गृहपृष्ठ विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

संविधानसभाका पूर्वसभासद् चक्रबहादुर ठकुरीको स्मृतिमा खुलेको चक्र स्मृति पाठशालामा अध्ययनरत १ सयजना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

विपन्न वर्गका विद्यार्थीलाई सहयोग गर्न दाताले दिएको सहयोग नेपाल विद्यार्थी संघ काठमाडौँ क्षेत्र नं ३ ले विद्यार्थीलाई हस्तान्तरण गरेको हो । शैक्षिक सामग्री हस्तान्तरण गर्दै पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेतले न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले अभियानकै रुपमा यस्ता कार्यक्रम जारी राखिनुपर्ने बताइन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य छिरिङदोर्जे लामा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे, स्वर्गीय ठकुरीका पुत्र कांग्रस महासमिति सदस्य विमल ठकुरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमारराज सुवेदी, संघका ३ नं क्षेत्रीय सभापति राजेश अधिकारी लगायतले विपन्न वर्गका विद्यार्थीलाई सहयोग गर्न सबैको ध्यान जानुपर्नेमा जोड दिएका थिए ।

उक्त अवसरमा कापी, कलम, पेन्सिल, कटर, इरेजरलगायत शैक्षिक सामग्री विद्यार्थीलाई वितरण गरिएको थियो । राजनीतिका साथै सामाजिक काममा सक्रिय ठकुरीको विसं २०७२ वैशाख १२ गतेको भूकम्पका क्रममा रसुवाबाट काठमाडौँ फर्कने क्रममा पहिरामा परी निधन भएको थियो । ठकुरीको निधनपछि उनको सम्झनामा विपन्न वर्गका विद्यार्थीलाई सहुलियत रूपमा शिक्षा दिने उद्देश्यले पाठशाला स्थापना भएको हो । (रासस)

प्रकाशित समय १३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु