fbpx
Nepal Mediciti

गृहपृष्ठ खप्तड पुग्ने छोटो पदमार्ग निर्माण

खप्तड पुग्ने छोटो पदमार्ग निर्माण

पर्यटकीयस्थल खप्तड जानका लागि अछामबाट पैदलमार्ग निर्माण भएको छ । साँफेबगर नगरपालिका—१२ उनिसैनबाट तीन घण्टामै खप्तड पुग्ने गरी पदमार्ग निर्माण गरिएको हो ।

साँफेबगर नगरपालिकाको १० लाख रुपैयाँ आर्थिक सहयोगमा तथा खप्तडका स्थानीयवासीको सक्रियतामा पैदलयात्रामा सहजताका लागि बाटो निर्माण गरिएको बताइएको छ । उनिसैनदेखि गणेश मन्दिरसम्मको पदमार्ग निर्माण भएसँगै अछामबाट खप्तड जानेका लागि यात्रा छोटिएको छ । उनिसैनदेखि गणेश मन्दिरसम्मको पैदलमार्ग निर्माण भएसँगै अछामबाट जाने अन्य सबै रुटभन्दा छिटो खप्तड पुगिने स्थानीय हर्क रावलले बताए । बाटो निर्माण हुनुपूर्व अप्ठेरो बाटो पाँच-छ घण्टा लाग्थ्यो । अब दुई घण्टामै खप्तड पुग्न सकिने रावलको भनाइ छ ।

उनिसैन पर्यटकीय सेवा केन्द्रका सञ्चालक भीम रावलले पैदलमार्ग निर्माण भएसँगै पर्यटक पनि बढ्दै गएको बताए । बाटो निर्माण हुनु पहिले महिनामा १५-२० जना मात्र हिँड्ने गरेकामा पछिल्लो समय दैनिक २० जनासम्म पर्यटक खप्तड जाने गरेको उनको भनाइ छ ।

नगरपालिकाको सहयोगमा निर्माण भएको पदमार्गको स्थलगत निरीक्षण गर्दै साँफेबगर नगर उपप्रमुख विर्मला बुडथापाले पर्यटकलाई सहज रूपमा खप्तडसम्म पुर्‍याउने उद्देश्यले यो कार्य गरिएको बताइन् । ‘अछामबाट खप्तड घुम्न जान सात किलोमिटर हिँड्न सजिलो हुने गरी पदमार्ग बनाएका छौँ, खप्तड घुम्न आउनेहरूका लागि हामी निमन्त्रणा गर्न चाहन्छौँ,’ नगर उपप्रमुख बुडथापाले भनिन् ।

यस्तै नगरबाटै पाँच लाखको सहयोगमा वडा नं १२ स्थित खप्तडको उनिसैनमा घरबास पनि सञ्चालनमा ल्याइएको छ । अब साँफेबगर हुँदै खप्तडको उनिसैन पुगेर घरबासको आनन्द लिई दुई घण्टामै खप्तड पुगेर रमाउन सकिने साँफेबगर नगर कार्यपालिका सदस्य शंकर भुलले बताए । (रासस)

प्रकाशित समय ११:२६ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु