fbpx
Nepal Mediciti

गृहपृष्ठ लागुऔषध नियन्त्रणका लागि ‘म अघि बढ्छु’ अभियान

लागुऔषध नियन्त्रणका लागि ‘म अघि बढ्छु’ अभियान

Lagu Ausadh_NewsKarobar सांकेतिक तस्बिर

सोच्ने क्षमतालाई शून्य बनाउने लागुऔषध नियन्त्रण एवं रोकथाम गर्न प्रदेश सरकारले महत्वपूर्ण अभियान सञ्चालन गरेको छ । सगरमाथा टिन्स क्लबमार्फत ‘म अघि बढ्छु’ अभियान खासगरी प्रदेशका दुई हजार विद्यालयमा कार्यक्रम सञ्चालन गरी दुई लाख विद्यार्थीलाई यसबारे सचेतना कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको छ । प्रदेशभरिमा लगभग २० हजार युवायुवती लागु औषधमा नराम्रोसँग फसेका छन् ।

यसको सेवनले सेवनकर्ता मात्र होइन परिवारजन र समाजमा पनि भयावह स्थिति सिर्जना गर्दछ । शरीर गलाउने, विकृति र विसंगतिको बाटोमा लैजान प्रेरित गर्ने, झगडालु स्वभाव हुने र एकाग्र देखिने युवा युवतीलाई यो अवस्थाबाट बाहिर ल्याउन प्रदेश सरकाले यो अभियान सञ्चालन गरेको हो । लक्षित वर्गलाई सञ्चालन भएको यो अभियानबाट लागुऔषधका सेवनकर्तालाई असल बाटो हिँडाउन र नयाँलाई रोक्न सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।

प्रदेश  १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चालन भएको यो कार्यक्रम केही दिन पहिला प्रदेशका १५० विद्यालयमा एकैसाथ शुभारम्भ भएको हो । लागुऔषध प्रदेश नं १ मा पूर्वतर्फ झापाको काँकडभिट्टा सिमानामा पर्ने भारतको बजार पानीट्यांकी, भद्रपुर नजिकै रहेको भारतको बजार गलगलिया र मोरङको विराटनगर महानगरपालिकासँग जोडिएको भारतको बजार जोगबनी र सुनसरीको भण्टाबारीस्थितका बजार भीमनगर नाकाबाट बढी भित्रिने गरेको प्रहरीको अनुसन्धानमा छ ।

महेन्द्रराजमार्गको काँकरभिट्टा, दमक, इटहरी, धरान र विराटनगर आसपासका क्षेत्रमा बढी प्रयोग हुने लागुऔषध पहाडी जिल्लामा पनि यसको प्रयोग हुने र यसका लागि त्यस्ता युवा यस क्षेत्रमा आएर लागुऔषध प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । मोरङमा लागुऔषध प्रयोग गर्ने १ हजार ३ सय ७६ जनामा महिला एक प्रतिशत अर्थात १३ जना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लागुऔषध क्षेत्रमा कार्यरत संस्था रिचमन्ड फेलोसिपका अध्यक्ष सञ्जीव चापागार्इंले मोरङमा लागुऔषध सेवनकर्ता ६ हजार ४ सय १५ जना रहेका जानकारी दिए ।

लागुऔषध सेवनकर्तालाई तीन महिनासम्म तालिम एवं सचेतना गराई पुनः घरपरिवारमा पुनःस्थापना गराउने उद्देश्य रहेको उक्त संस्थासँगै यस क्षेत्रमा कार्य गर्ने अझै आठवटा संस्था रहेका अध्यक्ष चापागार्इंले जानकारी दिए । मोरङमा गत तीन महिनामा लागुऔषधका ४२ मुद्दा दर्ता भएका छन् भने अघिल्लो वर्षमा सो अवधिमा ९७ मुद्दा दर्ता भएका प्रहरी उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिए । लागुऔषध सेवन गर्नेले निराशाका कारण तनाव र पीडा विर्सन, अत्यन्त सुख महसुस गर्न लागुऔषध सेवन गने गरेको बताउने गरेका छन् ।

लागुऔषधको असरबारे सेवनकर्ताले केहीले अलिअलि थाहा भएको, केहीले थाहा नभएको, कसैले राम्रो जानकारी भएको प्रतिक्रिया दिने सेवनकर्तामध्ये एकपटक सम्पर्क आउने ७०८ जना, दुई पटक सम्पर्कमा आउने ४१५ जना र तीनभन्दा बढी पटक सम्पर्कमा आउने ४४ जना रहेका उपरीक्षक अधिकारीले बताए । लागुऔषध प्रयोगका लागि खर्चको व्यवस्थापन साथीभाइ, परिवारबाट, आफनै आम्दानीबाट गरिहेको सेवनकर्ताको सिकाइ ९५ प्रतिशतले दुर्व्यसनीबाट र पाँच प्रतिशतले टेलिभिजनबाट सिकेको जानकारी दिएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

सुँघेर, खाएर र सिरिन्जको माध्यमबाट प्रयोग हुने लागुऔषध सेवनकर्ताले दुर्व्यसनी साथीभाइ, लागुऔषध विक्रेताबाट, औषधि व्यवसायीबाट प्राप्त गरिरहेका छन् । सेवनकर्ताले लागुऔषध ३२ प्रतिशत नेपालमै र ६८ प्रतिशतले भारतबाट प्राप्त गर्ने गरेको रहस्य प्रहरीको अनुसन्धानमा देखिएको छ । डाइजोपामलगायत औषधिजन्य लागुऔषध, गाँजा चरेस, अन्य सेन्थेटिक र हिरोइनजस्ता लागुऔषध सेवन गर्नेको शैक्षिक योग्यता कक्षा १ देखि ५ का २३६ जना, कक्षा ६ देखि १० का ७५४ जना, कक्षा ११ देखि १२ का १७७ जना, स्नातकका १६४ जना र अन्य प्राविधिक योग्यता भएका ४५ जना फेला परेका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।

सम्पर्कमा आएका सेवनकर्तामा मजदुर ५४४, चालक एवं सहचालक १६८, विद्यार्थी १३६, बैदेशिक रोजगारीमा रहेका ९१, बेरोजगार ७४ र कृषि पेसा अँगाल्ने २६ जना रहेका छन् । धर्मका आधारमा सेवनकर्तामध्ये हिन्दु १ हजार १ सय ४९, बौद्ध १३०, सबैधर्म मान्ने ३४, मुस्लिम ३३, क्रिस्चियन १९, किरात सात र इसाई धर्म मान्ने चारजना छन् भने उमेरका हिसाबले १२ देखि १५ वर्षका १२, १६ देखि २५ वर्षका ८३३, २६ देखि ४० वर्षका ५०४ र ४१ देखि ५० वर्षका २४ जना देखिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । (रासस)

प्रकाशित समय १२:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु