fbpx
Nepal Mediciti

गृहपृष्ठ कारागारभित्रको जीवन : पछुताउँदै अनि सुध्रने संकल्प गर्दै

कारागारभित्रको जीवन : पछुताउँदै अनि सुध्रने संकल्प गर्दै

चारैतर्फ पर्खाल र प्रहरीको कडा सुरक्षाभित्र छन् झुम्का कारागारका १ हजार ७ सय २० कैदीबन्दी । विभिन्न अपराधिक कसुरमा सजाय पाएका उनीहरु यही पर्खाल र प्रहरीको सुरक्षा घेराभित्र कैदी जीवन व्यतीत गरिरहेका छन् ।

झापा– १० काँकडभित्ता मेचीनगर नगरपालिकाका सार्की तामाङ कुनै बेला गरेको सानो गल्तिमा अहिले पछुताइरहेका छन् । फेरि त्यस्तो गल्ती जीवनमा कहिल्यै नदोहोर्‍याउने उनको संकल्प छ ।

लागूऔषध ओसारपसार कसुरमा २५ वर्षदेखि कारागारमा कैदी जीवन बिताउँदै आएका तामाङ चुरोट खाने मान्छे लागूऔषध प्रयोगकर्ता बन्नसक्ने हुँदा नसाजन्य पदार्थ नखान अरुलाई सल्लाह दिन्छन् । भन्छन्, ‘अन्जानमा गरेको सानो गल्तिले म पछुताइरहेको छु । लागूऔषध सेवनले आफूलाई मात्र नभई समाजलाई नै नोक्सान पुर्‍याउने रहेछ । स्वास्थ्यमा समेत असर पर्छ । त्यसैले कसैले झुक्किएर पनि लागूऔषध सेवन नगर्नुहोस् भन्न चाहन्छु ।’

अपराधिक दुनियाँमा रमाएका व्यक्तिहरु त्यस्ता घटनाहरुलाई सामान्य लिन्थे । विगतका गल्ति र अपराधले आफ्नो जीवन बर्बाद भएकोमा अहिले भने उनीहरुलाई ग्लानि छ । विगतमा गरेका गल्ति र अपराध भूल्न र मनलाई शान्ति दिलाउन कठिन भएको उनीहरु बताउँछन् ।

पैसा कमाएर घर परिवारलाइ सुखमा राख्ने ठूलो सपना थियो । तर साथी संगतको कारण गरेको गल्तिले अहिले यो परिणाम भोग्नु परेकोमा उनीहरुलाई पश्चाताप छ । उनै तामाङ ‘नराम्रो काम नगराँै, देशको निम्ति सकेको गरौँ’ भन्ने सकरात्मक सन्देश सबैलाई सुनाउँछन् ।

त्यस्तै लागूऔषध कारोबारमा जेल सजाय भोग्दै आएका धरानका रामकुमार बुढाथोकी अब आफ्नो जीवनलाई समाजसेवामा लगाउने बताउँछन् । कारागारबाट मुक्त भएकै भोलिपल्टदेखि युवायुवतीलाई लागूऔषध सेवन गर्दा हुने हानि र सजायको विषयमा जानकारी गराउँदै त्यस्तो कुलतबाट जोगाउने लागिपर्ने उनको योजना छ ।

उनले भने, ‘अहिले सजाय भोगिरहेको छु । यो सजाय मेरो लागि ठूलो पाठ भएको छ । मेरो यो सुध्रिने मौका हो भन्ने मैले ठानेको छु । अब यहाँबाट मुक्त हुनेबित्तिकै लागूऔषधका विरुद्धमा अभियान सञ्चालन गर्ने सोच छ ।’

आफ्नो अपराधमा प्रायश्चित गर्दै क्षमताअनुसारको सीप सिकेर कारागारभित्रै कमाइ गरिरहेको कैदीबन्दीलाई कैद भुक्तानीभन्दा पनि कारखानामा काम गर्न आएजस्तो भएको छ । जेल जीवन बिताइरहेका दर्जनौं कैदीबन्दी किताब पढ्दै र उद्यम गरी राम्रो कमाइ पनि गरिरहेका छन् ।

विभिन्न कसुरमा जेल जीवन बिताउँदै आएका कैदीबन्दी अहिले कारागारभित्र सीप सिकेर आर्यआर्जनमा व्यस्त रहेका छन् । उनीहरु घरायसी प्रयोगका सामान निर्माण गर्नुका साथै बजारीकरणका लागि चिन्तित हुने गरेका छन् । जेल जीवन भन्नेबित्तिकै ‘दिक्कलाग्दो होला’ भनेर सोच्ने कुनै समय थियो । तर अहिले कारागारहरु सीप सिकेर उद्यमी बन्ने र जीवन निर्वाह गर्ने आधार तय गर्ने स्थानसमेत भएको छ ।

कारागारमा कैदी जीवन बिताउँदै आएकाहरु अब छुटेर जाँदा पनि समाजले आफूलाई हेर्ने दृष्टिकोणकै कारण जिन्दगीभर पछुताउनु पर्ने उनीहरुको चिन्ता छ ।

प्रकाशित समय १६:०८ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु