fbpx
Nepal Mediciti

गृहपृष्ठ पर्यटकीय विकाससँगै गाउँ फर्कदै मानहुँवासी

पर्यटकीय विकाससँगै गाउँ फर्कदै मानहुँवासी

व्यास नगरपालिका-५ मानहुँकोटका सुकराम थापामगर ६९ वर्ष पुगिसकेका छन् । वर्षौंदेखि खानेपानीको चरम अभाव झेल्दै आएका उनलाई घरायसी सरसामान किन्न पनि तनहुँको सदरमुकाम दमौली जानुपर्ने बाध्यता छ । त्यहाँबाट घर फर्कन झन्डै दुई घण्टाभन्दा बढी समय कस्सिएर हिँड्नुपर्थ्यो । जीवनको लामो समय यस्तै संघर्षमा बिते सुकरामका ।

उमेरले बुढ्यौली लागे पनि अहिले भने उनको अनुहारमा चमक छ । पछिल्ला दुई वर्षयता दिनहुँजसो मानहुँकोट आउने पर्यटकका कारण उनको दैनिकी व्यस्त बनेको छ । घरमै खाजा घर सञ्चालन गरेपछि पर्यटक र तिनका पथप्रदर्शकले खाजा खाने र विभिन्न सामग्री खरिद गर्ने हुँदा यसले उनको आयआर्जन पनि राम्रै छ ।

विगतमा ७० वटासम्म घर भएको मानहुँकोटमा अहिले जम्मा सातवटा घर मात्रै छन् तर ती सातवटै घरमा अहिले स्थानीयले खाजा घर राखेका छन् । सदरमुकामबाट नजिकै रहेर पनि पूर्वाधार विकास, बाटोघाटो, खानेपानी आदिका कारण दुर्गमजस्तै बनेको यस ठाउँको पर्यटकीय सम्भाव्यतालाई दृष्टिगत गरी व्यास नगरपालिकाले चासो दिएसँगै यो ठाउँ यतिखेर काँचुली फेर्ने अवस्थामा पुगेको हो ।

सदरमुकामबाट झन्डै दुई घण्टाभन्दा बढी हिँडेर पुगिने यस ठाउँमा अहिले भने सवारी साधनबाट करिब २५-३० मिनेटमै पुग्न सकिन्छ । विगतमा खानेपानीको चरम समस्या झेलेका स्थानीयवासीका लागि गाउँमा नै अकासे-पानी संकलन गर्ने गरी ट्यांकी निर्माण गरिएपछि ठूलै राहत मिलेको अर्की स्थानीयवासी रेवती आलेमगरले जानकारी दिइन् ।

‘पहिला राति १ बजे उठेर पानी लिन जान्थ्यौँ, उज्यालो हुँदा जम्मा दुई खेप पानी ल्याउन सकिन्थ्यो,’ विगत सम्झँदै ६० वर्षीया रेवतीले भनिन्यो, ‘ती दिनभन्दा त अहिले त धेरै सुविधा भएको छ, अकासे-पानी संकलन हुने भएकाले त्यसले ठूलै राहत मिलेको छ ।’

पानीको स्रोत तल र गाउँमाथि हुँदा पानीको समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । भएका पानीका स्रोतलाई व्यवस्थित गर्ने लक्ष्यका साथ सपांदी भिरपानी खानेपानी कुवालाई व्यवस्थित बनाएका कारण अहिले त्यहाँबाट पानी ल्याउन केही सहज भएको उनले बताइन् ।

विगतका दुःखका दिन हराउँदै गएका कारण सुविधाको खोजीमा गाउँ छोडेर गएका अब भने फर्कने मनस्थितिमा रहेको उनले बताइन् । अलैँचेबाट मानहुँकोटसम्म सात किलोमिटर सडक कालोपत्रे गर्ने तयारी भइरहेको व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

करिब डेढ किलोमिटर कालोपत्रे भइसकेकामा बाँकी सडक यही आर्थिक वर्षमा सक्ने गरी १० करोड रूपैयाँ विनियोजन गरिएको छ । करिब आठ करोड रूपैयाँको लागतमा काम सक्ने गरी ठेक्का सम्झौता भई काम अघि बढेको वडाध्यक्ष श्रेष्ठले बताए ।

मानहुँकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखलाका साथै सदरमुकाम दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको बाँध निर्माणस्थललगायतका मनोरम दृश्य एक साथ अवलोकन गर्न सकिन्छ । यहाँबाट देखिने मनमोहक दृश्य अवलोकन गर्न पछिल्ला समयमा यस ठाउँमा पर्यटकको घुइँचो लाग्ने गरेको छ ।

मानहुँकोटमा अन्य दिनभन्दा शनिबार र सार्वजनिक बिदाको दिन अत्यधिक भिड हुने गरेको अर्की स्थानीयवासी मधुमाया थापा मगरले बताइन् । दमौलीको गर्मी छल्न र केही समय भने पनि प्राकृतिक सौन्दर्यमा रमाउन समय निकालेर आउनेको संख्या पनि उत्तिकै छ ।

वडाध्यक्ष श्रेष्ठका अनुसार २०७४ सालदेखि यहाँबाट पुलिमराङसम्म गर्न थालिएको ४४ किलोमिटर म्याराथनले पनि यसको चासो र चर्चा अझै चुलिएको हो । ‘स्थानीय तहमा आफूहरू आएपछि मानहुँकोटको प्रचारप्रसार र विकासलाई उच्च प्राथमिकतामा राखेका छौँ,’ उनले भने, ’प्रचारप्रसार र पूर्वाधार विकाससँगै यसलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउने हाम्रो लक्ष्य हो ।’

मानहुँकोट विशेषगरी मगर जातिको बाहुल्य भएको ठाउँ हो । मगर समुदायका संस्कार र संस्कृति बुझ्न पनि यो महत्वपूर्ण गन्तव्य बन्न सक्ने व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने बताउँछन् ।

मानहुँ प्राकृतिक रुपमा रमणीय मगर जातिको बासस्थान एवं यदुनाथ खनालको पनि जन्मभूमि भएको उल्लेख गर्दै उनले मानहुँ र नेपालको लोकतान्त्रिक आन्दोलनमा छ/छ जना व्यक्ति गुमाएको सहिदको गाउँ पुलिमराङलाई पनि सँगसँगै विकास गर्ने सोच राखिएको बताए । मानहुँबाट पुलिमराङसम्मको म्याराथनले यी दुवै ऐतिहासिक स्थललाई जोड्न महत्वपूर्ण सहयोग पुर्‍याएको छ । नगरपालिकाले यहाँको विकासलाई उच्च प्राथमिकतामा राख्दै अघि बढेको नगर प्रमुख न्यौपानेले बताए ।

यहाँस्थित दुर्गा मन्दिरमा बडादसैं तथा चैतेदसैंमा र मंसिर पूर्णिमाका दिन सिद्धबाबा मन्दिरमा विशेष पूजाआजा हुने गरेको छ । मनोकांक्षा पूरा हुने जनविश्वासका आधारमा यहाँ भाकलसहित पूजा गर्न आउनेको आकर्षण पनि बढेको छ ।

व्यास नगरपालिकाले मानहुँकोटको गुरुयोजना निर्माण गरी यसको विकासका लागि काम थालेको नगर प्रमुख न्यौपानेले बताए । उनका अनुसार मानहुँकोटमा पर्यटन प्रवर्द्धनका लागि दृश्यावलोकन स्थल बनाउने तयारी गरिएको छ । नगरपालिकाले ३० लाख रूपैयाँ बजेटसमेत विनियोजन गरिसकेको छ ।  दृश्यावलोकन स्थलबाट मादी र सेती नदीमा बनाइने बाँध, विभिन्न हिमशृंखला, तनहुँ, कास्की, नवलपरासी, गोरखालगायतका जिल्लाका मनोरम दृश्य पर्यटकले एक साथ अवलोकन गर्न सकिने उनले बताए ।

खानेपानीको अभावले गर्दा अझै यसको पर्यटन विकासमा बाधा पुगेको स्थानीयवासी बताउँछन् । खानेपानीको उचित व्यवस्थापन गरिदिन स्थानीयले माग गरेका छन् । नगरपालिकाले मानहुँकोटमा लिफ्ट प्रविधिमार्फत खानेपानी योजना सञ्चालन गर्न लागेको जनाएको छ ।

मानहुँडाँडा आफैँमा एउटा दृश्यावलोकन स्तम्भ हो । यहाँबाट दृश्यावलोकनका लागि आउने पर्यटकको सुरक्षालाई ध्यानमा राख्दै नगरपालिकाले ३० लाख रूपैयाँको लागतमा डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । यस वर्ष रेलिङका लागि ५ लाख रूपैयाँ छुट्याइएको छ । कुल ७ सय मिटर दूरीमा तारबार गर्ने नगरपालिकाको योजना छ ।

पछिल्ला समयमा बन्दै गएका पूर्वाधार र मानहुँको प्रचारप्रसारसँगै बढ्दै गएको पर्यटकीय आकर्षणलाई दृष्टिगत गरी विगतमा गाउँ छोडेर हिँडेका पुनः गाउँमा नै फर्कने तयारी गरिरहेको उनले बताए । (रासस)

प्रकाशित समय १२:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु