fbpx
Nepal Mediciti

गृहपृष्ठ मध्यपुर थिमीमा मनाइयो ३२ खटसहितको सिन्दुर जात्रा

मध्यपुर थिमीमा मनाइयो ३२ खटसहितको सिन्दुर जात्रा

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाबासीले ३२ खटसहितको सिन्दुर जात्रा (सुथः सिया) जात्रा मनाएका छन् । बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रा मध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक जात्रा हो ।

सिन्दुर जात्रामा बालकुमारी, कालिका अर्थात बालाखुको खट बालकुमारी मन्दिरबाट बाहिर निकालिएको छ । सिद्धिकालीको खट ल्याएर आफ्ना गणसहित बालकुमारी प्रवेश गराएपछि यो जात्रा सुरु हुन्छ । जात्रा सुरु भएपछि पमाहरु हातहातमा चिराग अर्थात बत्ती लिएर नाइके प्रधानको अनुमतिमा बालकुमारीको खट उचालेपछि जात्रालाई दिगुटोलस्थित देवता घर परिक्रमा गराइन्छ ।

जात्रामा थिमिको बालकुमारी, दक्षिणबाराही, विष्णुवीर, सिद्धिकाली, नगदेशको सिद्धिगणेश, बोडेको महालक्ष्मी र टिगनीको नीलबाराही मन्दिरका देवताका नेतृत्वमा खट बोकेर जात्रा गरी टोलटोलमा सिन्दुर खेल्दै बाजागाजा सहित सिन्दुर जात्रा मनाइएको छ ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराक बाली सिन्दुर जात्रा मनाइने परम्परा रहेको छ । जात्रा प्रत्येक चोक, चौबाटो र नगरपरिक्रमा गर्दा घरको झ्याल, कौसी र छतबाट सिन्दुर छर्ने, फूल बसाएर स्वागत गर्ने चलन छ । जात्रामा काँयाबाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई हर्षोल्लासका साथ एकापसमा सिन्दुर दलेर नगरपरिक्रमा गर्ने गरिन्छ । मध्यपुर थिमीमा बैशाख १ गते बिहान २ बजेदेखि नै जात्रा सुरु भएको थियो ।

प्रकाशित समय १२:३८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु