गृहपृष्ठ अपरिचित व्यक्तिलाई टोल प्रवेश गर्न निषेध

अपरिचित व्यक्तिलाई टोल प्रवेश गर्न निषेध

सप्तरीको एक गाउँमा प्रवेश रोक्न बाटोमा लगाइएको बार ।

कोभिड–१९को सङ्क्रमण हुने त्रासले स्थानीयवासीले अपरिचित व्यक्तिलाई टोलटोल प्रवेशमा रोक लगाउन थालेका छन् । रुपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न वडामा सङ्क्रमण बढ्ने भयले विभिन्न टोलमा स्थानीयवासीले ‘अपरिचित व्यक्तिलाई प्रवेश निषेध’ भनेर प्लेकार्ड टाँगेका छन् ।

नगरपालिका वडा नं ४ स्थित नयाँ बस्ती, हरियाली बस्ती तथा वडा नं ५ स्थित शान्ति टोल, रामबस्ती टोललगायत क्षेत्रमा बाँसका घारा तथा मुढा तेर्साएर आवतजावत गर्न रोक लगाइएको छ । शान्ति टोलका नारायण भुसालले सङ्क्रमण हुने सम्भावना बढी भएकाले यस्तो कदम चाल्न परेको उल्लेख गर्दै अत्यावश्यक एम्बुलेन्स र दूधको गाडीका लागि बाटो सहज बनाइएको बताए ।

सैनामैना नगरपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाध्यक्ष रत्नबहादुर पौडेलले बाटामा रोक लगाउने नीति नभए पनि केही व्यक्ति गैरजिम्मेवार रुपमा घुमफिर गरेकाले स्वतस्फूर्त रुपमा स्थानीयवासीले बाटामा आवतजावत गर्न रोक लगाएको हुन सक्ने बताए ।

साबुन र मास्क वितरण

रुपन्देहीको मधेसी र थारु समुदायको बाहुल्य रहेको गाउँपालिकामा स्थानीय तहले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन स्थानीयवासीलाई साबुन, मास्क र स्यानिटाइजर वितरण गरेका छन् । उक्त समुदायका व्यक्तिलाई सचेत गराउन प्रचारप्रसारको काम हुनाका साथै साबुन, मास्क र स्यानिटाइजर वितरण भइरहेको शुद्धोधन गाउँपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले जानकारी दिए ।

गाउँपालिकाले वडा नं ३ स्थित रमुवापुरमा रहेको यज्ञोदय दूधनाथ थारु बहुमुखी क्याम्पसलाई अस्थायी क्वारेन्टाइन बनाएको छ । पालैपालो रहने गरी तीन चिकित्सक र स्वास्थ्यकर्मी क्वारेन्टाइनमा रहेको गाउँपालिकाका अध्यक्ष चौधरीले जानकारी दिए ।

गैडहवा गाउँपालिकाका पनि साबुन र मास्क वितरण गरिएको छ । विभिन्न वडाका वडाध्यक्षमार्फत साबुन र मास्क वितरण भएको गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले जानकारी दिए । त्यहाँ १५ शय्याको क्वारेन्टाइनमा केही स्वाथ्यकर्मी रहने बताइएको छ ।

प्रकाशित समय १६:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु