fbpx
newskarobar-job-vacancy
NIC ASIA- magh 1

गृहपृष्ठ कार्यसूची नहुँदा विज्ञ समूह निष्क्रिय

कार्यसूची नहुँदा विज्ञ समूह निष्क्रिय

समूह काठमाडाैँकेन्द्रित भएको आरोप

विज्ञ समूहको बैठक (फाइल फोटो) ।

पूर्वमन्त्री जनार्दन शर्माको संयोजकत्वमा करिब डेढ वर्षअघि गठन भएको कर्णाली प्रदेश विज्ञ समूह निष्क्रिय छ । कर्णालीबाहिरका समेत केही विज्ञ राखेर गठन गरिएको सो ११ सदस्यीय समूह स्पष्ट कार्यसूची नहुँदा निष्क्रिय बनेको हो ।

प्रदेश सरकारले निर्माण गर्ने नीति तथा कार्यक्रममा सुझाव दिन गठन भएको विज्ञ समूह निष्क्रिय रहेको उदाहरण धेरै छन् । यसमध्ये गत चैत्र १२ गते कर्णाली प्रदेश संसद सचिवालयमा दर्ता भएको ‘प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ एउटा हो । उक्त विधेयकको सिलसिलेवार नमिलेपछि ६ महिना बितिसक्दा पनि राजपत्रमा प्रकाशित हुन सकेको छैन । सामाजिक संघसंस्था सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७४ पनि प्रदेशको अधिकार क्षेत्रभित्र नपर्ने भएकाले फिर्ता भएको छ ।

कर्णालीमा कानून निर्माण गर्ने विषयमा समेत प्रशस्त त्रुटि भएका छन् । विज्ञ समूहका सदस्यहरु काठमाडौँकेन्द्रित बनेको आरोप लाग्ने गरेको छ । तीन महिनायता समूहको बैठक नै बस्न सक्नुले पनि सो आरोपलाई थप पुष्टि गरेको छ । समूहमा एकजना पनि महिला समावेश नगरिएको र सांसदका कुरासमेत विज्ञहरुले बेवास्ता गरेकोप्रति गुनासो हुने गरेको छ ।

समूहका सदस्य डा. सुरेश तिवारीले प्रदेश सरकारले स्पष्ट कार्यसूची नै नदिएको बताए । विज्ञ समूहको काम नीति निर्माणमा सरकारलाई सुझाव दिने मात्र भएको तर जनता तथा प्रतिनिधिले बढी अपेक्षा गरेका उनको भनाइ छ । आफू स्वास्थ्य क्षेत्रको विशेषज्ञ भएको हैसियतले कर्णालीमा यससँग सम्बन्धित नीति निर्माणमा सुझाव दिँदै आएको उनले बताए ।

‘प्रदेश सांसद ज्युहरु असन्तुष्ट हुनु स्वभाविक हो,’ उनले भने, ‘तर विज्ञ समूहको कार्यसूची सरकारले बनाइदिए हामीहरुलाई काम गर्न सहज हुने थियो । स्पष्ट कार्यदिशा नहुँदा काम गर्न समस्या भएको हो ।’ हालसम्म सरकारले अनुरोध गरेको विशेषज्ञीय कामलगायत प्रदेशमा कर्मचारी संरचनाजस्ता विषयमा सुझाव दिने काम भइरहेको उनले जानकारी दिए ।

कर्णालीवासी भएको नाताले आफू विज्ञ समूहमा नहुँदा पनि प्रदेशका लागि आफ्नो विशेषज्ञता अनुसारको सुझाव दिन कञ्जुस्याइँ नगर्ने उनले बताए । विज्ञ समूह एउटा अवैतनिक समूह भएकाले यसले स्वयंसेवकको रुपमा काम गर्नुपर्ने र आलोचना पनि खेप्नुपर्ने सबैभन्दा ठूलो चुनौती भएको उनको भनाइ छ । ‘विज्ञ समूहका सबै साथीहरु कर्णालीवासी हुनुहुन्न । स्वयंसेवकका रुपमा अन्य प्रदेशका साथीहरुलाई काम गराउन पनि नैतिक रुपमा अप्ठ्यारो छ,’ उनले भने ।

उनले समूह बढी काठमाडाँैकेन्द्रित भएको आफूले पनि महसुस गरेको बताए । समग्रमा विज्ञ समूहले अपेक्षाकृत काम गर्न नसकेको उनले स्वीकारे । कर्णाली प्रदेश विज्ञ समूहको कार्यसूची के हो ? भन्ने विषयमा एकपटक बहस हुनु जरुरी भएको डा. तिवारीको भनाइ छ ।

कार्यविधि, स्रोत र प्रशासनिक रुपमा पनि विज्ञ समूह सञ्चालन गर्न समस्या भएको उनले सुनाए । अन्य केही प्रदेशले नीति निर्माण गर्ने विषयमा विज्ञ समूहको सुझावकै कारण उत्कृष्ट नतिजा हासिल गरिरहेको तिवारीले बताए । उपयुक्त कार्यसूची दिएर विज्ञ समूहबाट सुझाव लिने हो भने कर्णालीमा पनि अपेक्षित नतिजा सम्भव हुने उनको भनाइ छ ।

प्रकाशित समय १७:०५ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु