fbpx

गृहपृष्ठ आज रक्षाबन्धन, वैदिक ब्राह्मणका लागि आत्मशुद्धिको अवसर

आज रक्षाबन्धन, वैदिक ब्राह्मणका लागि आत्मशुद्धिको अवसर

आज रक्षाबन्धन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व बिहीबार देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरी मनाइँदै छ ।

पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो (रक्षासूत्र) धारण गरे नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने विश्वास छ । रक्षाबन्धन पर्वमा वैदिक ब्राह्मणहरूका लागि वर्षभरि आत्मशुद्धि गर्ने अवसर मानिन्छ । वैदिक परम्पराअनुसार वेदपाठी ब्राह्मणहरूका लागि श्रावणपूर्णिमा सबैभन्दा श्रेष्ठ पर्व मानिन्छ ।

ब्राह्मणहरू यजमानका लागि कर्मकाण्ड यज्ञ, हवन आदि गर्नुको साटो यो दिन श्रावणी संस्कारका रूपमा लिँदै आफ्नै आत्मशुद्धिका लागि अभिषेक र हवन गर्छन् । ब्राह्मण संस्कार धेरैले छोड्दै गए आफूलाई आफैंले चिन्ने अनि पिता-पुर्खाको सम्मान गर्ने ब्राह्मणहरूले श्रावणी महत्व उजिल्याउँदै यसलाई चाडकै रूपमा मनाउन छाडेका छैनन् ।

सनातन धर्मअनुसार क्षत्रियहरूको प्रमुख पर्व दसैं मानिन्छ । दीपावली वैश्यहरूको र होली अन्य सबैको विशिष्ट पर्वका रूपमा मनाइन्छ । रक्षाबन्धन अर्थात् श्रावण शुक्लपूर्णिमामा मनाइने श्रावणीकर्म ब्राह्मण भनौं द्विजहरूको सर्वश्रेष्ठ पर्व हो ।

वैदिककालदेखि नै द्विज जाति पवित्र नदी वा तीर्थमा आत्मशुद्धिको यो उत्सव मनाउँदै आएका छन् । वर्तमान समयमा पनि सच्चा वैदिक ब्राह्मणहरूले वैदिक श्रावणी परम्परालाई निरन्तरता दिँदै छन् । श्रावणी कर्ममा आन्तरिक र बाह्य शुद्धि गोबर, माटो, भस्म, अपामार्ग, दुबो, कुश र मन्त्रको माध्यमबाट गरिन्छ ।

पञ्चगव्य महाऔषधि मानिन्छ । श्रावणीमा दूध, दही, घिउ, गोबर, गहुँतको मिश्रण पञ्चगव्य प्राशन गरेर शरीरलाई आन्तरिक रूपमा शुद्ध गरिन्छ ।

यस संस्कारले व्यक्तिको शरीर, मन र आत्मासँगै संस्कारमा पनि शुद्धता ल्याउने विश्वास गरिन्छ ।

श्रावणी संस्कार सम्पन्न भएपछि होमादि यज्ञ गरेर पवित्र नूतन यज्ञोपवित धारण गरेपछि रक्षाबन्धन गरिन्छ । रक्षाबन्धन सबै जातिमा गरिन्छ । दूरदराजमा रक्षाबन्धन गरिदिने पुरोहितको प्रतीक्षा दिनभरि नै गरेर भए पनि पवित्र सूत्र धारण नगरी भोजनादि नगर्ने प्रचलन जीवन्त छ । तराई समुदायमा दिदी बहिनीले दाजुभाइलाई राखि बाँधिदिने परम्परा छ ।

नेपालमा जनैपूर्णिमाका दिन तीर्थाटन जाने प्रचलन पनि छ । गोसाइँ कुण्ड, रारा, शे-फोक्सुन्डो, दामोदरकुण्ड जस्ता स्थानमा गई रक्षाबन्धन गर्ने प्रचलन छ । अन्य धर्मावलबम्बीका चाडमा छुट्टी दिने नेपाल सरकारले भने श्रावणीको छुट्टी कटौती गरेर तागाधारी समुदायको मानमर्दन गरेको छ । सरकारले छुट्टी नदिए पनि सच्चा ब्राह्मणले छुट्टी लिएर पनि परम्परालाई आत्मसात् गरेको पाइन्छ ।

प्रकाशित समय ०७:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु