fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदेश २ मा ६ हजार आपराधिक घटना

प्रदेश २ मा ६ हजार आपराधिक घटना

jilla prahari dhanusha-newskarobar

प्रदेश २ मा आपराधिक क्रियाकलाप बढेका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार एक वर्षमा प्रदेश २ मा ६ हजारभन्दा बढी आपराधिक घटना घटेका छन् । आर्थिक वर्ष २०७५/७६ मा ६ हजार २१५ वटा आपराधिक घटना भएका हुन् । यो संख्या अघिल्लो वर्षको तुलनामा करिब दोब्बर हो । आर्थिक वर्ष २०७४/७५ मा ३ हजार ५०९ वटा घटना भएका थिए ।

प्रदेश प्रहरी कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०७५/७६ मा प्रदेश २ का आठ जिल्लामा ११७ जनाको हत्या भएको छ भने २२० जनामाथि हत्या प्रयास भएको छ । ९९४ जनाविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता भएको छ ।

प्रदेश प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोका अनुसार प्रदेश २ मा सबैभन्दा बढी ५२७ वटा मुद्दा भवितव्यसम्बन्धी दर्ता भएका छन् । यस्तै ११७ कर्तव्य ज्यान मुद्दा दर्ता भएका छन् । यस्तै ९ वटा गर्भपतन र १२१ वटा फुटकर ज्यानसम्बन्धी मुद्दा दर्ता भएका छन् ।

आव २०७५/७६ मा सिरहामा सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दा परेका छन् । सिरहामा १७३ वटा ज्यानसम्बन्धी मुद्दा परेको हो । धनुषामा १६० मुद्दा दर्ता भएका छ भने बारामा १५७, सप्तरीमा १३३, रौतहटमा १२१, पर्सामा ११०, सर्लाहीमा ९३ र महोत्तरीमा ४७ ज्यानसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

आत्महत्याको घटनामा समेत वृद्धि
प्रदेश २ मा आत्महत्याका घटनामा समेत वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/७६ मा ७१७ जनाले आत्महत्या गरेका छन् । झुन्डिएर ५१५, विष खाएर १८७, आगो लगाएर १० जना, डुबेर दुई जना र हाम फालेर ३ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ । आर्थिक वर्ष २०७४/७५ मा ६३६ जनाले आत्महत्या गरेका थिए ।

आर्थिक अपराध पनि धेरै
प्रहरीका अनुसार प्रदेशमा संगठित तथा आर्थिक अपराध पनि विगतको भन्दा हवात्तै बढेको छ । आर्थिक वर्ष २०७५/७६ मा प्रदशको आठै जिल्लामा १३ सय सांगठनिक तथा आर्थिक अपराधका घटना भएका छन् । जसमध्ये सबैभन्दा बढी लागुऔषध ओसारपोसारका छन् । प्रदेशमा ६७८ लागुऔषध ओसारपसारका घटना भएका छन् । पर्साबाट सबैभन्दा बढी १९० र बारामा सबैभन्दा कम ३७ लागुऔषध ओसारपसारका घटना भएका छन् ।

तथ्यांकअनुसार प्रदेशभरमा ४१९ वटा चोरीका घटना भएका छन् । धनुषामा सबैभन्दा बढी ११४ र बारामा सबैभन्दा कम १२ चोरीका घटना सार्वजनिक भएका छन् । प्रदेशभरमा ७६ वटा ठगीसम्बन्धी अपराध भएकोमा सबैभन्दा बढी धनुषामा १९ र सबैभन्दा कम सिरहा, सर्लाही र रौतहटमा ४/४ वटा चोरीका घटना भएका छन् । प्रदेश प्रहरी कार्यालयका अनुसार रौतहटमा १६ र बारामा २४ गरी प्रदेशमा ४० चोरीका घटना भएका छन् ।

यस्तै सार्वजनिक छाप दस्तखत किर्तेसम्बन्धी ३२ वटा आपराधिक घटना भएका छन् । सबैभन्दा बढी बारामा १० र रौतहटमा शून्य घटना भएको छ । प्रदेशमा २६ वटा डाँका अपराध भएकोमा सबैभन्दा बढी धनुषामा ७ र सबैभन्दा कम सप्तरीमा एउटा घटना घटेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १३:४० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु