गृहपृष्ठ अदालत परिसरमा नोटको वर्षा
अदालत परिसरमा नोटको वर्षा

भारत उत्तरप्रदेशको बदायुँमा एक बाँदर अदालत परिसरबाट एउटा मानिसको ६५ हजार (भारू) सहितको झोला खोसेर रूखमा चढ्यो । सुरक्षित स्थानमा पुगेपछि बाँदरले झोला च्यातचुत परेर नोट उडाउन थाल्यो । त्यहाँ बाँदरले उडाएका नोट बटुल्ने मानिसको भिड लाग्यो ।
भारतीय अनलाइन दैनिक भास्करका अनुसार घटना बुधबारको हो । पीडित मानिस काम विशेषले नोटसहितको झोला बोकेर अदालतमा आएको थियो । अदालत परिसरमा आउने बित्तिकै बाँदरले झोला खोसिदियो । झोला खोसिएपछि उक्त मानिसले होहल्ला गर्यो । यो सुनेर मानिसहरूले बाँदरको पिछा गरे । बाँदर रूखमा चढ्यो । रूखमा बसेको बाँदले झोला च्यातेर नोट उडाउन थाल्यो । अदालत परिसरमा नोटको वर्षा देखेर सयौं मानिस जम्मा भए ।
बाँदरलाई रिझाउन मानिसले खानपिनका सामान रूखतिर फाले पनि उसले झोला छाडेन । उसले निरन्तर नोट उडाइरह्यो । पीडित मानिसले नोट जम्मा गर्दै गयो । अरूहरूले पनि उसको मदत गरे । कतिपयले भने नोट टिपे पनि उसलाई दिएनन् । उसले जम्मा ५७ हजार फेला पार्यो, ८ हजार नोक्सानी सहनुपर्यो ।
प्रकाशित समय १३:३९ बजे