fbpx
Nepal Mediciti

गृहपृष्ठ द्वन्द्वपीडित महिला भन्छन्- अधिकारबाट वञ्चित भयौँ

द्वन्द्वपीडित महिला भन्छन्- अधिकारबाट वञ्चित भयौँ

कर्णालीका द्वन्द्वपीडितहरुले आफ्नो बलिदानीले देशमा संघीयतासहित ठूलो परिवर्ततन आए पनि अधिकारबाट वञ्चित भएको गुनासो गरेका छन् ।

मानव अधिकारका लागि एकल महिला समूहले वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको द्वन्द्व प्रभावित महिलाका लागि प्रदेशस्तरीय छलफल कार्यक्रममा सहभागी द्वन्द्वपीडित महिलाले उक्त गुनासो गरेका हुन् । द्वन्द्वको बेलामा रुकुमको खारामा भएको भिडन्तमा परी घाइते भएकी वसन्ता विष्टले राज्यले आफ्ना पीडाहरु नसुनेको बताइन् । ‘आफ्नो ज्यान धरापमा पारेर संघीयता ल्याउने हामी तर त्यसको सुविधा अरूले नै भोगिरहेका छन्,’ उनले भनिन्, ‘अहिले हाम्रा कुराहरु मन्त्रीहरुले नै सुन्नुहुँदैन ।’

भिडन्तमा परी घाइते भएकी जियसरा शाहीले पनि द्वन्द्वपीडित महिला हकअधिकारबाट वञ्चित रहेको गुनासो गरिन् । द्वन्द्वपीडितको वर्गीकरण र परिचयपत्र वितरणमा समस्या भएको उनले बताइन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले द्वन्द्वपीडितहरुको पहिचान नखुल्दा समस्या भएको बताए ।

त्यसैगरी परिचयपत्र वितरणमा पनि समान ढंगले काम गर्न नसकेको पीडितहरुबाट गुनासो आउने गरेको बताए । इन्सेकको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ३ हजार २ सय द्वन्द्वपीडित रहेका छन् । प्रदेशमा रहेका ९९ जनाको अझै पनि पहिचान खुल्न नसकेको सुवेदीले बताए ।

समस्या समाधान गर्न चुनौती : मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले द्वन्द्वपीडितका समस्या समाधान गर्न नसकिएको बताए । समस्या आफूहरुलाई थाह भए पनि विविध कारणले गर्दा समाधान गर्न चुनौती रहेको औंल्याए । “विगतको दिनहरु बितिहाले अब आउने दिनमा कसरी अगाडि बढ्ने त्यो सोच्नुपर्छ,’ द्वन्द्वपीडितलाई सान्त्वना दिँदै शाहीले भने, ‘राज्यलाई बचाउने मान्छेलाई हामी सम्मान गर्दछौँ ।’ पीडितका समस्या समाधान गर्न कर्णाली सरकार तयार रहेको उनको भनाइ थियो ।

कार्यक्रममा भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीले द्वन्द्वपीडितमध्ये पनि महिलालाई समस्या रहेको बताइन् । द्वन्द्वपीडितलाई आयआर्जन तथा व्यवसायमा लगाउने सरकारको योजना रहेको उनले बताइन् । यसका लागि कर्णाली सरकारले ९ करोड रूपैयाँ बजेट छुट्याएको जानकारी दिइन् ।

द्वन्द्वपीडितसँग छलफल गरेर उक्त बजेटबाट कार्यक्रमको योजना बनाउने उनको भनाइ थियो । ‘सरकार बुबाआमा जस्तै हो, त्यसैले आफ्ना अधिकारका लागि माग्नु पनि पर्छ,’ केसीले भनिन्, ‘हामी पनि तपाईंहरुलाई सहयोग गर्न तयार छौं ।’ कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समूहका नन्दा श्रेष्ठ, शीतलसिंह राठौरलगायतले द्वन्द्वपीडितले भोग्नुपरेका समस्या राखेका थिए । (रासस)

प्रकाशित समय १३:०० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु