fbpx

गृहपृष्ठ खानेपानीका लागि अझै कुवाकै भर

खानेपानीका लागि अझै कुवाकै भर

म्याङलुङबासीलाई वर्षौदेखि पानीको समस्या

म्याङलुङ नगरपालिका- ५ का सर्वसाधारणमा स्थानीय तहको निर्वाचनपछि सबै किसिमका विकासे पूर्वाधार गाउँमै उपभोग गर्न पाइन्छ भन्ने आशा थियो । सडक, सिंचाइ, खानेपानीको पूर्वाधार अभावमा बर्षौंदेखि भोग्नुपरेको समस्या टर्ला भन्ने विश्वास थियो । तर पुस्तौदेखि गाग्रोमा बोकेर पानी खानुपर्ने बाध्यता ज्यूँका त्यूँ छ ।

निर्वाचनका बेला उम्मेदवारहरुले दैलोमै खानेपानी पुर्याइदिने आश्वासन दिएका थिए । तर, पानी ल्याइदिनु त टाढाको कुरा निर्वाचित जनप्रतिनिधि मतदाताको घरसम्म पनि पुग्न भ्याएका छैनन् । म्याग्लुङवासीले वर्षौदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । साविकका ९ वडामध्ये १, २ र ६ का अधिकांश टोलमा कुवा र धाराबाट गाग्रोमा पानी भरेर घरसम्म ल्याउनुपर्ने बाध्यता छ । उक्त वडाका बासिन्दाले घरदेखि एक किलोमिटर टाढाबाट कुवाको पानी बोक्न बाध्य भएको स्थानीय सुमन लिम्बूले बताए । उक्त पानी शुद्ध पनि नभएको लिम्बूको भनाइ छ ।

उनले भने, ‘चुनावका बेला मात्र नेता भनाउँदाहरु आउँँछन्, यो त्यो गर्छौँ र गर्दिँन्नछौँ भन्छन्, खाने पानीका लागि यति दुःख छ, फेरि चुनाव आओस् जानेका छौँ ।’ २०५५ सालमा एसियाली विकास बैंकद्वारा सञ्चालित खानेपानी आयोजना अहिले लथालिंग अवस्थामा छ । साविकका गाविसका सबै वडामा खानेपानी पुर्याउने लक्ष्यका साथ सुरु भएको योजना पूरा नै हुन सकेन । केही वडाका बासिन्दाले मात्र सो आयोजनाको पानी उपभोग गरिरहेका छन् ।

यहाँका स्थानीयलाई पिउने पानीको अभाव हुँदा घरमा आएका पाहुना र पशु चौपायालाई खुवाउनसमेत समस्या छ । मोरङबाट तेह्रथुम आफन्तको घरमा पुगेका विमल लकान्द्री पानीको समस्या देखेर प्रश्न गर्छन्, ‘सबै कुरामा पानी चाहिन्छ, पानी बिनै यहाका जनता कसरी बाँच्ने ?’

साविक वडाहरुको आम्दीम, थापागाँउ, नर्केटे, पिलिङडाँडालगायतका बस्तीका तीन सय बढी घरधुरीले खानेपानीको चरम समस्या झेलिरहेका छन् । घर सिरानमा पानीको मुल भएका कसैकसैले पाइप खरिद गरी व्यक्तिगतरुपमा खानेपानीको उपभोग गर्नुबाहेक अन्य सबै कुवाकै भर पर्नुपर्ने बाध्यता छ । डोकोमा पानी भरेर खाएको ४० वर्ष बढी भइसक्दा पनि खानेपानीको उचित व्यावस्थापन नहुँदा स्थानीय मनमाया लिम्बूले दुःखी छन् । उनले भनिन्, ‘यत्रो वर्ष भइसक्यो डोकोमा पानि बोकेको, अब त पानीको सुविधा आउँछ भनेर आश पनि मरिसक्यो ।’

स्थानीय तह बनेपछि पुराना समस्या हट्नेछ भनेर बसेका नागरिकको आसमा विस्तारै तुषरापात हुँदैछ । तर, आफूहरुले वडामा खानेपानीको व्यावस्थापनका लागि निरन्तर प्रयास गरिरहेको वडाध्यक्ष होमबहादुर खड्काको दावी छ । उनले भने, ‘हामीले प्रयास नै नगरेको हैन, हामी आफै पनि पानी उपभोग गर्छौँ, यो वर्ष पनि बजेट विनियोजन भएको छ, क्रमशः हुन्छ नै ।’

स्थानीय सरकार बनेको दुई वर्ष पूरा भइसकेको छ । जनताको समस्या उस्तै छन् । निर्वाचनका बेला जनप्रतिनिधिले दिएको आश्वासन पूरा नहुँदा जनता निराश छन् । खानेपानीको समस्या समाधान गर्नु कुनै ठूलो चुनौती पनि होइन । सानातिना यस्ता समस्या समाधानमा ध्यान दिए साच्चिँकै सर्वसाधारण जनताले स्थानीय सरकार भएको महशुस गर्नेछन् । नभए गाउँ-गाउँमा सिंहदरबारको नाराले कसरी सार्थकता पाउला ?

प्रकाशित समय ०९:५२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु