fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदूषित पानीले झाडावान्ताका बिरामी बढे

प्रदूषित पानीले झाडावान्ताका बिरामी बढे

सांकेतिक तस्बिर

वर्षात् सुरु भएसँगै दूषित पानीका कारण रोग देखा पर्न थालेको छ । यहाँको सरकारी अस्पताल भरतपुरमा दैनिक झाडावान्ताका बिरामी आउन थालेका छन् । निजी अस्पतालमा पनि यस्ता बिरामीको संख्या बढ्न थालेको छ ।

भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. महेन्द्र अग्रहरीका अनुसार एक सातायता दैनिक सात-आठ झाडावान्ताका बिरामी आउन थालेका छन् । प्रदूषित पानीसँगै भारतबाट आयातित आँपका कारण रोग देखापरेको डा. अग्रहरीले जानकारी दिए । यस्ता बिरामी युवा अवस्थाका छन् । निजी अस्पतालमा पनि झाडावान्ताका बिरामी आउन थालेका छन् ।

दूषित पानीका कारण झाडावान्ता हुने, पेट दुख्ने, ज्वरो आउने, दिसामा रगत देखिने गर्छ । झाडावान्ताका कारण शरीरमा पानीको मात्रा कम भएपछि मिर्गौलामा समेत असर पर्ने उनले बताए । झाडावान्ताले शरीरमा हुने पौष्टिक तत्व र पानीको मात्रा घट्न गई मिर्गौलामा असर पर्छ भने रक्तचाप कम हुने गर्छ ।

संक्रमित पानीमा टाइफाइडको कीटाणु पनि हुने हुनाले त्यस्तो पानीले टाइफाइडको ज्वरो आउने अग्रहरी बताउँछन् । यस्तो ज्वरो आउँदा टाउको दुख्ने गर्छ । अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार बहिरंग सेवामा आएका बिरामीमध्ये १५ प्रतिशत मौसम परिवर्तनसँगै हुने रोगका बिरामी छन् । जसमध्ये सबैभन्दा बढी झाडावान्ताका रहेको उनको भनाइ छ । बाहिरको पानी प्रदूषित हुन सक्ने भएकाले उमालेर चिसो बनाएर पानी पिउन अधिकारीको सुझाव छ । नउमालेको फ्रिजमा राखेर चिसो बनाएको पानीमा कीटाणु रहने उनी बताउँछन् ।

तीस सेकेण्डसम्म साबुन रहने गरी हात धोएर खाना ओसारपसार गरेमा खानेकुराबाट सर्ने ३३ प्रतिशत रोग कमी हुने भन्दै अधिकारीले यो मौसममा विशेष सावधानी अपनाउनुपर्ने बताए । पानीकै कारण जिल्लामा समय–समयमा रोगको महामारी हुने गरेको छ ।

२४सै घण्टा खानेपानी उपलब्ध नहुने हुँदा पाइप खाली हुँदा ढल वा प्रदूषित पानी पस्न सक्ने सम्भावना रहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्रमुख ई. नारायणप्रसाद काफ्लेका अनुसार सर्वसाधारणकोमा पठाउने पानीमा क्लोरिन राखेर पठाउने गरिएको छ । स्रोतमा समस्या नभए पनि उपभोक्तासम्म पुग्दा पानी प्रदूषित नहोस् भन्न उच्च सावधानी अपनाइने गरेको उनले जानकारी दिए ।

दूषित पानी पिउन वा खाना बनाउन प्रयोग गरिएमा विभिन्न किसिमका ब्याक्टेरिया, प्रोटोजोवा, भाइरस तथा अन्य जीवाणुले मानव शरीरमा प्रवेश पाउँछन् र रोगहरू सार्छन् । पानीको स्रोतमा जाँच गर्दा ‘कोलिफर्म’ ब्याक्टेरिया भेटिएमा उक्त पानी पिउनका लागि तथा खाना बनाउन उचित नहुने चिकित्सक बताउँछन् । (रासस)

प्रकाशित समय ११:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु