fbpx
Rashifal Ad

गृहपृष्ठ नीति निर्माण प्रक्रियाप्रति युवाको गुनासो

नीति निर्माण प्रक्रियाप्रति युवाको गुनासो

नेत्रहीन संघ सुर्खेतकी सोमना खड्काले आइतबार नेपाल युवा संस्था आयोन नेपालले आयोजना गरेको ‘नीति समीक्षा कार्यशाला’मा खुलेर आफ्नो कुरा राखिन् । युवाहरुको वास्तविक समस्या र आवश्यकताको विषयमा युवाहरुले मात्रै बोल्नसक्ने उनको तर्क थियो ।

कर्णाली प्रदेश सरकारले निर्माण गरेको ‘प्रदेशमा स्वास्थ्य सेवा प्रवाह सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’माथिको समीक्षा कार्यक्रममा उनले नीति निर्माण गर्नुभन्दा पहिले युवाहरुसँग समन्वय गर्नुपर्नेे बताइन् । उनले विद्यालयका बालबालिकाहरुलाई समेत समेटेर कानून निर्माण गर्नुपर्ने बताइन् ।

‘बालबालिकाहरुलाई विद्यालयभित्रै स्वास्थ्य सेवा प्रदान गर्नुपर्छ,’ उनले भनिन्, ‘कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले निर्माण गरेको विधेयकले विद्यालय समयका बालबालिकालाई समेटेको छैन । जसका कारण उपचारको लागि विद्यालय छोड्नुपर्ने बाध्यता छ ।’

युवा नेतृ विनिता बोगटीले युवाहरुलाई सहभागी नै नगराई कानून निर्माण गर्दा दिगो विकासको परिकल्पना गर्न नसकिने बताइन् । आजको समाजको आवश्यकता के हो भन्ने विषयमा युवाहरु नै बढी जानकार हुने भएकाले पनि कानून निर्माणमा उनीहरुको भूमिका महत्वपुर्ण हुने बोगटीले भनाइ राखिन् ।

वीरेन्द्रनगर– ९ का टम चौधरीले विधेयकमा समेटिएको ‘एक वडा, एक स्वास्थ्य संस्था’ले नागरिकलाई असहज हुने बताए । ‘धेरै वडाहरु विकट छन् । एक वडा, एक स्वास्थ्य संस्था अवधारणाले सबै नागरिकलाई पायक नपर्न सक्छ,’ उनले भने । ‘एक वडा’को सट्टा ‘आवश्यकताअनुसार’ शब्द राख्नुपर्ने उनको सुझाव थियो ।

कार्यक्रममा सहभागी अधिकांशले नीति निर्माणमा युवाहरुलाई सहभागी गराउनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष घनश्याम केसीले कर्णालीका अधिकांश स्वास्थ्य संस्थाहरु कार्यालय सहयोगीको भरमा चलेको विषयमा सरकारले चासो राख्नुपर्ने बताए । नागरिक अगुवा पिताम्बर ढकालले कर्णालीको स्वास्थ्य सेवा प्रवाहसम्बन्धी विधेयक उत्कृष्ट बने पनि युवाहरुलाई समेट्न नसकेको बताए । कर्णालीको सबै जिल्लाहरुमा पर्याप्त औषधी नपुग्ने समस्या भएकाले यसलाई समेत कानुनले समेट्नुपर्ने बताए ।

कर्णाली प्रदेश सभा सामाजिक विकास समितिका अध्यक्ष राजु नेपालीले विधेयकको दफावर छलफलमा युवाका कुरालाई समेट्नेगरी छलफल अगाडि बढाइने बताइन् । उनले युवाहरुलाई हरेक क्षेत्रमा सहभागी गराउने कुरामा समिति लाग्ने बताइन् । कार्यक्रममा बोल्दै नेपाल युवा संस्था आयोनका महासचिव निरज बागले अझै पनि नीति निर्माणमा राज्यको उच्च पदस्थले युवालाई सम्झन नसकेको बताए । उनले आयोन यस विषयमा वर्षौंदेखि वकालत गरिरहेको जानकारी गराए ।

प्रकाशित समय १८:३२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु