fbpx
Dashain shuvakamana-long ad
corona information

गृहपृष्ठ प्रदेश २ मा संसदीय दलको नेताका लागि दौडधुप

प्रदेश २ मा संसदीय दलको नेताका लागि दौडधुप

मुख्यमन्त्री राउतको नेतृत्वमा सरकार असफल भएको भन्दै २३ सांसद असन्तुष्ट

जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ मा बढ्दो महत्वाकांक्षीका कारण नेताहरुबीच ठूलो विवाद भइरहेको छ । प्रदेश २ मा ५५ जना प्रदेशसभा सांसद रहेको जसपा पार्टीभित्र आगामी मुख्यमन्त्री बन्ने सपनाका साथ संसदीय दलको नेता बन्नेहरुको हानाथाप चल्दै आएको छ ।

तत्कालिन समाजवादी पार्टी उपेन्द्र यादव र ६ दलको पार्टीका राजपा मिलेर बनेको जनता समाजवादीमा दलका नेताहरुबीच विवादले एकअर्कामा बोलचालसमेत बन्द भएको नेताहरु बताउँछन् । ‘एक नेताले अर्को नेतालाई हेर्नै सकेको छैन । मधेशका झन्डै ७ पार्टी मिलेर बनेको जसपाका नेताहरु एकले अर्कोलाई सिध्याउने खेलमा लागेको पार्टीकै शीर्ष नेताहरुको आरोप छ ।

पार्टी भित्रको गुट र उपगुटले चरम सीमा नाघेपछि महिनौंसम्म प्रदेश २ ले जसपाको संसदीय दलको नेता चयन गर्न सकेको छैन । संसदीय दलको नेता नै प्रदेश २ को मुख्यमन्त्री हुने प्राब्धानले गर्दा नेताहरुबीच विवाद बढेको हो । अहिले तत्कालिन समाजवादी पार्टीका तर्फबाट मुख्यमन्त्री बनेका लालबाबु राउतको नेतृत्वको प्रदेश २ सरकार असफल भएको भन्दै सरकार फेर्न प्रदेशकै २३ जना सांसदहरुले पार्टी नेतृत्व समक्ष असन्तुष्टि जाहेर गर्दै जोडदार रुपमा माग नै गरेका छन् ।

राउत नेतृत्वको सरकारले भ्रष्ट्राचारमा लिप्त भएपछि जनताको भावनाअनुसारको काम हुन नसकेर प्रदेश २ गठन भएको अनुभूति हुन सकेको नसकेको सत्ताधारी जसपाकै सांंसदहरुको आरोप छ । राउत नेतृत्वको सरकार फेर्नुपर्नेमा सत्ताधारी प्रदेश २ का अधिकांश मन्त्रीहरुदेखि सांसद र नेताहरुसमेत सहमत देखिएका छन् ।

पछिल्लो पटक प्रदेश २ को संसदीय दलका नेता चयन गर्ने विषयमा विवाद भएपछि चुनाव गर्ने निर्णयमा पार्टीको केन्द्रिय समितिको बैठकबाट सहमति भएको छ । दलको नेता चयनका लागि कार्यविधि बनाउन ५ जना प्रदेश सांसद सम्मिलित एक टोली नै जसपा पार्टीले बनाएको छ ।

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकीकरण भएपछि पहिलो पटक जसपाका अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा संसदीय दलको बिहीबार बसेको संयुक्त बैठकमा कार्यविधि बनाउन प्रदेश सांसद रामअशिष यादव, मनिष सुमन, रानी शर्मा, उपेन्द्र महतो र परमेश्वर साह सम्मिलित कार्यदल गठन गरेको छ । गठित कार्यदलले संसदीय दलको नेता चयनका लागि कार्यविधि बनाएर केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्नेछ ।

पार्टी एकतापछि पनि संसदीय दलका नेता र सचेतक पुरानै

राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच एकता भए पनि संसदीय नेता, उपनेता, सचेतकलगायतको विषयमा पार्टीभित्र विवादको कारणले सहमति गर्न सकेको छैन । हाल प्रदेशसभामा तत्कालिन समाजवादी पार्टीका तर्फबाट संसदीय दलका नेता लालबाबु राउत, उपनेता रामआशिष यादव, प्रमुख सचेतक शैलेन्द्र यादव र राजपा संसदीय दलका नेता जितेन्द्र सोनल, प्रमुख सचेतक प्रमेश्वर साह रहेका छन् ।

पार्टीभित्र संसदीय दलको नेतालगायतको अन्य पदको लागि चुनाव हुने निश्चित भएसँगै प्रदेश २ को वर्तमान सरकारसमेत परिवर्तन हुने देखिएको छ । अहिले प्रदेश २ मा आगामी मुख्यमन्त्रीको दौडमा रामआशिष यादव, जितेन्द्र सोनल, मनिष सुमन, उपेन्द्र महतो र विजय यादवलगायतको चर्चा रहेको छ ।

प्रकाशित समय १७:०४ बजे

vayodha-hospital

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु