fbpx
Nepal Mediciti

गृहपृष्ठ घरमै सुरक्षित छैनन् महिला

घरमै सुरक्षित छैनन् महिला

हरेक रात श्रीमान र परिवारबाट गाली र कुटाइ

mahila-himsa-newskarobar सांकेतिक तस्बिर

वीरेन्द्रनगर–१० की आँशु शर्मा (नाम परिर्वतन) ले विवाह गरेको ५ वर्ष भयो । विवाहका केही वर्ष उनका लागि स्वर्णीम बने । श्रीमान्को माया र घरपरिवारको सहयोगमा जीवनको आनन्द लिइरहेकी आँशुका खुसी धेरै टिक्न सकेनन् । जीवनलाई सार्थक बनाउन विवाह बन्धनमा बाँधिएकी आँशुका हरेक रात आँशुसँगै बित्दै गएका छन् ।

एक सन्तानकी आमा आँशुलाई विभिन्न बहानामा घरपरिवारले गालीगलौज तथा श्रीमानले कुटपिट गर्दै आएका छन् । ‘श्रीमान् अबेर मदिरा पिएर आउनुहुन्छ । अनि, नानाथरी गाली गर्ने र कुटपिट गर्न थाल्नुहुन्छ,’ उनले भनिन्, ‘भएको एउटा छोराका लागि खर्चसमेत नदिँदा बाध्य भएर प्रहरीको शरणमा गएकी छु ।’

वीरेन्द्रनगर–२ की सुनिता बिक (नाम परिर्वतन) समेत श्रीमानको कुटाइ खानबाट अछुतो छैनन् । बिहान लेबर काम गर्न जान्छु । उनले भनिन्, ‘दिनभर कमाएर ल्याएको पैसा श्रीमानलाई रक्सी खान दिनु कि छोराछोरीको पेट भर्नु, पैसा नदिएको बहानामा मैले हरेक रात उहाँको कुटाइ खाने गरेकी छु । श्रीमानले समेत लेबर काम गरेर पैसा कमाउनुहुन्छ । आफ्नो कमाइ नदेखाउने र मेरो कमाइको हिसाबकिताब खोज्नुहुन्छ ।’

आँशु र सुनिता त प्रतिनिधि पात्रमात्रै हुन् । हरेक रात श्रीमान् तथा परिवारका सदस्यहरुबाट गाली बेइज्जती र कुटाइ खाने महिलाको संख्या सुर्खेतमा कम छैन । जिल्ला प्रहरी कार्यालय सुर्खेतको तथ्यांकअनुसार चार वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा १४ सय २७ घरेलु हिंसाका घटना दर्ता भएका छन् ।

आर्थिक वर्ष ०७२/७३ मा सुर्खेतमा ४१० घरेलुहिंसाका घटना घटेका छन् । सुर्खेतको दोस्रो ठूलो घटनामा जबर्जस्ती करणी परेकोे छ । आर्थिक वर्ष ०७२/७३ मा सुर्खेतमा २९ वटा घटना जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएका छन् । त्यस्तै, लागु औषधमा १६, जबर्जस्ती करणी उद्योगमा नौवटा घटना कार्यालयमा दर्ता भएका छन् ।

आर्थिक वर्ष ०७३/७४ भने अघिल्लो वर्षको तुलनामा तथ्यांक केही घटेको छ । उक्त वर्षमा ३७२ घरेलु हिंसाका घटना जिल्ला प्रहरी कार्यालय सुर्खेतमा दर्ता भएका छन् । त्यस्तै, लागुऔषधका घटना २०, सार्वजनिक मुद्दा ७५, बहुविवाहमा १६, जबर्जस्ती करणी २६, जबर्जस्ती करणी उद्योग ८ र लागुऔषधका घटना २० वटा दर्ता भएका छन् । आर्थिक वर्ष ०७४/७५ मा ४५९ घरेलु हिंसाका घटना घटेका छन् । जबर्जस्ती करणीका २३, करणी उद्योगका १३, लागुऔषधको ३५ र बहुविवाहको २० वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

त्यस्तै ०७५/७६ को वैशाखसम्ममा घरेलु हिंसाका घटना १८६ वटा दर्ता भएका छन् । जबर्जस्ती करणीका ५१, करणी उद्योगका ७, बहुविवाहका ३६ र लागुऔषधका ६७ मुद्दा दर्ता भएका छन् । सार्वजनिक मुद्दा १४४ वटा र जुवातासका १५ वटा मुद्दा दर्ता भएका छन् ।

सुर्खेतमा घरेलु हिंसा बढ्नुको मुख्य कारण घरेलु मदिरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए । ‘सुर्खेतमा घरेलु हिंसाका घटना बढ्नुको मुख्य कारण घरेलु मदिरा हो । यसलाई नियन्त्रण गर्न हामीले विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेका छौं,’ उनले भने, ‘हिंसा सहनुहुन्न भन्ने चेतनाका कारण पनि यी घरेलु हिंसाका घटना प्रहरीसम्म आइपुग्न थालेका छन् ।’

घरेलु हिंसा रोक्न सुरक्षा व्यवस्था कडा पार्नुका साथै सुर्खेत प्रहरीले शून्य सहनशीलता नीति अपनाएको क्षेत्रीले बताए । ‘हामीले कुनै पनि जाहेरीलाई अनुसन्धान नगरी मेलमिलाप गर्ने गरेका छैनौं,’ उनले स्पष्ट पारे ।

२०७६ वैशाखसम्ममा जिल्ला प्रहरी कार्यालय सुर्खेतले अदालतबाट फैसला भएका र फरार रहेका ८८ जनालाई पक्राउ गरेको छ । ४२ वर्ष दुई महिना १४ दिन कैद पाएका उनीहरुले ३१ लाख ३१ हजार ७०७ रुपैयाँ जरिवाना तिर्नुपर्छ ।

प्रकाशित समय १८:५५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु