fbpx
Nepal Mediciti

गृहपृष्ठ लाखौं कमाउने, एक रुप्पे पनि नतिर्ने ?

लाखौं कमाउने, एक रुप्पे पनि नतिर्ने ?

ishworman-dangol-newskarobar

नयाँ बानेश्वर काठमाडौंको व्यस्त बजार हो । मुलुकको कानुन निर्माण गर्ने संघीय संसद भवन रहेको नयाँ बानेश्वर प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारबाट खासै टाढा छैन । तर, बानेश्वर क्षेत्रको अस्तव्यस्ततामाथि कसैको ध्यान पुगेको छैन ।

सधैं व्यस्त रहने नयाँ बानेश्वरका सडकआसपास करोडौं कारोबार गर्ने बैंक तथा वित्तीय संस्था, विभिन्न संस्थाका कार्यालय सपिङ कम्प्लेक्स, होटल तथा पसल र निजी अस्पताल छन् । तर, एक इन्च ठाउँ नछाडी व्यापारिक प्रयोजनका लागि बनाइएका अधिकांश घर तथा भवनको पार्किङ छैन । जहाँ दैनिक अर्बौं मूल्यको कारोबार हुन्छ । सडक किनारामा छरपस्ट पार्किङ गरिने सवारी साधनदेखि फुटपाथ पसल र अव्यवस्थित बस स्ट्यान्डले नयाँ बानेश्वरको सुन्दरता अतिक्रमण गरेका छन् ।

नयाँ बानेश्वर चोकआसपासमात्रै २० भन्दा बढी बैंक तथा वित्तीय संस्थाका शाखा छन् । ती संस्थामा सेवा लिन आउने ग्राहक पार्किङका लागि निकै भौंतारिन्छन् र अन्त्यमा ट्राफिकको आँखा छलेर फुटपाथ या सडकमै पार्किङ गर्छन् । तिनै ग्राहकबाट करोडौं नाफा कमाउने वित्तीय संस्थाले ग्राहकको सुविधाका लागि आम्दानीको सानो हिस्सा पार्किङमा छुट्याउनुपर्छ भन्ने कुरालाई बेवास्ता गरिरहेका छन् । सहरी सुन्दरता कायम राख्ने दायित्व त धेरै परको कुरा ।

footpath-parking-newskarobar
स्ट्यान्डर्ड चार्टड बैंक नयाँ बानेश्वर शाखा कार्यालयअगाडिको फुटपाथमा पार्किङ गरिएका मोटरसाइकल ।

नयाँ बानेश्वरमा खाना खाजा खुवाउने होटल तथा रेस्टुराँ र पसल तथा बजार र निजी संघ–संस्थाका कार्यालयको यकिन तथ्यांक काठमाडौं महानगरपालिकासँग पनि छैन । हजारौं छन् भनेर अनुमान गर्नेमात्र हो । तर, कामका लागि त्यहाँ पुग्ने अधिकांशले फुटपाथ या ट्राफिकको आँखा छल्दै सडकमा सवारी पार्किङ गर्ने गरेका छन् ।

बानेश्वरमै रहेको एभरेस्ट हस्पिटलको समेत पार्किङ छैन । अस्पतालमामा पार्किङ नहुँदा उपचारका लागि पुग्ने बिरामी र तिनका आफन्तले फुटपाथमै पार्किङ गर्ने गरेका छन् । कतिपयले फुटपाथभित्रको सानो क्षेत्र पार्किङका लागि छुट्याएका छन् । तर, दैनिक हजारभन्दा बढीलाई सेवा दिने व्यवसायले १५–२० वटा मोटरसाइकल अट्ने पार्किङ कति नै हुन्छ र ?

महानगरपालिकाले सडकको व्यस्ततालाई मध्यनजर गर्दै केही स्थानमा एक लाइन पार्किङको व्यवस्था गरेको छ । तर, यति ठूला ‘बिजनेस सेन्टर’ चार–पाँच सय सवारी अट्ने पार्किङ ‘हात्तीको मुखमा जिरा’ सरह हुने गरेका छन् । नयाँ बानेश्वरमा पार्किङका लागि ठाउँ खोजिरहेका सन्तोष ज्ञवाली भन्छन्, ‘हतार भएका बेलामा पार्किङ गर्न ठाउँ खोज्दै हिँड्नुपर्छ, पाइयो भने ग-यो नत्र जोखिम मोलेरै साइड लाएर राख्नुपर्छ । ट्राफिकले समाउला कि भन्ने तनावमा काम सक्नुपर्छ । तर, यसबारे कसैलाई केही वास्ता छैन ।’

footpath-parking-newskarobar
नयाँ बानेश्वर चोकबाट बुद्धनगर जाने फुटपाथ आधा ढाकेर राखिएका मोटरसाइकल । यो लाइनमा कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, ओम डेभलपमेन्ट बैंक, सिभिल बैंक, एभरेस्ट बैंक, एभरेस्ट हस्पिटल, सानिमा बैंकलगायत विभिन्न होटल तथा पसल छन् ।

एनसीसी बैंकको नयाँ बानेश्वर शाकामा नजिक भेटिएका नवीन पाण्डेलाई अफिसको कामले दैनिक १०–१५ वटा बैंक पुग्नुपर्छ । तर, बैंकहरुमा पार्किङ नहुँदा निकै गाह्रो हुन्छ । भन्छन्, ‘सवारी पार्क गर्ने ठाउँ खोज्दै हिँड्नुपर्छ, बाहिर सडकमा राख्ने कुरो आउँदैन, धेरै समस्या छ ।’ कुमारी बैंकमा आएका केदार शर्माको गुनासो पनि उस्तै छ । ‘सडकमै बाइक राख्ने कुरो आउँदैन, पार्किङका लागि नै ५–७ भिनेट भौंतारिनुपर्छ,’ उनले भने, ‘कहिलेकाहीँ छोटो काम छ भने त ट्राफिकलाई छलेर राख्नुको विकल्प पनि हुँदैन ।’

नयाँ बानेश्वर चोकमै रहेको बैंक अफ काठमाडौंमा दैनिक ३ सयभन्दा बढी ग्राहक पुग्छन् । त्योभन्दा चोकमा रहेको चौतारी होटलमा पनि खाजा खानेको उस्तै भीड हुन्छ । त्यहीँ आसपास थुप्रै पसल अफिस र पसल छन् तर पार्किङका लागि निकै सानो ठाउँमात्र छ । जहाँ केही ८–१० वटा मोटरसाइकल पार्किङमात्र छ । चारपाङ्ग्रे सवारीका लागि पार्किङको व्यवस्था नै छैन ।

बैंक अफ काठमाडौंले भने पार्किङको व्यवस्था सवारी धनीले नै गर्नुपर्ने बताएको छ । ‘हामीकहाँ पार्किङको व्यवस्था छैन, सेवा लिन आउने ग्राहक या कर्मचारी हुन्, सबैले आफैं पार्किङको व्यवस्था गर्नुपर्छ,’ नयाँ बानेश्वर शाखा प्रबन्धक अञ्जु नकर्मी भन्छिन्, ‘अहिले त ठाउँ–ठाउँमा सशुल्क पार्किङको व्यवस्था पनि छ, त्यहीँ गएर गर्ने नि !’

footpath-parking-newskarobar

कुमारी बैंकमा नयाँ बानेश्वर शाखामा पनि दैनिक सयभन्दा बढी ग्राहक पुग्ने शाखा प्रबन्धक तृप्ति रााणाले बताइन् । तर, त्यहाँ सेवा लिन जानेहरुका लागि पनि पार्किङको व्यवस्था छैन । लहरै रहेका ओम विकास बैंक, सिभिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकलगायतको अवस्था पनि उस्तै छ । संगम स्विट, सांग्रिला बैंक, एलिनाज क्याफे, अमिगो क्याफेलगायतका ठूला व्यवसाय पनि पार्किङविहीन छन् । र, करोडौं कारोबार गर्ने व्यवसायीले एक रुपैयाँ पनि पार्किङ स्थलका लागि छुट्याएका छैनन् ।

नयाँ बानेश्वर क्षेत्रमा कति र कस्ता व्यवसाय सञ्चालित छन् ? त्यहाँ के–के सेवा पाइन्छ ? नयाँ बानेश्वरको खास विशेषता के हो ? यसबारे काठमाडौं महानगरपालिकाले विस्तारै खोजीनीति गर्ला ! तर, दैनिक अर्बौंको कारोबार हुने संघीय संसद भवनअगाडिको क्षेत्रमा पार्किङ व्यवस्थापन अत्यावश्यक छ ।

घर बनाउने, पार्किङ नबनाउने
राजधानीका हरेक घरधनीको व्यापारिक सोच हुन्छ । बसोबासका लागि भुइँ तला भाडामा लगाउने र मासिक १०–१५ हजार रुपैयाँ उठाउनेहरुमा पार्किङको समस्या कमै छ । तर, व्यापारिक केन्द्रमा सडकआसपासका घरधनीले सटर र फ्ल्याटकै लाखभन्दा बढी असुल्छन् । घर भाडामा लगाएर मासिक लाखौं रुपैयाँ कमाउनेले पार्किङका लागि एक रुपैयाँ लगानी गर्नु पर्दैन ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल घर बनाउने भाडामा दिने अनि पार्किङको कुनै मतलव नगर्ने घरधनीमाथि कडाइ सुरु भइसकेको बताउँछन् । ‘विगतदेखि नै पार्किङसहितको घर बनाउनुपर्ने व्यवस्था छ,’ उनले भने, ‘तर कार्यान्वयनमा कसैले चासो नदिएकाले कागजमा पार्किङ देखाउने तर कोठा या सटर बनाउने प्रवृत्तिले समस्या बढेको हो, अहिले अनुगमन र कार्यान्वयनमा कडाइ सुरु गरिसकेका छौं ।’ विगतमा मापदण्डविपरीत पार्किङका लागि स्पेस नछाडी घर बनाउनेहरु अहिले स्मार्ट पार्किङको विरोधमा उत्रिएको भन्दै प्रवक्ता डंगोलले असन्तुष्टि जनाए । महानगरपालिकाले पार्किङ व्यवस्थापनका लागि धेरै प्रयास गरिरहेको उनको भनाइ छ ।

पार्किङ कतै छैन
नयाँ बानेश्वर राजधानीको एउटा व्यापारिक हब मात्र हो । राजधानीका असाध्यै व्यस्त क्षेत्र न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, जमल, ठमेल, सुन्धारालगायतका क्षेत्रमा पार्किङको झन् ठूलो समस्या छ । काठमाडौं महानगरपालिकाले आइतबारमात्र ‘पार्किङ बुकिङ’ सिस्टम सुरु गरेको छ । केही स्थानमा सशुल्क पार्किङ सेन्टरको व्यवस्था पनि छ । केही व्यापारिक भवन पार्किङस्थलसहित बनेका पनि छन् । तर, दैनिक लाखौं सवारी साधनका लागि पार्किङस्थलको कुनै प्रबन्ध छैन ।

उपत्यकामा ११ लाख सवारी साधन
यातायात व्यवस्था विभागको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा ११ लाखभन्दा बढी सवारी साधन छन् । यीमध्ये औसत ९० प्रतिशत सवारी साधन दैनिक सडकमा निस्किने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । सडकको साइज र कमजोर ट्राफिक व्यवस्थापनका कारण घण्टौंको जामकोसास्ती खेप्दै गन्तव्यसम्म पुग्ने सवारीधनीले पार्किङका लागि अर्को तनाव उठाउनुपर्छ ।

ट्राफिकको बिजोग
ट्राफिकको तथ्यांकअनुसार राजधानीमा दैनिक १० लाखभन्दा बढी गाडी गुड्छन् । सडकको तुलनामा ठूलोमात्रमा सवारी साधन भएकाले अत्यासलाग्दो जाम हुनेगरेको छ । यो जाम हटाउने दायित्व बोकेका ट्राफिकको संख्या १४ सय छ । जबकि, सडक विभागको तथ्यांकअनुसार उपत्यकाको सडक करिब २ हजार किलोमिटर छ । यसरी हेर्दा, झन्डै डेढ किलोमिटर सडक एकजना ट्राफिक प्रहरीको भागमा पर्छ । सवारी व्यवस्थापन गर्दै सडक किनारामा पार्किङ गर्न खोज्नेलाई धपाउनुपर्दा ट्राफिकको पनि बिजोग हुने गरेको छ । कतिपय सवारी धनी ट्राफिक प्रहरीसँग झगडा गरिरहेको दृश्य काठमाडौंको सडकमा बाक्लै देखिन्छन् । चर्को घाममा धुलो खाँदै बस्ने ट्राफिक सवारीधनीसँग बाझ्नुपर्दा हैरान हुने गरेको बताउँछन् ।

सुन्दरता र आम्दानी
अव्यवस्थित पार्किङले राजधानीलाई कुरुप बनाएको छ । व्यवस्थित पार्किङले सहर सुन्दरमात्र हुँदैन, ठूलो आम्दानी पनि हुन्छ । राजधानीमा दैनिक पार्किङ गरिने ४–५ लाख सवारी साधनबाट औसत १० रुपैयाँमात्र संकलन गर्ने हो भने दैनिक ५० लाख, मासिक १५ करोड र वार्षिक झन्डै २ अर्ब आम्दानी गर्न सकिन्छ । तर, यसतर्फ काठमाडौं र ललितपुर महानगरपालिका या अन्य कुनै नगरपालिकाको ध्यान पुगेको छैन ।

प्रकाशित समय ०९:१२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु