fbpx
Nepal Mediciti

गृहपृष्ठ कृषक समूहलाई हाते ट्याक्टर

कृषक समूहलाई हाते ट्याक्टर

गण्डकी प्रदेश भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तनहुँको भानु नगरपालिका–११ बाँसखर्कस्थित कृषक समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । मुख्यमन्त्री नमुना वातावरणमैत्री कृषिगाउँका रुपमा छनोट भएको बाँसखर्कको लालीगुराँस कृषक समूहलाई मन्त्रालयले तीन हाते ट्याक्टर वितरण गरेको हो ।

मन्त्रालयको ८५ प्रतिशत र कृषक समूहको १५ प्रतिशत लगानीमा २ लाख २५ हजार मूल्य बराबरको हाते ट्याक्टर वितरण गरिएको मन्त्रालयका कृृषि प्राविधिक बन्दना पुलामी मगरले बताए । हाते ट्याक्टर किन्न कृषक समूहले ३३ हजार ७५० रुपैयाँ लगानी गरेको छ ।

‘तरकारी खेतीमा प्रविधिको प्रयोग गरी बढी उत्पादन गर्न सहयोग पुर्‍याउने उद्देश्यले हाते ट्याक्टर प्रदान गरिएको हो,’ उनले भने, ‘नमुना कृषिगाउँ स्थापना कार्यक्रमअन्तर्गत तरकारी खेतीलाई विशेष प्राथमिकता दिइएको छ, तरकारी खेतीका लागि जोत्न सहज हुने भएकाले हाते ट्याक्टर दिएका हौँ ।’

कृषक समूहमा ५८ सदस्य आबद्ध छन् । प्रदान गरिएका ट्याक्टर समूहका कृषकले आवश्यकताअनुसार समय मिलाएर प्रयोग गर्ने समूहका सदस्य कल्पना गुरुङले बताइन् । उनले भनिन्, ‘हाते ट्याक्टरमार्फत बारी जोत्न सहज र समयको पनि सदुपयोग हुने रहेछ ।’

मन्त्रालयले यसअघि सोही ठाउँका १५ घरधुरीलाई सात लाख मूल्य बराबरका मौरीसहितका ६० घार वितरण गरेको थियो । मन्त्रालयले ३३ कृषकलाई बाख्रापालन तथा घाँस व्यवस्थापन र प्लास्टिक घर, थोपा सिँचाइ, ‘मल्चिङ’ प्रविधिको तरकारी खेती तालिम दिइसकेको छ ।

नमुना गाउँका रुपमा छनोट भएको यस ठाउँलाई हरियाली बनाउन वृक्षरोपण कार्यक्रमलाई तीव्रता दिइएको छ भने सरसफाइका लागि डस्टबिन वितरण गरिएको छ । एभोकाडो, शीतलचिनी रोप्ने कार्यक्रम, नर्सरी व्यवस्थापनलगायत काम पनि भइरहेको छ । (रासस)

प्रकाशित समय १३:१५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु