fbpx
Nepal Mediciti

गृहपृष्ठ द्वन्द्वको दाग : २० वर्षदेखि शरीरमा गोली

द्वन्द्वको दाग : २० वर्षदेखि शरीरमा गोली

Goli-nikalne-newskarobar सांकेतिक तस्बिर

एक्लै हिँड्न उहाँलाई समस्या पर्छ । कारण उनको शरीरमा बेलाबेलामा (दिनमा दुई तीन पटक) करेन्टको झट्का लाग्ने गर्छ । त्यही करेन्टको झट्का लाग्ने बेलामा लडेर घाइते हुने वा चोटपटक लाग्ने सम्भावना बढी हुन्छ । आफूलाई सुरक्षित राख्न एकजना साथी अनिवार्य साथमा राखेर बाहिर हिँडडुल गर्छन् । यो सब उनी बिरामी भएर होइन, युद्धका क्रममा लागेको गोलीले हो । युद्धको बेलामा सेनाले हानेका गोली शरीरभित्र अझै अड्किएका छन् ।

त्यसैको असरले उनको शरीरमा समस्या भएको हो । उनको शरीरमा अहिले पनि १० वटा गोली छन् । युद्धका बेलामा एकपटक जीवन पाएका पात्र हुन् उनी । २० वर्षदेखि शरीरभरि गोली बोकेर हिँडेका सिस्ने गाउँपालिका–८ लम्पाकोटका ३६ वर्षीय डम्मरबहादुर बुढा अहिले भने राजनीति क्षेत्रबाट अली टाढा छन् ।

उनको दाहिने हातको पाखुरामा एक, देब्रे खुट्टामा एक, दाहिने खुट्टामा दुई, घाँटीमा दुई वटा गोली छन् । त्यसैगरी पेटमा एक, गालामा एक र कम्मरमा एक गोली छन् । शरीरभरि छर्रा रहेको उनले जानकारी दिए । जनयुद्धका बेला २०५५ चैत ७ गते म्याग्दीको बेनी बेसक्याम्पबाट सैनिक ब्यारेक कब्जा गर्ने क्रममा गोली चल्दा शरीरमा १५ वटा गोली लागेका थिए । बुढालाई गोली लागेपछि सबै भाग्न सफल भएका थिए । उनको शरीर रगताम्मे भएको थियो । घाइते अवस्थामा पुगेका बुढालाई भित्रकै स्वास्थ्य विभागको टोलीले उपचार गरेको थियो ।

घटनाको आठ वर्षपछि भारतको मुम्बईको एक अस्पतालमा शल्यक्रिया गरेर पाँच गोली निकालियो । दुई हातको पाखुरा, दुई खुट्टा र एक वटा गालाबाट गोली निकालिएको थियो । त्यो गोली चाहिँ नसा र हड्डीको छेउछाउमा भएका कारण स्वास्थ्य अवस्थामा समस्या पर्ने र अपांगतासमेत हुनसक्ने भन्दै बाँकी १० गोली निकाल्न नमिल्ने चिकित्सकले सुझाव दिएका थिए । अहिले ती गोली शरीरभित्र त्यत्तिकै छन् । शरीरमा गोलीका दाग प्रष्टै देख्न सकिन्छ ।

बुढाको उपचार जंगलमै गरिएको थियो । युद्धभूमिकै उपचारले उनको ज्यान बचेको थियो । गोली भएको ठाउँमा दुख्ने, चिलाउने, झमझमाउने र करेन्ट लागेको जसरी बेलाबेलामा झट्का लाग्ने गरेको उनले बताए । आर्थिक अवस्था कमजोर भएका कारण औषधि पनि प्रयोग गर्न सकेका छैनन् ।

२०५५ मा १५ वर्षको उमेरबाट राजनीति यात्रा सुरु गरेका बुढाले विद्यार्थी संगठनमा पनि काम गरेका थिए । त्यसपछि गुल्मीमा जनमुक्ति सेनाको प्लाटन कमान्डर भई काम गरे । परिवार नै राजनीतिमा लागेका कारण परिवारको प्रेरणाबाट जनयुद्धमा होमिएको उनले बताए । लगातार रुपमा २०५५ देखि २०६० सम्म युद्धमा होमिएका बुढा त्यसपश्चात भने भारतमै बसे ।

एक वर्षअघि मात्र नेपाल फर्किएका उनी लम्पाकोटमा खेती किसानी गरिरहेका छन् । सामान्य काम गर्न सक्ने तर शरीरलाई भार पर्ने खालका काम गर्न नसक्ने उनकी पत्नी जगतकुमारी बुढाले बताइन् । अहिले उनी सामान्य जीवनयापन गरिरहेका छन् । (रासस)

प्रकाशित समय ०७:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु