गृहपृष्ठ धार्मिक र ऐतिहासिक त्रिवेणीधाम सबैको रोजाइमा

धार्मिक र ऐतिहासिक त्रिवेणीधाम सबैको रोजाइमा

धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण स्थल मानिने पूर्वी नवलपरासीको त्रिवेणीधाम हिजोआज सबैको रोजाइ बन्दै गएको छ । उक्त धामलाई गजेन्द्र मोक्ष धाम पनि भन्ने गरिन्छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट बजारबाट २५ किलोमिटर पूर्वदक्षिण तथा पूर्वी नवलपरासीको दुम्किवासबाट करिब १५ किलोमिटर दक्षिणतर्फ अवस्थित यस धाम पछिल्लोपटक आन्तरिक र बाह्य पर्यटकको रोजाइ बन्न थालेको हो । उत्तरबाट बगेर आएको नारायणी र पूर्वतर्फबाट आएको पञ्चा तथा तमसा (शोणभद्रा) नदीको संगमस्थल त्रिवेणीधाम प्राकृतिक रुपमा मनोरम देखिन्छ ।

भारतीय सीमासँग जोडिएको यो धामको उत्तर, पूर्व र दक्षिणतर्फ हरियाली पहाड छ । दुई ठूला पहाडको बीचमा उत्तरबाट बगेर आएको नारायणी नदीको पानीले सबैको मन लोभ्याउँछ ।  सुन्दर बगैँचा, घना जंगल, बगेको नारायणी नदी र नदी पारि रहेको चितवन राष्ट्रिय निकुञ्जको मनोरम दृश्यले यहाँ आउने हरेक पर्यटक लोभिन्छन् । दरौंदी, मादी, मर्स्याङदी, सेती, काली, त्रिशूली र बुढीगण्डकीसमेत सातवटा नदी मिलेर बनेको नारायणी नदीमा पञ्चा र तमसा नामका दुई साना नदी मिलेकाले त्रिवेणी बनेको हो ।

धार्मिक दृष्टिकोणले भारतको प्रयाग र नेपालको त्रिवेणी धाम श्रद्धा र आस्थाको केन्द्र मानिन्छ । तीन नदीको संगम त्रिवेणीमा स्नान गर्नाले पुण्य मिल्छ र मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ । धार्मिक र ऐतिहासिक महत्वको यस क्षेत्रमा आवश्यकताअनुसार पूर्वाधार निर्माण भए एक महत्वपूर्ण पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिने स्थानीयवासी बद्री निगम बताउँछन् ।

त्रिवेणी धाममा गजेन्द्र मोक्ष दिव्य धाम, ऐतिहासिक मठमन्दिर छन् । किंवदन्तीअनुसार गजेन्द्र मोक्ष दिव्य धाम रहेको नारायणी नदीमा प्राचीनकालमा हात्तीका राजा गजेन्द्र र गोहीबीच युद्ध हुँदा गजेन्द्रले विष्णु भगवानलाई पुकार गरेकाले  भगवान् प्रकट भई चक्र प्रहार गरेर गोहीको घाँटी छेदन गरेका थिए । उक्त घटनामा हात्तीले मोक्ष प्राप्त गरेकाले यस क्षेत्र गजेन्द्र मोक्ष दिव्यधामका नामले प्रसिद्ध भएको हो । उक्त धामको धार्मिक एवं ऐतिहासिक महत्वबारे अवलोकन तथा पूजापाठका लागि भारतका विभिन्न स्थानबाट ७० प्रतिशतभन्दा बढी धार्मिक पर्यटकको आवागमन हुने गरेको गजेन्द्र मोक्ष दिव्यधामका स्वामी कृष्ण प्रपन्नाचार्य बताउँछन् ।

करिब १३ बिघा क्षेत्रफलमा फैलिएको यस धाममा अहिले अनेक आधुनिक संरचना बन्नाका साथै अर्को सिसामहलले पनि पर्यटकलाई लोभ्याउने  गरेको छ । उक्त धाममा भारतका विभिन्न तीर्थस्थलबाट ल्याइएका शान्ति सर्वसिद्धि कलशको जल पनि आर्कषणका रूपमा रहेको छ । यस कलशलाई १०८ पटक परिक्रमा गरेको मनोकामना पूरा हुने धार्मिक विश्वास छ । त्रिवेणी धामलाई मुलुकै राम्रो पर्यटकीयस्थलका रुपमा विकास गर्न निजी क्षेत्र तयार रहेकाले सरकारले पनि सहयोगका हात फैलाउनुपर्ने उद्योग वाणिज्य महासंघ प्रदेश नं ५ का अध्यक्ष गुणनिधि तिवारी बताउँछन् ।

यस क्षेत्रको विकास निर्माणको लागि मुक्तिनाथ बाबा स्वामी कमलनयनाचार्यको पहलमा विभिन्न व्यक्ति र संघसंस्थाले सहयोग जुटाएर संरक्षण र प्रवर्द्धन गर्दै आए पनि विकासले पूर्ण रूप लिन नसकेकाले राज्यले पनि सहयोग बढाउनुपर्ने  स्वामी कमलनयनाचार्य बताउँछन् । (रासस)

प्रकाशित समय १४:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु