकथामका केही उपाय

suside-newskarobar विश्व आत्महत्या रोकथाम दिवसमा मंगलबार साँझ काठमाडौंको माइतीघरमा गरिएको दीप प्रज्वलन ।

विश्वमै आत्महत्या डरलाग्दो समस्याका रुपमा देखा पर्दै गएको परिप्रेक्ष्यमा चिकित्सकहरुले आत्महत्या रोक्न सकिने सुझाव र उपाय बताएका छन् । विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा चिकित्सकहरुले आत्महत्या दिनप्रतिदिन विकराल समस्याको रुपमा उदाउँदै जानुको कारण नेपालमा रोकथामका कार्यक्रम तथा उपचार पर्याप्त नभएको बताएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. तारानाथ दाहाल आत्महत्या गर्ने सोच बनाएको व्यक्तिलाई रोक्न नसकिने आम धारणा भए पनि त्यो गलत रहेको बताए । ‘आत्महत्या गर्ने सोच बनाएको व्यक्तिलाई सहयोगका साथै विभिन्न मनोपरामर्शको माध्यमबाट रोक्न सकिन्छ,’ उनले भने । आफूकहाँ आएका त्यस्ता व्यक्तिलाई पहिचान गरी गम्भीरतापूर्वक उपचार गराउन उनले सबै चिकित्सकलाई आग्रह पनि गरेका छन् ।

विश्व आत्महत्या रोकथाम दिवसका सन्दर्भमा नेपालमा पनि ‘आत्महत्या रोकथाममा सबैको सहकार्य’ भन्ने नारासहित जनचेतनामूलक कार्यक्रम तथा -याली आयोजना गरिएका छन् । सामान्यतः मानसिक रोगी तथा डिप्रेसनका बिरामीले समयमै साथ, सहयोग र उचित उपचार पाएमा आत्महत्या नरोज्ने गरेको विभिन्न अध्ययनले देखाएका छन् ।

आत्महत्या गर्नेको संख्या घट्दै
विश्वभर आत्महत्या गर्नेको संख्या घट्दै गएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांकअनुसार विश्वमा सन् २०१० देखि सन् २०१६ सम्ममा करिब १० प्रतिशतले आत्महत्या गर्नेको संख्या घटेको छ ।

नेपालमा भने अघिल्ला वर्षको तुलनामा गत आर्थिक वर्ष २०७५/७६ मा ८.२२ प्रतिशतले आत्महत्या बढेको छ । सबैभन्दा धेरै १९ देखि ३५ वर्ष उमेर समूहका मानिस धेरै छन् । संसारभर हरेक वर्ष करिब आठ लाख जनाले आत्महत्या गर्ने गरेको डब्लूएचओको तथ्यांकमा उल्लेख छ ।

आत्महत्यासम्बन्धी गलत धारणा
आत्महत्या गर्ने व्यक्तिमा कुनै मानसिक समस्या हुन्छ भन्ने आम बुझाइ छ तर मानसिक समस्या नभएका मानिसले पनि आत्महत्या गर्छन् ।
आत्महत्याका कुरा अरुको ध्यानाकर्षण गर्न होइन, साथ र सहयोगका लागि आग्रह गरेको भन्ने बुझ्नुपर्छ ।
बालबालिकाले आत्महत्या गर्दैनन् भन्ने गलत हो । नेपालमा बालबालिकाको आत्महत्या पनि बढ्दो छ ।
आत्महत्याको प्रयास गरिसकेको व्यक्तिले पुनः आत्महत्या गर्दैन भन्ने धारणा आमनेपालीमा भए पनि त्यस्ता व्यक्ति पुनः आत्महत्या गर्ने ७५ प्रतिशत सम्भावना रहन्छ ।

आत्महत्याअघिका संकेत
बारम्बार निरासापन, एक्लोपन र फन्दामा परेको महसुस हुनु
लागु औषध र मादक पदार्थ सेवन बढ्नु
निरन्तर छटपटी र व्याकुलता बढेको महसुस हुनु
निद्रामा गडबडी र भावनात्मक उतारचढाव
जोखिमपूर्ण काममा रुचि बढ्नु
आत्महत्यासम्बन्धी कुरा गर्नु वा योजना बनाउनु
सामाजिक सञ्जालमा आत्महत्याको विचार, योजना वा निराशाजनक अभिव्यक्ति प्रकट गर्नु
आफ्नो निजी सरसामान अर्कालाई दिनु
सामाजिक क्रियाकलाप या साथीभाइबाट टाढिनु

रोकथामका उपाय
सम्भावित लक्षण पहिचान गर्ने
आत्महत्या निरुत्साहन गर्न आ-आफ्नो भूमिका निर्वाह गर्ने
उपलब्ध सेवाबारे जानकारी र पहुँच राख्ने
आत्महत्याबारे खुलेर कुरा गर्ने
मानसिक रुपमा स्वस्थ रहन स्व-हेरचाहको अभ्यास गर्ने

प्रकाशित समय १७:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु