fbpx

गृहपृष्ठ अनाथ बालगृह ब्रह्मतोलालाई आर्थिक सहयोग

अनाथ बालगृह ब्रह्मतोलालाई आर्थिक सहयोग

bajura-newskarobar

जिल्लाको बुढीगंगा नगरपालिकाको ब्रह्मतोलामा सञ्चालित अनाथ बालगृहलाई विभिन्न निकायले आर्थिक सहयोग गरेका छन् । प्रवासमा बस्ने नेपालीदेखि शिक्षक तथा संघसंस्थाले आर्थिक सहयोग गरेका हुन् । अनाथ बालबालिकाको शिक्षा, स्वास्थ्य तथा बाँच्न पाउने अधिकारको सुरक्षाका लागि कन्सन बाजुराद्वारा सञ्चालित अनाथ बालगृहलाई सहयोग गरेको अध्यक्ष बहादुर थापाले बताए ।

अनाथका लागि निर्माण गरिएको बालगृहमै पुगेर सहयोगी दाताले आर्थिक सहयोग गरेका हुन् । सूचनाको हकका अभियन्ता शेरबहादुर सार्कीको पहलमा भारतको दिल्लीमा संकलित २६ हजार ६ सय सहयोग गरिएको छ भने दलित एकता समाज नेपाल–भारतमा आबद्ध नेपालीले सहयोगस्वरुप रकम पठाएका छन् । बालगृहभित्र अधिकांश दलित समुदायकै बालबालिका रहेको खबरपछि आफूहरुले सुरुवातस्वरुप सहयोग पठाएको र यसलाई निरन्तरता दिने एकता समाजले बताएको छ ।

एकता समाजले बुढीगंगा नगरपालिकास्तरीय परीक्षामा तृतीय स्थान ल्याउन सफल बालगृहमै बस्ने संगीता विकलाई व्यक्तिगत १० हजार रूपैयाँ सहयोग गरेको छ । यस्तै धुरालसैन माविमा कार्यरत शिक्षक अर्जुन थापाले पनि व्यक्तिगत २५ हजार रूयैयाँ सहयोग गरेका छन् ।

मद्यपान, धूमपान र मदिराजन्य पदार्थबाट टाढा रहने बचनबद्धतासहित त्यसमा हुने खर्च हुने रकम कटाएर अनाथ बालबालिकालाई सहयोग गरिएको शिक्षक थापाको भनाइ छ । बालगृहमै आएर शनिबार अध्यक्ष बहादुर थापालाई रकम बुझाएका थापाले अनाथलाई सहयोग गर्न पाउनु अवसर भएको बताए ।

त्यस्तै बुढीगंगा नगरपालिकास्तरीय दलित नेटवर्कले खाना तथा शैक्षिक सामग्री व्यवस्थापनका लागि भन्दै ४० हजार रूयैयाँ सहयोग गरेको छ । दलित नेटवर्कका महासचिव एवं बुढीगंगा नगर कार्यपालिका सदस्य गणेश सुनारले नगद ४० हजार रूयैयाँ अनाथ बालबालिकाकै लागि सहयोग गरेका छन् ।

कन्सन बाजुराको बालगृहमा हाल १३ अनाथ बालबालिका बस्दै आएका छन् । कान्छो अभियन्ता केपी खनालको पहलमा निर्माण गरिएको बालगृहको निर्माण खर्च अझै तिर्न बाँकी छ । कुल लागतको १३ लाख रूयैयाँभन्दा बढी रकम केपी खनालले संकलन गर्ने क्रम जारी रहेकाले तिर्न बाँकी रहेको अध्यक्ष थापाको भनाइ छ । थापाले नगरपालिकाले सहयोगका लागि चासो नदेखाएकामा गुनासो गरे । बालगृह विसं २०७२ देखि सञ्चालनमा छ । (रासस)

प्रकाशित समय ११:३० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु