गृहपृष्ठ ‘सामाजिक कुरीति अन्त्य गर्न स्थानीय सरकारको भूमिका धेरै’

‘सामाजिक कुरीति अन्त्य गर्न स्थानीय सरकारको भूमिका धेरै’

मुख्यमन्त्री भन्छन्- प्रदेश २ कुरीतिले घेरिएको छ

tham-maya-thapa-newskarobar

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले देशभर महिला हिंसाका घटनामा बढेको भन्दै चिन्ता व्यक्त गरेकी छन् । जनकपुरमा शुक्रबार लैंगिक हिंसा, भु्रण हत्या, बालविवाह, दाइजोलगायतका कुरीतिसम्बन्धी स्थानीय जनप्रतिनिधिसँगको अन्तक्र्रियामा मन्त्री थापाले घरपरिवारबाट समेत हाम्रा छोरीचेलीहरु असुरक्षित भइरहेको बताइन् ।

अहिले सबैभन्दा नजिकको स्थानीय सरकारले समाजमा जरा गाडेर बसेका कुरीति अन्त्यका लागि नीति, नियम, कानुन र योजना बनाएर अन्त्य गर्नुपर्ने उनको भनाइ छ । ‘स्थानीय जनप्रतिनिधि जति क्रियाशील भएर अगाडि बढ्न सक्नुहुन्छ, त्यति नै कुरीति अन्त्यका लागि सहज हुन्छ,’ उनले भनिन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ कुरीतिले घेरिएको बताए । ‘अहिले दैनिक घरेलु हिंसा, आमाको पेटभित्र छोरा कि छोरी भनेर पहिचान गराउँदै गर्भपतन गराउने, छोरीलाई सरकारी र छोरालाई निजी विद्यालयमा पढाउने, बालविवाह, हत्या र दाइजोको लेनदेनमा प्रदेश २ धेरै अगाडि छ,’ उनले भने, ‘यसको निराकरणका लागि प्रदेश सरकार अग्रसर छ ।’ प्रदेश २ को सभ्रान्त परिवारमा दहेजदेखि लिएर समाजिक अपराधका क्रियाकलाप नै बढी देखिएको उनले बताए ।

त्यस्तै, प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले सामाजिक कुरीतिका घटना प्रदेश २ मा धेरै रहेकाले यसको अन्त्यका लागि सामाजिक विकास मन्त्रालय प्रतिबद्ध रहेको बताए । ‘छोरीहरु घरबाहिर एक घण्टा पनि बस्दा निकै केरकार हुने तर छोराहरु हप्तौंसम्म बिनाजानकारी बाहिर भए पनि केही मतलब नगर्ने हाम्रो समाजको रोग नै हो,’ उनले भने । कार्यक्रममा धनुषाका १८ वटै स्थानीय तहका जनप्रतिनिधिको सहभागिता थियो ।

प्रकाशित समय ०७:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु