fbpx
Nepal Mediciti

गृहपृष्ठ बोनम्यारो क्यान्सर पीडितलाई डेनमार्कमा कार्यरतहरूको सहयोग

बोनम्यारो क्यान्सर पीडितलाई डेनमार्कमा कार्यरतहरूको सहयोग

बेँसीसहर नगरपालिका–९ स्थायी ठेगाना र हाल चण्डीडाँडा–७ की बोनम्यारो क्यान्सर पीडित १९ वर्षीया सुष्मा दीक्षितलाई आर्थिक सहयोग गरिएको छ । ‘सुष्मा दीक्षित बचाऊ’ अभियानका लागि  डेनमार्कमा रहेका ४५ नेपालीबाट संकलन भएको १ लाख २७ हजार ५ सय ९७ रूपैयाँ बुधबार सुष्माकै घर पुगेर सुरेश घिमिरेका पिता खिमबहादुर घिमिरे एवं आमा विष्णुमाया घिमिरेले सुष्माकी आमा शान्ति दीक्षितलाई हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा रोट्रयाक क्लब अफ लमजुङका पूर्वअध्यक्ष रेशम घिमिरे, छिमेकीलगायतको सहभागिता थियो । उक्त स्थानमा घर भई हाल डेनमार्कमा कार्यरत सुरेश घिमिरे र उनकी श्रीमती सरिता खड्काको पहलबाट डेनमार्कमा बस्ने नेपालीसँग सहयोग संकलन गरी पीडितलाई रकम पठाइएको हो । काठमाडौँस्थित त्रिभुवन शिक्षण अस्पतालमा उनी करिब सात महिनादेखि उपचार गरिरहेको पीडितकी आमा दीक्षितले बताइन् ।

छोरीको उपचारका क्रममा यसअघि दुबई, अमेरिका, कतार, साउदीलगायतका अन्य देशमा रोजगारीका सिलसिलामा गएका नेपालीबाट ६ लाख रूपैयाँ सहयोग प्राप्त भएको उनले बताइन् । हालसम्म नेपाल सरकारबाट १ लाख रूपैयाँ बराबरको औषधि निःशुल्क र बेँसीसहर नगरपालिकाबाट २० हजार रूपैयाँ प्राप्त गरेको दीक्षित परिवारले जनाएको छ । परिवारका अनुसार सहयोग प्राप्त रकम, जग्गा बेचेर, ऋण खोजेर र घरजग्गा बैंकमा धितो राखेर आएको रकम ३० लाख रूपैयाँ हालसम्म खर्च भइसकेको छ । पीडितकी आमा दीक्षितले भनिन्, ‘छोरीलाई भारतमा लगी थप उपचार गर्नका लागि ६० लाख रूपैयाँभन्दा बढी लाग्ने अस्पतालले बताएको छ ।’

यतिका रकम हामीसँग छैन, परिवारको आर्थिक अवस्था कमजोर रहेको भन्दै उनले सहयोगी मन भएका सबैले सहयोग गरी छोरीलाई बचाउन आग्रह गरिन् । अस्पतालले केही महिनाअघि नै उपचारका लागि भारत लैजान सुझाव दिए पनि आर्थिक अवस्थाकै कारण रोकिएर बसिरहेको उनले बताइन् । दैनिक आठ पिन्ट सेतो र रातो गरी रगत दिइरहनुपर्छ, ज्वरो त्यस्तै आउँछ, दैनिक हजारौँ रकम खर्च हुने गरेको परिवारको भनाइ छ ।

बोनम्यारो क्यान्सरपीडित दीक्षितका बुबा विष्णु दीक्षित, आमा शान्ति, एक भाइ सुजल र बहिनी रेश्मा छन् । पीडितकी बुबा भने कामको सिलसिलामा  साउदीमा हुनुहुन्छ । (रासस)

प्रकाशित समय ११:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु