fbpx
Rashifal Ad
Nepal Mediciti

गृहपृष्ठ बादी समुदायलाई व्यावसायिक तालिम

बादी समुदायलाई व्यावसायिक तालिम

माछा मारेर दैनिक गुजारा चलाउँदै आएका बादी समुदायलाई नलगाड नगरपालिकाले पेसा परिवर्तन गरी आत्मनिर्भर बन्न योजना ल्याएको छ ।

दल्लीस्थित नलगाड नदीको किनारमा अस्थायी टहरा निर्माण गरी माछा मार्दै दैनिक घरव्यवहार चलाउँदै आएका बादी समुदाय अब उद्यमशील भएर आत्मनिर्भर बन्नतर्फ स्थानीय सरकारले सहयोग गरेको नगरप्रमुख टेकबहादुर रावलले बताए । एक महिनाको लामो होजियारी तालिम लिएर यहाँका बादी समुदाय अहिले माछा मार्ने पेसा छोड्दै ऊनी कपडा निर्माण, झोला निर्माण गरी आत्मनिर्भरतातर्फ उन्मुख भएको उनले बताए ।

सधैँ बिहानदेखि बेलुकासम्म माछा मार्ने (पासा, जाल) सामग्री बुन्दै आएका यहाँका महिला अहिले सियो, धागो र मेसिन हातमा लिएर काममा व्यस्त हुने गरेका छन् । अब हामी सीप सिकेर आफैँ आत्मनिर्भर बन्नुपर्छ, सधैँ अर्काको भरमा पर्नु हुँदैन भन्ने चेतनाको विकास भएको नलगाड नगरपालिका–७ की निर्मला बादीले बताइन् । उनले भनिन्, ‘नगरपालिका र घरेलु साना उद्योग विकास समितिले सहयोग गरेपछि हामी नयाँ सीप सिकेर उद्यमी बन्ने बाटोतिर गएका छौँ ।’

त्यस्तै अर्की लक्ष्मी बादी हिजोआज आमालाई साथमा लिएर दैनिक कपडा बुन्ने काममा लागेकी छन् । उनले पहिलो चरणमा निर्माण गरेका कपडा नगरपालिका र घरेलु उद्योग विकासका कर्मचारीलाई हस्तान्तरण गरेकी छन् । नगरपालिका र घरेलुले संयुक्त रूपमा सहयोग गरेपछि यहाँका १० घर बादी समुदायका महिलाले अहिले नयाँ व्यवसायको थालनी गरेको अर्की भूमिका बादीले बताइन् । ‘अर्को पेसा गर्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अभाव हुँदा दैनिक माछा मार्ने काम गरिरहेका थियौँ,’ उनले थपिन्, ‘त्यही माछा पनि वैशाख १ गतेदेखि नगरपालिकाले मार्न नदिएपछि हामी निरास भएको थियौँ, अब होजियारीको तालिम र सामान पाएका छौँ । अब ढुक्कसँग पेसा बदल्छौँ ।’

अहिले जलचर प्राणी नदीमा सकिएको भन्दै नलगाड नगरपालिकाले माछा मार्न प्रतिबन्ध लगाएको छ । माछा मार्ने काम ठप्प भएका बादी समुदायलाई खाद्यान्न दिएर दैनिक परिवार पाल्दै आएको नगरपालिकाले अहिले होजियारी तालिम दिएर पेसा बदल्नतर्फ प्रेरित गरेको बादी अगुवा तिले बादीले बताए । होजियारीसँगै नगरपालिकाले मादल र लोपोन्मुख बाजा निर्माण गर्न र त्यसका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाएको तिलेले बताए ।

आउँदो हरितालिका तीज र दसैंलाई लक्षित गरेर मादल र अन्य बाजा निर्माण गर्न नगरले सहयोग गर्ने सल्लाह पाएका बादी समुदाय अब व्यवसाय परिवर्तन गरी काममा लागेको बताउँछन् । (रासस)

प्रकाशित समय १०:५६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु