fbpx
Nepal Mediciti

गृहपृष्ठ प्रदेश ५ मा किशोरावस्थामै साढे ८ हजार आमा

प्रदेश ५ मा किशोरावस्थामै साढे ८ हजार आमा

child-marriage-newskarobar

बालविवाह संविधानतः बन्देज छ । विवाह गर्ने उमेर २० वर्ष हो । १९ वर्षसम्मको उमेरलाई किशोरी उमेर भनिन्छ । उमेर परिपक्व नहुँदै गर्भाधारण गर्ने जोकोही आमाको स्वास्थ्यमा जतिबेला पनि समस्या आउनसक्छ । यति हुँदाहुँदै पनि प्रदेश ५ मा बच्चा जन्माउनेमध्ये १६ प्रतिशत आमाहरु १९ वर्षमुनिका छन् ।

प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार गत वर्ष साढे ८ हजार किशोरी १९ वर्षमुनि नै आमा बनेका छन् । सामाजिक विकासमन्त्री सुदर्शन बराल उक्त तथ्यांक डरलाग्दो भएको बताउँछन् । उनी भन्छन्, ‘बालविवाह संविधानतः वर्जित छ तर पनि बालविवाह गर्ने र उमेर नपुगी बच्चा जन्माउनेको संख्या कमी आएको छैन ।’ बालविवाह रोक्न अभिभावकलाई बुझाउने र बालविवाह गराउने जुनसुकै व्यक्ति, संघ संस्था वा जोकोहीलाई पनि कारबाहीको भागिदार बनाउनुको विकल्प नभएको मन्त्री बरालको भनाइ छ ।

sudrashan-baral-mantri-newskarobar
सामाजिक विकासमन्त्री सुदर्शन बराल

बालविवाहलाई निस्तेज पार्न प्रदेश सरकार लागिपरेको भन्दै उनले यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए । खासगरी चेतनस्तर न्यून भएका स्थानमा सामाजिक सचेतना कार्यक्रम सञ्चालन गरी बालविवाह न्यूनीकरणको योजनबद्ध प्रयास गरिने मन्त्रालयले जनाएको छ ।

लामो समयदेखि बालविवाहको क्षेत्रमा काम गर्दै आएको रुपन्देहीको सिद्धार्थ सामुदायिक समाजका अनुसार सन् २०१४ देखि २०१८ सम्म साविक आठवटा गाविसमा गरिएको सर्वेक्षणअनुसार २ हजार ९ सय २९ जनाको बालविवाह भएको पाइएको थियो । समाजका प्रमुख अस्मिता मल्लका अनुसार रुपन्देहीको साविक बयरघाट गाविसमा १०२, छोटकी रामनगरमा ७६, एकलामा १२५, मर्यादापुरमा ६९, रायपुरमा २९९, सिमरामा १२७, तेनहुँमा २६ जना र थमुरपिपरहवामा १२४ जनाको बालविवाह भएको थियो । प्रदेश ५ मा के कति मात्रामा बालविवाह भइरहेको छ भन्ने यकिन तथ्यांक भने छैन ।

केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको कानुनले २० वर्ष पूरा गरेपछि मात्र विवाहका लागि योग्य मानेको भए पनि अझै २९ प्रतिशतको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ । २०३० सम्म नेपालबाट बालविवाह अन्त्य गर्ने लक्ष्यसहित सरकारले बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ जारी गरेको थियो ।

वि.स. २०६८ को जनगणनाअनुसार नेपालमा एक लाख ३८ हजार १५ बालबालिकाको १० वर्ष नपुग्दै विवाह भएको देखिन्छ । त्यसमध्ये पनि एक लाख १५ हजार १५० बालिका रहेको तथ्यांकले देखाएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०११ ले नेपालमा २० वर्षदेखि २४ वर्ष उमेर समूहका ४१ प्रतिशत महिलाको विवाह १८ वर्ष पुग्नुअगावै भएको उल्लेख गरेको छ ।

युनिसेफले प्रकाशित गरेको सन् २०१६ को तथ्यांकअनुसार नेपालमा ३७ प्रतिशतको १८ वर्षभन्दा कम उमेरमा विवाह हुन्छ । यसैगरी, १० प्रतिशत बालिका १५ वर्षभन्दा कम उमेरमा विवाह गर्छन् । कपिलवस्तुमा महिला तथा बालबालिका कार्यालयले २०७३ मा गरेको एक अध्ययनअनुसार ७४ प्रतिशत विवाह २० वर्ष नपुग्दै गरेको पाइएको छ ।

विशेषगरी तराईका जिल्लाहरुमा तुलनात्मक रुपमा बालविवाह बढी हुने गरेको अध्ययनले देखाएको छ । विकट पहाडी जिल्ला अछाम, वैतडी, बाजुरा, डोटी, बझाङलगायतमा पनि बालविवाहको दर उच्च छ । नेपालको संविधानको धारा ३९ को उपधारा (५) ले कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न वा बन्धक राख्न नपाइने गरी बालबालिकाको हक स्थापित गरेको छ । नेपालको मुलुकी ऐनको नयाँ व्यवस्थाले विवाह गर्ने उमेर महिला तथा पुरुष दुवैका लागि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको छ ।

२० वर्षभन्दा कम उमेरमा गरिने विवाह कानुनतः दण्डनीय हुन्छ । साथै, यस्तो विवाह गरेमा गैरकानुनी हुने भएकोले स्वतः वदर हुने र कसुर गर्ने व्यक्तिलाई एक वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने भनिएको छ ।

बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ ले नेपालमा सन् २०३० सम्म बालविवाह अन्त्य गर्ने उद्देश्य लिएको छ । यी सबै ऐन, कानुन, नीति, कार्यविधिको व्यवस्था भए पनि नेपालमा बालविवाह कम हुन सकेको छैन । केही समयअघि प्रदेश ५ को दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकामा गरिएको एक सर्वेक्षणमा २० वर्षभन्दा मुनिका ३७५ गर्भवती भेटिएको थियो । आठ महिनामा गर्भवती जाँच गराउन आउनेमा ३७५ जना किशोरी थिए । चालू आवमा २० वर्षमुनिका १७ जनाले गर्भपतन गराएको तथ्यांक सार्वजनिक भएको थियो ।

प्रकाशित समय ०७:१८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु