fbpx
corona information

गृहपृष्ठ कोरोनाविरूद्ध कर्णाली सरकार : सबै उपाय प्रभावकारी रूपमा अवलम्वन गर्ने निर्णय

कोरोनाविरूद्ध कर्णाली सरकार : सबै उपाय प्रभावकारी रूपमा अवलम्वन गर्ने निर्णय

कर्णाली प्रदेशमा कोरोना भाईरस (कोभिड–१९)को रोकथाम तथा प्रतिकार्यको कामलाई थप तीव्रता दिइने भएको छ । बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा विषयगत मन्त्री र सचिवहरुको संयुक्त बैठकले हालसम्म भएका कामको समीक्षा गर्नुको साथै आगामी दिनमा प्रतिकार्यको कामलाई तीव्र र प्रभावकारी बनाउने निर्णय गरेको हो ।

बैठकमा मुख्यमन्त्री शाहीले विश्वव्यापी रुपमा देखिएको कोरोना संकटको समाधान सरकारको तत्कालीन प्राथमिकतामा रहेको बताउँदै रोकथाम तथा प्रतिकार्यको कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिएका छन् ।

विपद व्यवस्थापन कार्यकारी समिति, अनुगमन समिति, आपूर्ति समिति तथा जिल्ला र स्थानीय तहका समितिहरुलाई थप सक्रिय बनाउन र कोरोना रोकथाम तथा प्रतिकार्यलाई थप प्रभावकारी बनाउन पनि मुख्यमन्त्रीले निर्देशन दिएका हुन् ।

बैठकले स्वास्थ्यकर्मीहरुका लागि आवश्यक उपकरण, औजार, सुरक्षा सामग्री र औषधि लगायतका सामग्री तत्काल आपूर्तिका लागि संघीय सरकार, निजी आपूर्तिकर्ताहरु, बाह्य आपूर्तिकर्ताहरुलाई अनुरोध गर्नुको साथै सबै उपाय अवलम्वन गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट जुम्ला, कालिकोट, मुगु र हुम्ला हेर्ने, चौरजहारी सामुदायिक अस्पतालबाट रुकुम पश्चिम, जाजरकोट, डोल्पा र पुर्वी सुर्खेत जिल्लाको कार्यक्षेत्र तोकी जनशक्ति परिचालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै प्रतिकार्य योजनाको लागि आवश्यक आर्थिक व्यवस्थापन तथा परिचालनका लागि आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेश राजधानी र जिल्ला र स्थानीय तहमा रहेका क्वारेन्टाईनको समन्वय सहजीकरण गर्न भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसी र प्रदेश अस्पताल र जिल्ला अस्पतालहरूमा शंकास्पद बिरामीहरुलाई आईसोलेसनमा राख्ने, उपचार गर्ने तथा जनशक्ति परिचालन गर्ने कार्यको समन्वयको लागि सामाजिक विकासमन्त्री दल रावललाई जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता बिमला केसीले जानकारी दिइन् ।

यसैगरी प्रदेशका दशवटै जिल्लामा आपूर्ति व्यवस्थालाई प्रभावकारी वनाउन उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाको नेतृत्वमा रहेको समितिलाई सक्रिय बनाउने, प्रतिकार्य तथा पूर्वतयारीका कार्यहरुमा खटने समिति तथा युनिटहरुको नियमित बैठक बस्ने, प्रतिवेदन कार्यका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको नेतृत्वमा हेल्प डेस्क सञ्चालनमा ल्याउने र प्रतिवेदन समन्वय तथा सञ्चारको कामलाई विद्युतीय तथा सामाजिक सञ्जालको माध्यमबाट गर्ने निर्णय पनि बैठकले निर्णय भएको मन्त्री केसीले जानकारी दिइन् ।

प्रकाशित समय १८:५७ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु