fbpx
Nepal Mediciti

गृहपृष्ठ जाजरकोटको तुइनले प्रधानमन्त्रीलाई गिज्याउँदै

जाजरकोटको तुइनले प्रधानमन्त्रीलाई गिज्याउँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले तुइन विस्थापित गर्ने भाषण धेरै ठाउँमा धेरैपटक गरिसके । कतिपय भाषणमा त उनले तुइनबाट आवत–जावत गरेको हालसालैको फोटो ल्याउनेलाई पुरस्कार दिएर पठाउनेसम्म भ्याए । तर, दुर्गम पहाडी जिल्ला जाजरकोटको विकट बस्तीमा अहिले पनि तुइनमा झुन्डिएर स्थानीयले नदी वारपार गर्नुपर्ने बाध्यता छ । नलगाड नगरपालिका–१ ठुलाबगरकी ४१ वर्षीया हस्तकला घर्ती घरबाट दैनिक तरकारी बिक्री गर्न रिम्नाबजार जान्छिन् । तुइनमा झुण्डिएर जाँदा बाँचिन्छ, कि बाँचिदैन भन्ने डरले उनको सातो जाने गरेको छ । बजार जानलाई सहज बाटो छैन । त्यस्तै गरी सोही ठाउँकी गोलाबी पुन, पठवीर पुन, टबबहादुर घर्ती र अमर पुनलगायत स्थानीय तुइनको भरमा नदी वारपार गरी बजार आउजाउ गर्न बाध्य छन् । ठूलाबगरका स्थानीयका लागि सदरमुकाम खलङ्गा तथा स्थानीय बजार पुग्न जोखिमपूर्ण तुइन चढ्नै पर्ने बाध्यता छ ।

उनीहरु मात्र हैन । वर्षौंदेखि सयौँ स्थानीय तुइनबाटै जोखिम मोलेर भेरी नदी वारपार गर्दै आएका छन् । आठवीसकोट नगरपालिका–१४ का सिर्जना आधारभूत विद्यालयका शिक्षक ज्ञानबहादुर घर्तीले भने, ‘ठूलाबगर, खर्चा, दम्सीला, भित्रखोला, ओडारा, पालीलगायत गाउँका १०० घरपरिवार स्थानीय प्रविधिबाट निर्मित तुइनकै भर वारपार गर्न बाध्य हुनुपरेको छ ।’

त्यस्तै पश्मिरुकुमको पिपलचौर, छोटेतरा, छेपारे, चाख्लेमेलालगायत ठाउँका बासिन्दा पनि उक्त तुइनको सहयोगले भेरी नदी वारपार गर्दै आएका छन् । स्थानीय प्रविधिबाट काठले बनेको ढुङ्ग्रोमा बसी फलामको डोरीमा झुण्डिएर १०० मिटर चौडा भेरी नदी वारपार गर्ने गरेको स्थानीयको भनाइ छ । तुइन तरेरै जिन्दगी बित्न थालेको स्थानीयवासी बताउँछन् । पुल बनाइदिन विभिन्न निकायसँग आग्रह गर्दा पनि कसैले नसुनेको स्थानीयको गुनासो छ । पुल भएको स्थानसम्म पुग्न डेढ घण्टा समय लाग्छ । त्यो पनि जोखिमपूर्ण भिरको बाटो छ । उक्त अप्ठेरो बाटोबाट लडेर कतिको ज्यानसमेत गइसकेको छ ।

भेरी नदीमा पुल बनाई दिन विभिन्न निकायमा पटक–पटक आग्रह गरे पनि राजनीतिक पहँुच नहुँदा सम्बन्धित निकायको ध्यान नपुगेको ठूलाबगरवासीको गुनासो छ ।

उता, नलगाड नगरपालिकाको दुई स्थानमा तुइन सञ्चालनमा छ । नगरप्रमुख टेकबहादुर रावलका अनुसार वडा नं १ को ठूलाबगर र वडा नं ८ मैदे मालुवातरामा तुइन सञ्चालनमा छन् । पुल बनाउन नगरको बजेटले नभ्याउने हुँदा सङ्घीय सरकारसँग माग गरे पनि अहिलेसम्म कुनै सुनुवाइ नभएको नगरप्रमुख रावलले बताए ।

प्रकाशित समय १२:१९ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु