fbpx
Nepal Mediciti

गृहपृष्ठ निगालो संरक्षण नहुँदा रेडपान्डा लोप हुँदै

निगालो संरक्षण नहुँदा रेडपान्डा लोप हुँदै

जथाभावी वन फँडानी र आगो लगाउँदा निगालो मासिएको छ । केही वर्षअघि जाजरकोटका अधिकांश उच्च पहाडी क्षेत्रमा जताततै पाइने निगालो अहिले पाउन मुस्किल भएपछि यसमा आश्रित समुदायको जीविकोपार्जनमा समस्या हुनुको साथै दुर्लभ रेडपान्डासमेत बासस्थानको अभावमा लोप हुँदै गएको छ ।

बढ्दो वन विनाश र डढेलो लगाउँदा निगालो मासिएको स्थानीयवासी बताउँछन् । निगालो मासिएसँगै निगालोको चोयाबाट निर्माण हुने डोको, डालो, भकारीलगायत अन्य सामग्री निर्माण गर्न कठिनाइ भएको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताए ।

निम्न वर्गका स्थानीयवासीले निगालोको चोयाबाट डोको, नाङ्लोलगायत वस्तु निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका थिए । अहिले निगालो लोप भएसँगै पेसा पनि धरापमा परेको उनीहरुको भनाइ छ ।

जिल्लाका बारेकोट, नलगाड, कुशे र जुनिचाँदे गाउँपालिकामा बढी निगालोको प्रयोग हुँदै आएको छ । निगालोको तामा (टुसा) जथाभावी तरकारी खाने र वर्षायाममा माथिल्लो क्षेत्रमा पशुचौपाया लिएर जाँदा निगालोलाई घाँसको रुपमा बढी प्रयोग गर्दा पनि निगालो मासिएको डिभिजन वन कार्यालयले जनाएको छ । संरक्षणतर्फ कसैले ध्यान नदिने तर सधैँ प्रयोग मात्र गर्दा निगालो लोप भएको हो ।

निगालोकै जंगलमा रेडपान्डालगायत जनावार बस्ने भए पनि निगालो मासिँदा यी जनावरसमेत सुरक्षित बासस्थानको अभावमा लोप हुँदै गएका छन् । नलगाड नगरपालिका तथा बारेकोट र कुशे गाउँपालिका विश्वमै लोपोन्मुख रेडपान्डाको बासस्थान मानिन्थ्यो ।

अहिले यी क्षेत्रमा निगालोको विनाश हुँदा जाँदा सुरक्षित बसस्थानको अभावमा रेडपान्डा हराएको हुन सक्ने डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाईले बताए । उनले भने, ‘रेडपान्डा संरक्षण क्षेत्रमा छिट्टै संरक्षित क्षेत्र घोषणा कार्यक्रम सरु हुन लागेकाले सामुदायिक वनको विधान परिमार्जन गरी निगालो संरक्षणको अभियान सुरु हुन लागेको छ ।’

गत वर्ष आएको विज्ञहरुको टोलीले गरेको अध्ययनमा यस क्षेत्रमा २० देखि २२ वटासम्म रेडपान्डा रहेको अनुमान गरिएको छ । यी तीनैवटा पालिकाले रेडपान्डा संरक्षणका लागि बजेटको समेत व्यवस्था विशेष कार्यक्रम बनाएर वन उपभोक्ता समूहका सदस्य र स्थानीयवासीले तालिम लिएका छन् । दुई-तीन वर्षको अवधिमा सिकारीको पासोमा परी बारेकोटमा तीनवटा र कुशे गाउँपालिकामा एउटा रेडपान्डा मारिएको थियो । लोपोन्मुख यो जनावर मारेको अभियोगमा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरी मुद्दासमेत चलाइएको बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

वन तथा वातावरण मन्त्रालयले जाजरकोटका तीनवटा स्थानीय तहका सामुदायिक वनलाई संरक्षित क्षेत्र घोषणा गरेर यहाँको जल, जमिन, जंगल, जडीबुटी र वन्यजन्तु संरक्षणका लागि अभियानमा लागेको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । यहाँका तीन स्थानीय तहलगायत डोल्पाको मुड्केचुला र जुम्लाको स्थानीय तहका केही ठाउँमा संरक्षित क्षेत्र घोषणा गर्नका लागि पहिलो चरणको विज्ञसहितको टोलीले अध्ययन गरिसकेको मन्त्री बस्नेतले बताए । रेडपान्डा, कालिजलगायतका संरक्षित वन्यजन्तु संरक्षणका लागि निगालो जोगाउनु पहिलो दायित्व भएको उनको भनाइ छ ।

निगालो जोगाउनका लागि हिमाली क्षेत्रमा जथाभावी रुपमा पशु चौपायालाई लिएर गोठाला जाने कार्यलाई व्यवस्थित गरिने संरक्षित क्षेत्रको कार्ययोजनामा रहेको छ । निगालोको लागि जाजरकोट सबैभन्दा उत्कृष्ट क्षेत्र भए पनि अहिले कमजोर हुँदै गएको छ । (हेमन्त केसी/रासस)

प्रकाशित समय १४:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु