fbpx
Rashifal Ad

गृहपृष्ठ अस्ट्रिच अवलोकनले फस्टाउँदै घरवास

अस्ट्रिच अवलोकनले फस्टाउँदै घरवास

बैजनाथ गाउँपालिका–१ गाभरमा रहेको अस्ट्रिच फार्म अवलोकन गर्न दैनिकजसो आन्तरिक पर्यटक पुग्ने गर्छन् । अस्ट्रिच फार्म अवलोकन गर्न एक सय रूपैयाँको टिकट काट्नुपर्छ । टिकट काटेर फार्मभित्र पुगेपछि अस्ट्रिचसँग रमाउन पाइन्छ । यहाँ अस्ट्रिच फार्म सञ्चालनपछि पहिले सुनसान रहेको बस्तीमा अहिले चहलपहल सुरु भएको छ ।

गाउँमा अहिले दैनिक २० देखि २५ आन्तरिक पर्यटक आउँछन् । खप्तड उद्यम व्यापार केन्द्र (अस्ट्रिच फार्म) का व्यवस्थापक मनिराज जोशीका अनुसार फार्म हेर्न आउनेको घुइँचो लाग्न थालेपछि घरवास (होमस्टे) को व्यापारमा सुधार आएको छ । पाँच बिघा क्षेत्रफल २० वर्षका लागि भाडामा लिएर फार्म सञ्चालन गरिएको छ ।

अस्ट्रिच फार्ममा घुमेर निस्किने पर्यटकहरु खानपान र आरामका लागि बाँसले बेरेर निर्माण गरिएका होमस्टेमा पुग्छन् । मौलिक थारू परिकार खान्छन्, आराम गर्छन् । ‘नमुना थारू होमस्टेमा आउने पर्यटकले अस्ट्रिच अवलोकन र थारू परिकारको स्वाद पाइरहेका छन्,’ होमस्टे सञ्चालक बाबुराम चौधरीले भने ।

अस्ट्रिचको मासु खानेदेखि हेर्न र अध्ययन गर्न विद्यार्थी आउने गरेको जोशीले सुनाए । एउटा अस्ट्रिचबाट ८० देखि एक क्विन्टलसम्म मासु उत्पादन हुन्छ । प्रतिकिलो एक हजार रूपैयाँमा बिक्री गर्दै आएका उनले व्यापारमा कुनै घाटा नलागेको बताए ।

फार्ममा सुरुमा १५० अस्ट्रिच थिए । अहिले बिक्री भएर २० छन् । चाडपर्व र हिउँदका महिनामा पर्यटकको चाप बढी हुने गर्छ । यतिबेला आन्तरिक पर्यटककै भरमा फार्म र होमस्टे धानिएको जोशीले बताए । सुनसान ठाउँमा अस्ट्रिच पाल्न थालेपछि होमस्टेको सम्भावना देखेर चौधरीले पनि होमस्टे सञ्चालन गरेको बताए ।

होमस्टे सुरु गरेपछि चौधरी प्रारम्भमा हाँसोका पात्र बनेका थिए । व्यापार जम्दै गएपछि छिमेकी बुजौना थारू, बालकृष्ण थारू, बुजावन चौधरीले समेत होमस्टे सञ्चालन गरेका छन् । ‘अब मुक्त कमैयाको गाउँ चम्कियो,’ होमस्टे सञ्चालक चौधरीले भने, ‘चहलपहल र होमस्टेको रौनक बढेपछि नयाँ होमस्टे थपिँदै छन् ।’

मेघराज चौधरीले अलपत्र जमिनमा टावरसहितको आधुनिक होमस्टे निर्माण सुरु गरेका छन् । साथी गगन चौधरीको साझेदारीमा झन्डै ६० लाख रूपैया लगानी गरेको उनले बताए । ‘मान्छेको चहलपहल देखेको छु,’ उनले भने, ‘ठूलो चराले गर्दा होमस्टे फस्टाउन थालेका छन् ।’ बाँके निकुञ्ज नजिकै रहेका होमस्टेमा वन्यजन्तु अवलोकन गर्न पाइन्छ । (रासस)

प्रकाशित समय ११:५९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु