fbpx
corona information

गृहपृष्ठ शुक्लाफाँटामा अपांगता भएका व्यक्तिको भत्ता दोब्बर

शुक्लाफाँटामा अपांगता भएका व्यक्तिको भत्ता दोब्बर

शुक्लाफाँटा नगरपालिका–८ स्थित बैजनाथ सामुदायिक वन उपभोक्ता समूहले अपांगता भएका तथा फरक क्षमता भएका उपभोक्तालाई उपलब्ध गराउँदै आएको भत्ताको रकम दोब्बर बनाएको छ ।

सामुदायिक वनले स्थापना गरेको राहत कोषबाट १६ जना अपांगता तथा फरक क्षमता भएका व्यक्तिलाई रु एक हजारका दरले मासिक भत्ताको रकम उपलब्ध गराउँदै आएको थियो । भत्ताको रकममा वृद्धि गरी चालु आवमा रु दुई हजार पुर्‍याइएको छ ।

सामुदायिक वनको हालै सम्पन्न १९औँ साधारणसभाबाट अपांगता तथा फरक क्षमता भएका व्यक्तिलाई मासिक रुपमा प्रदान गरिँदै आएको भत्ताको रकम बढाउने निर्णय गरेको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले जानकारी दिए ।

‘सामुदायिक वनको राहत कोषबाट भत्ताको रकम पाउँदै आएका उपभोक्तालाई नवीकरण र सूचीकृत हुन सूचना जारी गरिएको छ’, उनले भने, ‘चालू आवदेखि २० देखि २५ जना सम्मलाई भत्ताको रकम उपलब्ध गराउने लक्ष्य छ ।’

सूचीकृत हुनका लागि मागिएको कागजपत्रको आधारमा भत्ताको रकम उपलब्ध गराउने व्यवस्था गरिएको अध्यक्ष महराको भनाइ छ । भत्ता प्राप्त गर्नेमा ८० वर्षीय ज्येष्ठ नागरिकदेखि पाँच वर्षका बालबालिकासमेत रहेका छन् । दृष्टिविहीन श्रीराम जोशीले बिना झन्झट सामुदायिक वनले भत्ताको रकम उपलब्ध गराएर गुन लगाएको बताए ।

‘घरमै पुगेर मासिक रुपमा सामुदायिक वनका पदाधिकारीले भत्ताको रकम उपलब्ध गराउँदै आउनु भएको छ’, उनले भने, ‘भत्ताको रकम पाउँदा वर्षभरिको लुगाफाटो र औषधोपचारलाई आवश्यक खर्च चलेको छ ।’

सामुदायिक वनले सुरुमा अपा‌ंगता भएका र फरक क्षमता भएका उपभोक्तालाई रु तीन सय र त्यस पछि रु एक हजार दिने गरेकोमा हाल भत्ताको रकम वृद्धि गरी रु दुई हजार पुर्‍याएको छ ।

सामुदायिक वनले बौद्धिक, शारीरिक, मानसिक अपांगता भएका र दृष्टिविहीनलाई भत्ताको रकम दिँदै आएको छ । आव २०७३/७४ देखि सामुदायिक वनले अपांगता भएकालाई राहत कोष खडा गरी भत्ता दिँदै आएको छ । कोषमा काठ, दाउरा, घाँस उपभोक्तालाई बिक्री गरी आउने रकममध्ये पाँच प्रतिशत रकम राख्ने व्यवस्था गरिएको छ ।

विसं २०५८ मा स्थापना भएको सामुदायिक वनमा ५९६ उपभोक्ता रहेका छन । सामुदायिक वन २८८ दशमलव ६७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । (रासस)

प्रकाशित समय १८:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु