fbpx
Nepal Mediciti

गृहपृष्ठ रेल सञ्चालनमा नआई भत्कियो नाला

रेल सञ्चालनमा नआई भत्कियो नाला

निर्माण कार्य अन्तिम चरणमा पुगेको मोरङको बुधनगरस्थित रेल्वे मार्गमा रेल सञ्चालनमा नआई नाला भत्किएको छ । गत शनिबार राति परेको असिना पानीपछि आएको बाढीले विराटनगर– १८ बुधनगरमा निर्माणाधिन रेलवे लिकको नाला भत्काएको हो ।
असिना पानीले विराटनगर क्षेत्रमा सामान्य प्रभाव पारे पनि गुणस्तरहीन सामग्रीका कारण निर्माणाधीन विराटनगर बनथाहा रेल्वे लिकको बीचमा पानी बग्न बनाएको नाला भत्किएको छ । ‘कम्पाउण्ड वाल’ को प्लास्टरसमेत उप्किएको छ । रेलवेको नाला १८० मिटर भत्किएको छ ।
गुणस्तरलाई ध्यान नदिई हतारमा नाला निर्माण गरिएकाले भत्किएको स्थानीयले आरोप लगाएका छन् । निर्माण कम्पनीले भारततर्फ रेल्वेको काम गुणस्तरीय गरेको र नेपालतर्फ भने कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन कार्य गरेको उनीहरुको भनाई छ । स्थानीय युवराज शाहले भने ‘उता भारतपट्टि निकै समय लगाएर नाला बनाए । त्यता केही भएको छैन । नेपालपट्टि कमसल वस्तु प्रयोग गरिएकाले भत्किएको हो ।’
भारत सरकारको लगानीमा भारतको बथनाहादेखि कटहरीसम्म १८ दशमलव ६ किलोमिटर रेलमार्गको निर्माण कार्य भारतको इरकोन कम्पनीले गरिरहेको छ ।
इरकोनले रेलमार्गमा नाला तथा अन्य अन्य संरचना निर्माणको काम भारतकै वाग्मती कन्स्ट्रक्सनंमार्फत गराइरहेको छ । वाग्मती कन्स्ट्रक्सनका प्रतिनिधी सञ्जिव देवले भने नाला निर्माणमा कमसल वस्तुको प्रयोग भन्नु गलत भएको बताए ।
‘त्यो दिन ठूलो आँधी हुरीसहित असिना पानी प¥यो । जसले गर्दा कम्पाउण्ड वालमा समेत क्षति पुगेको छ । नाला भर्खर निर्माण गरिएको हुनाले सुक्नै पाएको थिएन । त्यसमाथि रेल्वे लिकका ठूल्ठूला फलामको वजन नालाले थाम्न नसकेर भत्कियो,’ उनले भने, ‘हस्तान्तरण नभएसम्म ठेकेदारकै सम्पूर्ण जिम्मा हुने हुनाले यसको पुननिर्माण गर्नै पर्छ ।’
इरकोन इन्टरनेशनलले ३ अर्ब ८० करोड ८० लाखमा ठेक्का लिई काम गरिरहेको छ । नेपाल र भारत सरकारबीच सन् २०१० मा विभिन्न ५ स्थानमा रेलमार्ग विस्तार गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
जसअनुसार यसको सम्पूर्ण खर्च भारत सरकारले बेहोर्ने र नेपालतर्फको जमिनको मुआब्जा नेपाल सरकारले ब्यहोर्ने समझदारी भएको थियो । समझदारी अनुसार २०१८ सम्ममा सो रेलमार्गको काम सक्नुपर्ने भए पनि मुआब्जा विवादका कारण ढिलाई हुँदै आएको छ ।
निर्माण कम्पनीले भारतको बथनाहादेखि मोरङको कटहरीसम्म निर्माण गरिने रेलमार्गको विराटनगर १८ लावाघाटसम्म ७ दशमलव ६ किलोमिटर रेल्वे लिक निर्माणको काम सकेको छ ।

प्रकाशित समय १७:१४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु