fbpx
Nepal Mediciti

गृहपृष्ठ कञ्चनपुरमा गिद्धको संख्या बढ्दै, संरक्षणमा स्थानीयबासीको मुख्य भूमिका

कञ्चनपुरमा गिद्धको संख्या बढ्दै, संरक्षणमा स्थानीयबासीको मुख्य भूमिका

कञ्चनपुरमा प्रकृतिको कुचीकार मानिने पंछी गिद्धको संख्या बढ्दै गएको पाइएको छ । वातावरणीय प्रदूषणबाट मानव जातिलाई बचाउन सहयोग गर्ने निर्दोष पंछी संख्या बढ्नुलाई वातावरणविदहरुले सकारात्मक संकेत भनेका छन् ।

स्थानीय बासिन्दामा गिद्ध जोगाउनु पर्ने जनचेतना बढेसंँगै गिद्धको संख्यामा बृद्धि हुन थालेको हो । बास स्थानको सुरक्षा हुन थालेपछि गिद्धले सहज रुपमा बस्ती नजिकैका क्षेत्रमा गुँड लगाएर बच्चा हुर्काउन थालेका छन् ।

नेपाल पंछी संरक्षण संघका हिरुलाल चौधरीका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर पोष्ट नजिकको क्षेत्रमा १२, हिरापुर फाँटामा ६ र निकुञ्जकै मध्यवर्ती क्षेत्र बन्साहामा ८ गुँड गिद्धले लगाएको पाईएको छ । गिद्ध सर्भेक्षणका क्रममा गिद्धका गुँडहरु पाईएका हुन् ।

सबैभन्दा बढी गिद्धले लालझाडी मोहना संरक्षण क्षेत्रको पर्सियामा २१ वटा गुँड लगाएका छन् । उक्त संरक्षण क्षेत्रमा डंगर जातका गिद्धका दुई बच्चा विरामी अबस्थामा फेला परेकाले उपचार भैरहेको उनले बताए । ‘जाडोयामका बेला गिद्ध विरामी हुने क्रम देखिन्छ, विस्तारै निको हुने गरेका छन्, ‘उनले भने ।

हुर्किने क्रममा बच्चा उडन नसक्दा घाईते भइ बिरामीसमेत हुने गरेका छन् । निकुञ्जको हिरापुर फाँटामा सानो खैरो गिद्ध मरेको अबस्थामा फेला परेको र निकुञ्जकै कालीकिच क्षेत्रमा विरामी परेको गिद्ध निको भएर उडेको उनले बताए । संरक्षण संघले गरेको सर्भेक्षणमा कञ्चनपुरमा गत बर्ष १ सय १९ गिद्ध फेला परेका थिए ।

यसवर्ष गिद्धको संख्यामा बढोत्तरीभै १ सय ५० देखि दुई सयको हाराहारीमा पुगेको हुन सक्ने चौधरीको भनाइ छ । विश्वमा गिद्धका २३ प्रजाती पाईने गरेपनि नेपालमा गिद्धका नौ प्रजाती मात्रै पाइने गरेका छन् । कञ्चनपुरमा डंगर, सानो खैरो, सुन गिद्ध, राज गिद्ध र हिमाली गिद्धलगायत सात प्रजातीका पाइने गरेका छन् ।
मानवीय सचेतनासँगै जथाभावी फालिने सिनो गाड्ने तथा व्यवस्थित रुपमा राख्न थालिएपछि जिल्लामा गिद्धलाई आहारा नपुगेको र जनसंख्या वृद्धिसँगै मानवीय अतिक्रमण बढ्दै गएकाले गिद्धको संख्या कम हुँदै गएको अनुमान गरिएका बेला कञ्चनपुरमा गिद्धको संख्या बढ्दै गएको पाइएको हो ।

गिद्ध धेरै चिसो र गर्मी मौसममा बसोवास गर्ने पंछी हो । नेपाल सरकारले गिद्ध संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित समय १३:३४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु