fbpx
NIC ASIA- magh 1
can infotech 2020 Fagun 1

गृहपृष्ठ खानेपानी मन्त्रीद्वारा फोहोर प्रशोधन केन्द्रको उद्घाटन

खानेपानी मन्त्रीद्वारा फोहोर प्रशोधन केन्द्रको उद्घाटन

खानेपानी मन्त्री बिना मगरले झापाको काँकडभिट्टा र चारआलीमा अवस्थित मानव मलमुत्रीय फोहोर (दिसाजन्य लेदो) प्रशोधन केन्द्रको बुधबार उद्घाटन गरेकी छन् । संघीय सरकार र स्थानीय नगरपालिकाको संयुक्त लगानीमा निर्माण भएको उक्त  फोहोर प्रशोधन केन्द्र खानेपानी मन्त्रालयअन्तर्गत साना सहरी खानेपानी आयोजनाले पाइलट प्रोजेक्टको रूपमा निर्माण गरेको हो ।

झापाको मेचीनगर नगरपालिका- १ देखि १३ सम्मको लागि काँकडभिट्टाको पूर्व-दक्षिणमा अवस्थित मानव मलमुत्रीय फोहोर (दिसाजन्य लेदो) व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरिएको हो । हालको ६५ हजार १९ जनसंख्या अर्थात १४ हजार ८ सय ९३ घरधुरीका लागि प्रतिदिन १२ घनमिटर मानव मलमुत्रीय फोहोर प्रशोधन गर्न सक्ने केन्द्रको क्षमता रहेको योजना प्रमुख विद्यानाथ भट्टराईले जानकारी दिए ।

उनका अनुसार बायोग्यास डाइजेस्टर र ठोस पदार्थलाई सुकाइ कम्पोस्ट बनाइ मलको रूपमा प्रयोग गर्न १६ वटा ड्राइङ बेडसमेत भएको प्रशोधन केन्द्रको निर्माण लागत ६ करोड ७४ लाख रुपैयाँ रहेको छ । केन्द्रको संचालन काकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले गर्नेछ ।

मन्त्री मगरले जनताको मौलिक हकसँग जोडिएको खानेपानी र सरसफाइ क्षेत्रसँग सम्बन्धित आयोजनाहरुलाई कार्यान्वयन गर्न मन्त्रालय अघि बढिरहेको बताइन् । काँकडभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको २४औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री मगरले मौलिक हकलाई कार्यान्वयन गर्न मन्त्रालयले कार्यक्रमहरु अघि बढाइरहेको जानकारी दिइन् ।

‘विशेषगरी तराई क्षेत्रमा देखिएको आर्सेनिक लगायतका समस्या समाधान गर्न बल्क प्रणालीमा खानेपानीका केही ठूला आयोजनाहरुको काम अघि बढाउदै छौं,’ उनले भनिन्, ‘वडा, गाउँ र निर्वाचन क्षेत्रलाई मात्रै लक्षित नगरी केही जिल्लाहरु नै समेट्ने गरि आयोजनाको डीपीआर बनाउँदै छौं । ताकि तराईमा खानेपानीको समस्या समाधान होस् ।’

मेचीनगर नगरपालिकाका- १४ र १५ वडा, बिर्तामोड नगरपालिकाका १ देखि १३ वडाहरु र बुद्ध शान्ति गाउँपालिकाका १ देखि ७ वडाहरुका १ लाख ४२ हजार ८ सय ४८ जनसंख्याका लागि झापाको चारआलीमा मानव मलमुत्रीय फोहोर (दिसाजन्य लेदो) प्रशोधन गर्ने गरि प्रशोधन केन्द्रको समेत निर्माण गरिएको छ । २४ हजार ६ सय ३७ घरधुरीका लागि प्रतिदिन २७ घनमिटर दिसाजन्य लेदो प्रशोधन गर्ने गरि प्रशोधन केन्द्र बनाइएको हो ।

यी दुवै प्रशोधन केन्द्र निर्माणमा ८५ प्रतिशत लगानी संघीय सरकारको र १५ प्रतिशत नगरपालिकाहरुको लगानी रहेकोे छ । बिल एन्ड मेलिना गेट्स फाउन्डेसनको करिब १४ करोड आर्थिक सहयोगमा निर्माण भएको दुवै प्रशोधन केन्द्र नेपालमै पहिलो पाइलट प्रोजेक्टको रूपमा अघि बढेको छ । 

प्रकाशित समय १५:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु