fbpx
Nepal Mediciti

गृहपृष्ठ पाल्पामा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा

पाल्पामा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनमा

palpa_district-newskarobar

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत पाल्पामा १ करोड ८४ लाख बजेट प्राप्त भएको छ । बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यले सञ्चालित सो कार्यक्रम जिल्लाका दसवटै स्थानीय तहमा लागू भएको छ । तीमध्ये रम्भा र रिब्दिकोट गाउँपालिकाले कार्यक्रम सुरु गरिसकेका छन् भने अन्य स्थानीय तहले सुरु गर्ने तयारी गरिरहेको छ ।

यस कार्यक्रमअन्तर्गत रम्भा गाउँपालिकाले फारम भरेका ४५० युवामध्ये तीस जनालाई छनोट गरी रोजगारी दिन थालेको छ । सो कार्यक्रमका लागि १४ लाख बजेट प्राप्त भएको गाउँपालिकाले जनाएको छ । कार्यक्रमअन्तर्गत गाउँपालिका–३ पिपलडाँडाको बेलपानीदेखि मौलाथरसम्मको करिब साढे पाँच किलोमिटर मोटरबाटो स्तरोन्नतिका लागि साढे ४ लाख बजेट विनियोजन गरेर काम थालनी गरिएको गाउँपालिकाका अधिकृत भक्तजंग रानाले जानकारी दिए ।

बाँकी रकम रिमिघा लेकको पर्यटन प्रवद्र्धनलगायतका क्षेत्रमा खर्च गरिने योजना रहेको उनले जानकारी दिए । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा ९० युवालाई रोजगार दिइने योजना रहेको गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले बताए । त्यस्तै रिब्दिकोट गाउँपालिकाले यस कार्यक्रमअन्तर्गत ११० युवालाई छनोट गरेको छ । सो कार्यक्रमका लागि संघीय सरकारबाट १४ लाख र गाउँपालिकाबाट ५ लाख गरी कुल १९ लाख बजेट विनियोजन भएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले जानकारी दिए ।

यसैगरी सो कार्यक्रमका लागि रामपुर नगरपालिकाले चालू आर्थिक वर्षमा रु २५ लाख बजेट प्राप्त गरेको छ । यसबाट करिब सय जना युवालाई रोजगार दिने योजना रहेको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । ‘नगरका धेरै बेरोजगार युवालाई समेटेर कार्यक्रम गर्ने तयारी गरिरहेका छौँ,’ नगर प्रमुख थापाले भने, ‘असारदेखि काम थालनी हुँदै छ ।’

यस कार्यक्रमअन्तर्गत तानसेन नगरपालिकामा सबैभन्दा बढी बजेट प्राप्त भएको छ । संघीय सरकारबाट प्राप्त ४२ लाखबाट १८५ युवालाई रोजगारी दिने गरी छनोटको प्रक्रिया अगाडि बढाइएको नगर प्रमुख अशोककुमार शाहीले बताए । त्यस्तै निस्दी गाउँपालिकामा प्राप्त १३ लाख बजेटबाट ९८ युवालाई रोजगार दिने गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । यस कार्यक्रमअन्तर्गत तिनाउ गाउँपालिकामा प्राप्त भएका १२ लाख बजेटबाट दुई सय युवालाई रोजगार दिने गरी योजना छनोट प्रक्रिया भइरहेको अध्यक्ष ओमबहादुर घर्तीमगर बताउँछन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि १९ लाख बजेट प्राप्त भएको रैनादेवी छहरा गाउँपालिकाले ३२० युवालाई रोजगारी दिने तयारी थालिएको गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्कीले बताए । यसैगरी पूर्वखोला गाउँपालिकालाई प्राप्त भएको १३ लाख बजेटबाट तीन सय युवालाई रोजगार दिने गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिए ।

त्यस्तै सो कार्यक्रमअन्तर्गत माथागढी गाउँपालिकालाई प्राप्त भएको १६ लाख बजेटबाट तीन सय युवालाई रोजगार दिइने अध्यक्ष सन्तोष थापा मगरले जानकारी दिए । उहाँका अनुसार यस कार्यक्रममा सहभागी हुन गाउँपालिकाका एक हजार दुई सयभन्दा बढी युवाले आवेदन दिएका छन् । बगनासकाली गाउँपालिकाका लागि प्राप्त १६ लाख बजेटबाट कामदार छनोट गर्ने प्रक्रिया भइरहेकाले आगामी असारको पहिलो सातादेखि कार्यक्रम सुरु गरिने गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले जानकारी दिए ।

प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत सडक स्तरोन्नति, साना–साना पूर्वाधार निर्माण, श्रममूलक काम, सडक निर्माण, कृषि, सिँचाइ, ग्रामीण खानेपानी, शिक्षा, वन, जलाधार क्षेत्रमा रहेर काम गर्ने कार्यविधि रहेको छ । यस कार्यक्रममा १८ वर्षदेखि ५० वर्ष सम्मका बेरोजगार नागरिक सहभागी हुन पाउनेछन् । (रासस)

प्रकाशित समय १४:४८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु