fbpx
Nepal Mediciti

गृहपृष्ठ लाभका लागि वास्तु विचार

लाभका लागि वास्तु विचार

ठुलो लागतको पसलले ब्याज पनि धान्न सकेन भने मानिस चिन्तित हुन थाल्छन् । सहरका ६० प्रतिशत पसल चौबाटो वा चोकमै केन्द्रित हुन्छन् भने ससाना गल्लीमा पनि रहेका हुन्छन् । हरेक पसलेले पसलमा दैनिक रूपमा सरसफाइ गरी धूप सल्काएर व्यवसायलाई ईश्वरको स्थान दिँदै नमस्कार गरेर आफ्नो आसनमा बस्छन् ।

वास्तुअनुसार सरसफाइ र बस्ने स्थानबारे ध्यान पु-याई दैनिक पालना गर्ने हो भने आम्दानी पनि बिस्तारै उकालो लाग्दै जान्छ । हिजोआज सबैले वास्तुलाई महत्व दिन थाले पनि पालनामा ध्यान पु-याएको पाइँदैन । पसल सुसञ्चालनका नियमहरू झर्को नमानी पालना गर्ने पसलेलाई अवश्य लाभ हुन्छ । केही महत्वपूर्ण तरिका यस प्रकार छन्–

पसल सफा गरिसकेपछि फोहोर सडक वा अरूको पसलतिर नफालियोस् । यसो गरियो भने पसलले धोका दिन बेर लाउँदैन । फोहोरलाई आफ्नै पसलको दक्षिण–पश्चिम पट्टि कुनै भाँडामा बन्द गरेर राखियोस् । फोहोर धेरै भएपछि फोहोर संकलकलाई दिइयोस् वा आफैं कसैलाई बाधा नपर्ने स्थानमा विसर्जन गरियोस् ।

फोहोरलाई बजार क्षेत्र, चौराहा, सडकका गमलामा विसर्जन गरियो भने त्यस क्षेत्रकै व्यवसायमा नकारात्मक प्रभाव पर्छ । चौराहाको मध्य भाग वा घरको मध्य भागलाई ब्रह्म क्षेत्र मानिन्छ । त्यस्तो क्षेत्रलाई पवित्र राख्न सकिएन भने स्वास्थ्य र धन दुवैको क्षय हुन्छ । आफ्ना छिमेकी पसलेहरूलाई पनि यो जानकारी दिनुपर्छ ।

जथाभावी फोहोर छर्नाले वातावरणमै नराम्रो असर गर्छ । फोहोर स्थानमा मानिसलाई बस्न मन लाग्दैन । त्यस्तो स्थानमा बस्ने मानिसको मनस्थिति पनि ठिक रहँदैन । पसलमा बस्दा सदैव पूर्व वा उत्तरतिर फर्केर बस्ने बानी गरियोस् । यसरी बस्दा ग्राहकले धेरै मोलमोलाइ पनि गर्दैनन् तथा उधारो माग्ने सम्भावना पनि कम रहन्छ ।

कुनै घर वा पसल भाडामा दिइन्छ भने पनि त्यसबाट लाभ प्राप्त हुन्छ । ठाउँले मात्र पनि लाभ भएको हुन्छ । कहिलेकाहीँ लोभबस जमिन अतिक्रमण गर्दै घर वा पसल दायाँबयाँ वा अगाडि बढाउने काम गरिन्छ । यसो गर्नु पनि वास्तु विपरीत हुन जान्छ र आम्दानीमा पनि विपरीत असर पर्न सक्छ ।

पसलको सामुन्ने ठेला व्यापारी बस्न सक्छन् । कतिपय ग्राहक ठेलामा प्रभावित भई बाटैबाट फर्कन सक्छन् भने कतिपयलाई पसलमा छिर्न असजिलो अवस्था आउन सक्छ । यसले आम्दानीमा धक्का दिन्छ । त्यसैले धुमुवा व्यापारीको व्यवस्थापन पनि चतुरतापूर्वक गरियोस् ।

प्रकाशित समय १४:५० बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु