गृहपृष्ठ  दुई दिनमा एकै गोठका आठ पशु चौपाया मरे

 दुई दिनमा एकै गोठका आठ पशु चौपाया मरे

सांकेतिक तस्बिर

अज्ञात रोगका कारण एकै गोठका आठ पशु चौपाया मरेका छन् । आइतबार र सोमबार गरी दुई दिनको अवधिमा परशुराम नगरपालिका–७ घुम्टेगडामा एक कृषकका गोठका सबै पशुचौपाया मरेका हुन् ।

दुई दिनयता देखिएको अज्ञात रोगका कारण स्थानीयवासी डम्बर साउदका दुई भैँसी, दुई गोरु, एक गाई र तीनवटा बाख्रा मरेका हुन् । केही दिनअघि बिरामी भएका पशु चौपायाहरुको गोबर परशुराम नगरपालिका पशु सेवा शाखाको ल्याबमा जाँच गराइएको र जुकाका साथै छालासम्बन्धी समस्या देखिएको स्थानीयवासी हरेन्द्र साउदले बताए । गत वर्ष  जिल्लाका अन्य भेगमा पनि पशुहरुमा अज्ञात रोगको संक्रमण देखापरेको थियो ।

मरेका पशु चौपाया यही रोगका कारण मरेका हुन् या अन्य कारणले भन्नेबारे अहिलै थाहा भई नसकेको परशुराम नगरपालिका पशु सेवा शाखाले जनाएको छ । केही दिन अगाडि पशु चौपाया बिरामी भएको भन्ने खबर आएलगत्तै पशु चौपायालाई छालासम्बन्धी रोगविरुद्धको आवश्यक खोप दिइएको शाखा प्रमुख पशु अधिकृत रतन भण्डारीले बताए ।

साउनदेखि असोजसम्म देखापर्ने छालासम्बन्धी रोग (ड्रमाटाइटिस) बाट संक्रमित भएका जनावरलाई खोप दिने गरिन्छ । यो रोग लागेपछि पशु चौपायाले खाना नखाने, ज्वरो आउने, तुहिने, छाला चिलाउने, दूध सुक्ने र बिनालक्षण पनि मर्न सक्ने पशु अधिकृत भण्डारीको भनाइ छ । (रासस)

प्रकाशित समय १४:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु