fbpx
Nepal Mediciti

गृहपृष्ठ कर्मचारीको अभावमा दुर्गम भोटखोलाका सेवाग्राहीलाई सास्ती

कर्मचारीको अभावमा दुर्गम भोटखोलाका सेवाग्राहीलाई सास्ती

संखुवासभा भोटखोला गाउँपालिकामा सचिव अभावका कारण सेवाग्राहीलाई सास्ती भएको छ । गाउँपालिककाका पाँचवटा वडाका ६ हजार ५७६ जनाका लागि एकजना सचिवले सेवा दिइरहेका छन् । एक मात्र सचिवका कारण स्थानीयवासीलाई सास्ती भएको हो ।

भौगोलिक विकटता भए पनि पाँचवटा वडा एक्लै भ्याउनुपर्ने बाध्यता रहेको वडासचिव नायबसुब्बा दावा लामाले बताए । ‘ एक वडामा महिनाको दुई–तीन दिनभन्दा बढी समय दिन सकिँदैन,’ वडासचिव लामाले भने, ’एक वडा कार्यालयबाट अर्को वडा पुग्न दुईदेखि चार दिनसम्म लाग्छ । आउजाउमै समय बित्छ ।’ अधिकांश समय गाउँपालिका केन्द्रमै रहेर सेवा दिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । लामाका अनुसार स्थानीय सरकार सञ्चालनमा आएपछि सेवा विस्तार हुन सकेको छैन ।

भोटखोलामा प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल, नायबसुब्बा (वडासचिव र कृषि शाखा प्रमुख), खरिदार, खानेपानी सरसफाइ प्राविधिक स्थायी कर्मचारी छन् । त्यस गाउँपालिकामा २७ जनाको दरबन्दीमा पाँचजना मात्र हुँदा सेवाप्रवाहमा समस्या हुने गरेको छ । पाँचजना करार कर्मचारी थपिएको गाउँपालिका अध्यक्ष तेम्बा भोटेले बताए । अध्यक्ष भोटेका अनुसार पाँच वडामा एक–एक र गाउँपालिका कार्यालयमा दुई गरी सातजना कार्यालय सहयोगी राखिएको छ । कर्मचारी अभाव र भौगोलिक विकटताका कारण सोचेजस्तो काम गर्न नसकिएको उनको भनाइ छ ।

‘एकजना वडासचिवलाई कतितिर कुदाउने ?’ अध्यक्ष भोटेले भने । सरकारले दरबन्दीअनुसार तत्काल कर्मचारी नपठाउने हो भने भोटखोलाका जनताले सहज रूपमा सेवा पाउन कठिन छ । सिंहदरबार केन्द्रित सरकारी सेवा गाउँ पु-याउन कठिन हुने उनको भनाइ छ ।

यहाँ दुर्गम भत्ताको व्यवस्था भए पनि कर्मचारी आउन नमानेको अध्यक्ष भोटेले गुनासो गरे । कर्मचारीलाई आकर्षित गराउन गाउँपालिकाले थप मासिक चार हजार रूपैयाँसमेत व्यवस्था गरेको छ । यातायातको असुविधाले पनि कर्मचारी भोटखोला आउन रुचाउँदैनन् । चीन र भारत जोड्ने छोटो मार्ग किमाथांका–विराटनगर सडक सोही गाउँपालिका हुँदै जाने भए पनि समयमा सम्पन्न हुन सकेको छैन । हिउँदमा भोटखोला गाउँपालिकाको गोलासम्म सडक सञ्चालनमा आउने गरेको छ ।

गाउँपालिका केन्द्रसम्म सडक सञ्चालन हुने हो भने भोटखोलामा पनि कर्मचारी आउने उपाध्यक्ष पान्जाम भोटेको विश्वास छ । सरकारी सेवा भोटखोलाका स्थानीय जनतासम्म पु-याउन किमाथांका–विराटनगर सडक तत्काल निर्माण गरी सञ्चालन गर्न आवश्यक रहेको पान्जामले बताए ।

जिल्ला सदरमुकाम खाँदबारीबाट ३० कोस टाढा रहेको भोटखोला चीनको सीमा क्षेत्रमा पर्छ । यो गाउँपालिका साबिकका किमाथांका, चेपुवा, हटिया, पावाखोलाका १ देखि ३ वडा मिलेर बनेको हो । (रासस)

प्रकाशित समय १४:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु