गृहपृष्ठ मिथिलाञ्चलमा रक्षाबन्धन : ए रक्षा बन्धन सबसे बडा तौहार है…

मिथिलाञ्चलमा रक्षाबन्धन : ए रक्षा बन्धन सबसे बडा तौहार है…

ए रक्षा बन्धन सबसे बडा तौहार है
बनबालो राखी बेहनाका इसमे प्यार है…

अहिले जनकपुरसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा यस्तै जताततै भाइबहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको सांगितिक धुन गुञ्जायमान भएको पाइन्छ । रक्षाबन्धन पर्वलाई लिएर अहिले तराई मधेशभरि नै एउटा छुट्टै उल्लास छाएको छ ।

दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधामसाथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षमा पहाडी समुदायमा पनि आएको देखिन्छ ।

यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् ।

रक्षाबन्धनका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई याद गर्ने र सोहीअनुरुप दाजुभाइले पनि बहिनीलाई याद गरेर अनिवार्यरूपमा उनीहरु कहाँ पुगेर आफ्ना दिदीबहिनीसँग राखी (रक्षासूत्र) बाँधेर एक अर्कालाई दीर्घायुको कामना गर्दै खुशियाली साटासाट गर्ने दिनलाई रक्षाबन्धन पर्व भनिएको छ । रक्षाबन्धन पर्वले भाइबहिनीको प्रेमलाई झन प्रगाढ बनाउने जनविश्वास छ ।

के हो रक्षाबन्धन ?
भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ ।

रक्षाबन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् । रक्षाबन्धनका अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ । रंगीबिरंगी राखीले पसल सजिएको छ ।

पौराणिक कथाअनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयंकर युद्ध चलेको थियो । यस युद्धमा असुरले देवतामाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे ।

यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्रले बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने संकल्प लिन्छन् । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमुहूर्तमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए ।

आज जनै पूर्णिमा पनि हो । जनै पूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्न टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रूपमा पनि लिइन्छ ।

यता श्रावण शुक्ल पूर्णिमाका अवसरमा तागाधारीले आजका दिन बिहानै नजिकैको नदी, तलाउ तथा कुण्डमा स्नान गरी आफ्ना गुरुबाट मन्त्रिएको जनै धारण गर्ने गर्दछन् । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन रहेको छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग पनि रक्षाबन्धनको सम्बन्ध जोडिएको छ ।

यसैगरी यस दिन देह शुद्ध गरी देवता, सप्तऋषि (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नी, वशिष्ठ र विश्वामित्र) तथा पितृहरूको नाममा तिल, कुशसहित तर्पण गरिने भएकाले यस पर्वलाई ऋषितर्पणीका नामले पनि चिनिन्छ ।

ज्ञान र सफल जीवन मार्गको शिक्षा दीक्षा गर्ने ऋषिहरूको सम्मानमा ऋषि तर्पणी गरी अभिमन्त्रित जनै धारण गरेर धार्मिक तथा पवित्र कार्य सम्पादन गरिन्छ । शास्त्रीय मान्यताअनुसार विशेष गरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) ले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको सांगे (समाप्ति)को दिनका रूपमा जनै पूर्णिमालाई लिइन्छ । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु र महेश्वरको पूजा गरी जनै मन्त्रेर त्यसलाई धारण गर्ने प्रचलन छ । (अजयकुमार साह/रासस)

प्रकाशित समय ११:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु