fbpx
Nepal Mediciti

गृहपृष्ठ धनुषामा एक महिलाको शंकास्पद मृत्यु, माइती भन्छन्- हत्या नै हो

धनुषामा एक महिलाको शंकास्पद मृत्यु, माइती भन्छन्- हत्या नै हो

धनुषामा एक महिलाको शंकास्पद मृत्यु भएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका– ६ सखुवाबजारस्थित आफ्नै घरमा सुतिरहेकी रेणु यादवको मृत्यु भएको हो । रेणुको घाँटीमा निलडाम देखिएको छ । नाक र मुखबाट रगत आएको देखिन्छ भने उनको शरिरमा पराल समेत देखिएको मृतकका बुबा रामविनय यादवले बताए । यादवलाई शुक्रबार राति साढे ३ बजे उपचारका लागि जनकपुर अञ्चल अस्पताल पुर्याएको ५ मिनेटमे चिकित्सकले मृत घोषणा गरेका थिए ।

शनिबार बिहान साढे ३ बजेतिर रेणु गम्भीर बिरामी परेको भन्दै सँगै सुतेका ज्वाँइले फोन गरेका थिए । लगत्तै छोरीको घर धनुषाको सखुवामा जाँदै गर्दा अस्पताल लगिएको खबर पाएर रामविनय जनकपुर अस्पतालतर्फ मोडिए । तर, बीच बाटोमै रेणुको मृत्युको खबर पाएको उनको भनाइ छ ।

२२ वर्षीया रेणुको सखुवा महेन्द्रनगरका विन्दे यादवका २५ वर्षीय छोरा अरविन्द यादवसँग २०७० सालमा विवाह भएको थियो । विवाहलगत्तै विदेश गएका उनका पति एक महिनाअघि मात्रै घर फर्किएका थिए । अरविन्द घर फर्किनुअघि छोरी र ज्वाँइबीचमा मनमुटाव रेणुका बुबाको भनाइ छ ।

झगडा मिलाउन माइती र ससुरालपक्षबीच १० दिन पहिले २० जनाको उपस्थितिमा मिलेर बस्ने भद्र सहमतिसमेत भएको छलफलमा सहभागी गोपाल कुमार बरुवालले बताए । सहमतिपछि उनको मोबाईल खोसिएको थियो ।

आज बिहान अचानक छोरी बिरामी भएको खबर सुन्नसाथ रामविनयको मनमा चिसो पसिसकेको थियो । नभन्दै नियतीले नराम्रो खबर उनको कानमा ठोक्कायो । माइती पक्ष भन्छन्, ‘घाँटीमा निलडाम छ, परालले थिचेर हत्या भएको हो ।’

मृतक रेणुका बाबु रामविनय यादव ।

बुबा रामविनयका अनुसार रेणुलाई शारीरिक र मानसिक रुपमा सासु ससुराले समेत पटक–पटक यातना दिएका थिए । उनी भन्छन्, ‘पटक–पटक छोरीमाथि कुटपिट हुँदै आएको थियो ।’ यातना सहेरै माइतीमा नआइ छोरी श्रीमानको घरमै बसेको उनको भनाइ छ ।

२०७० सालमा ९ लाख रुपैयाँ नगद, फर्निचर र सुन गरी १५ लाख खर्चेर छोरीको विवाह गरेका रामविनयले आजको दिनको कल्पना गरेका थिएनन् । सासु ससुराले रेणुबारे विदेशमा रहेका आफ्ना छोरालाई गलत ब्याख्या गरेकालेनै यस्तो घटना निम्तिएको माइतीको बुझाइ छ । सासु ससुराले लगाएको आरोपअनुसार छोरीको आचरण गलत नभएको माइतीको भनाइ छ । छोरीको मृत्युको अनुसन्धान गरी दोषीलाई कडा भन्दा कडा कारबाही गर्न रामविनयले याचना गरेका छन् ।

अस्पताल पुर्याएपछि रेणुको मृत्यु भएको सुन्नासाथ उनका श्रीमान र सासु ससुरा फरार भएका थिए । अरविन्द, उनका वुवा विन्दे र सासुलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले पक्राउ गरिसकेको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा अनुसन्धानका लागि राखिएको छ ।

मृतकका आमा र दिदी मुर्छित
छोरीको मृत्युको खबरले रेणुकी ४५ वर्षीय आमा कुन्ति देवी यादव र दिदी अचेत छन् । होस खुलेलगत्तै कुन्तिले छोरीको मुख देखाउन बिलौना गर्छिन् । पीडा खप्न नसकेर तत्कालै अचेत हुन्छिन् । रेणुकी दिदी लिला पनि अर्धचेत अवस्थामा छिन् ।

पक्राउ परेका श्रीमान अरविन्दले प्रारम्भिक बयानमा टाउको दुखेको औषधि धेरै खाएकाले रेणुको मृत्यु भएको बताएका छन् । शवको पोस्र्टमाटम रिर्पोटपछि मात्र वास्तविकता अनुसन्धानमा सहज हुने धनुषा प्रहरीको भनाइ छ ।

प्रकाशित समय ११:४१ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु