fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ लक्ष्मी परियार नेपालीको हत्यामा ‘उनकै श्रीमान मुख्य योजनाकार’

लक्ष्मी परियार नेपालीको हत्यामा ‘उनकै श्रीमान मुख्य योजनाकार’

मार्नुअघि जीवन बिमा

laxmi-killer-newskarobar

पोखराकी लक्ष्मी परियार नेपालीको हत्यामा संलग्न उनकै श्रीमानसहित ४ जनालाई कास्की प्रहरीले सार्वजनिक गरेको छ । आफ्नै श्रीमतीको हत्याका मुख्य योजनाकार पोखरा १५ कान्तिपुर चोक निवासी रमेश परियारसहित उक्त घटनामा संलग्न ४ जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको हो ।

एक वर्षदेखि साली अनु परियारसँग सम्बन्ध बढ्दै गएपछि सालीले नै ‘दिदीलाई साइड लगाउनु’ भनेका आधारमा रमेशले साथीभाइसहित भारतीय नागरिकसमेत प्रयोग गरी श्रीमतीको हत्या गराएको कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले बताए । उक्त घटनामा संलग्न ३ भारतीय नागरिक अझै फरार भएको प्रहरीले जनाएको छ ।

भोजपुरको भोजपुर नगरपालिका–५, बैंकरोड घर भई हाल पोखरा–९, महेन्द्रपुल बस्ने ३२ वर्षका सञ्जय शर्मा, सर्लाही ईश्वरपुर–३, तिनघरिया घर भई हाल पोखरा–८, पृथ्वीचोक बस्ने २६ वर्षीय चितरञ्जनकुमार साह र रमेशकी साली गोरखा गण्डकी गाउँपालिका–७, घ्यालचोककी १९ वर्षीया अनु परियारलाई कास्की प्रहरीले उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ गरी सार्वजनिक गरेको हो ।

असार १ गते देखि हराइरहेकी लक्ष्मीको खोजतलासका क्रममा २५औंं दिनमा पोखरा महानगरपालिका–२२, कर्कलको जंगलमा कंकालमात्र भेटिएको थियो । रमेशले श्रीमतीलाई खुट्टाको एलर्जीको उपचार गर्न भनी जंगलमा जडिबुटी खोज्न भन्दै लगेको, आफू पिसाब फेर्ने बहानामा भागेको र अन्य साथीले लक्ष्मीलाई आँखा र मुखमा पर्टी बाँधेर धारिलो हतियारले रेटेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

हत्याको पूर्वतयारी गरी पटक–पटक मोबाइल पसल सञ्चालक आफ्ना साथीसँगको राय सल्लाहअनुसार रमेशले एउटा कार र स्कुटर भाडामा लिएर गएको प्रहरीले जनाएको छ । श्रीमान–श्रीमती भाडाको स्कुटरमा कर्कलेको जंगल गएका थिए । असार २ गते नै श्रीमती हराएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीमा खोजी कार्यका लागि निवेदन दिएका रमेशले विभिन्न सञ्चारमाध्यममा समेत पुगेर श्रीमती हराएको विषयमा सूचना दिँदै हिँडेका थिए ।

सालीले दिदीलाई साइड लाउन दबाब दिएपछि रमेशले एक जना महिलाको हत्या गर्नुपर्ने र त्यसबापत राम्रो रकम आउने कुरा मोबाइल पसल गर्दै आएका सञ्जय शर्मालाई सुनाए । त्यसपछि शर्माले पृथ्वीचोकमा मोबाइल पसल सञ्चालन गरी बस्ने चितरञ्जन साहमार्फत १० लाखमा भारतबाट मान्छे झिकाउने सल्लाह दिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

जेठ ३० गते नै तीनजना भारतीय नागरिक पोखराको पृथ्वीचोकमा रहेको कोशी होटलमा बसेका थिए । होटलवालाले उनीहरुको रजिस्ट्रेसन इन्ट्री नगरेको तर होटलमा बस्ने व्यवस्था सञ्जय शर्मा र चितरञ्जन शाहले मिलाएको बुझिएको छ । लक्ष्मीको हत्या गराउन भनी रमेशले जेठ ३१ गते एक लाख अग्रिम दिएको, ५ लाख हत्या गरेसँगै दिएको र बाँकी ४ लाख दिन बाँकी रहेको जनाइएको छ । रमेशसहितको टोलीले हत्या गर्ने स्थानसमेत एक दिनअघि चयन गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पोखरा–२२ स्थित कर्कले जंगलमा रमेश, सञ्जय, चितरञ्जन र तीनजना भारतीय गएर योजना बनाएका थिए । असार १ गते बिहान रमेशले सञ्जय शर्माको पसलमा आई ग. ११ प ८००३ नम्बरको स्कुटर भाडामा लिए । नयाँबजारमा ग. १ च २३६३ नम्बरको कार भाडामा लिई सञ्जय गाडी चलाएर कोशी होटलमा गए र तीनजना भारतीय र चितरञ्जनलाई लिएर कर्कले जंगलतर्फ गएको घटनामा उल्लेख छ । सोही दिन हत्या गर्ने व्यक्ति भारत गएको बयान रमेशले प्रहरीलाई दिएका छन् ।

मार्नुअघि जीवन बिमा
रमेशले श्रीमती लक्ष्मीको करिब ४ महिनाअघि एक करोड मूल्यबराबरको जीवन बिमा युनियन लाइफ इन्स्योरेन्समा गराएको प्रहरीले जनाएको छ । साली र मोटो रकम पाउने आशाले रमेशले श्रीमतीलाई हत्या गर्ने योजना एक वर्षदेखि बनाएको एसपी कार्कीले बताए । कुनै पनि व्यक्तिले नियतवश बिमा गराएर बिमाको दाबी रकम भुक्तानी लिन सक्दैन, कसैले गलत गरेको ठहर भए भुक्तानी गरेको रकमसमेत जफत हुन्छ ।

प्रकाशित समय १८:०६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु