fbpx
Nepal Mediciti

गृहपृष्ठ हावाहुरीले कञ्चनपुरका ८ सय ७० घरमा क्षति

हावाहुरीले कञ्चनपुरका ८ सय ७० घरमा क्षति

तीन दिनअघि कञ्चनपुर र कैलालीमा आएको भीषण हावाहुरीबाट भएको क्षतिको प्रारम्भिक विवरण संकलन भएको छ ।

कञ्चनपुरमा मात्र हावाहुरीका कारण ८ सय ७० घरधुरीमा क्षति पुगेको प्रारम्भिक तथ्यांक आएको जिल्ला रेडक्रस सोसाइटीको कार्यालयले जनाएको छ । रेडक्रसका अनुसार कञ्चनपुरमा ३७ घर पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् । ‘जिल्लाभर रहेका १५ उपशाखाबाट गरिएको क्षति विवरण संकलनको प्रारम्भिक रेकर्ड हो ।’

जिल्ला रेडक्रस सोसाइटीको कार्यालयका कार्यालय प्रमुख मनोज उप्रेतीले भने, ‘वास्तविक रेकर्ड आउन एक–दुई दिन लाग्छ ।’ वास्तविक रेकर्ड संकलनका लागि रेडक्रस, स्थानीय तह, स्थानीय प्रशासनका साथै सुरक्षा निकाय संयुक्तरुपमा खटिएको समेत उप्रेतीले बताए ।

‘स्थलगत अनुगमनका क्रममा पूर्णरुपमा क्षति भएको देखिएको परिवारलाई रेडक्रसले राहत प्याकेज पनि उपलब्ध गराउँदै हिँडेको छ ।’ त्यस्तै हावाहुरीका कारण कञ्चनपुरका ५ सय २५ बिजुलीका पोल भाँचिएका छन् । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रका प्रमुख अवधेशकुमार गुप्ताले विद्युत्तर्फ पोल भाँचिनुका साथै धेरै ठाउँमा तारमा समेत क्षति पुगेको बताए ।

उनले विद्युत्मा यहाँ डेढ करोड रुपैयाँ बराबरको क्षति भएको बताए । जिल्लाको अधिकांश ठाउँमा विद्युत् सञ्चालन भइसकेको गुप्ताको भनाइ छ । ‘कृष्णपुरको रैकवारबिचुवामा विद्युत् सञ्चालन हुन अझै दुईरतीन दिन लाग्न सक्छ’, गुप्ताले भने भन्नुभयो, ‘नयाँ पोल ल्याएर तार तान्ने काम हुँदैछ ।’

क्षति विवरण संकलनसँगै विद्युत् सञ्चालन गर्न रातदिन टोली जिल्लाभर परिचालन भएको उहाँले जानकारी दिए । ‘कञ्चनपुरमा कृष्णपुर नगरपालिकामा सबैभन्दा बढी क्षति भएको छ’, गुप्ताले भने, ‘क्षतिको यकिन विवरण आएपछि केन्द्रमा बजेट माग्ने योजनामा छौँ ।’

त्यसैगरी यहाँका स्थानीय तहहरु पनि पीडितको राहत र क्षतिको विवरण संकलनमा सक्रिय देखिएका छन् । स्थानीय तहले आपत्कालीन राहतकोषको घोषणा गरेका छन् । जिल्ला सुरक्षा समिति पनि हावाहुरीबाट पूर्णरुपमा क्षति व्यहोरोका स्थानीयवासीको भत्केका घर पुनःनिर्माण गर्ने र त्रिपाललगायतका राहत सामग्री वितरण गर्न छलफलमा जुटेको छ ।(रासस)

प्रकाशित समय १०:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु