fbpx
Rashifal Ad

गृहपृष्ठ बुलबुले विस्तार गुरुयोजना कार्यान्वयनमा बेवास्ता

बुलबुले विस्तार गुरुयोजना कार्यान्वयनमा बेवास्ता

ऐतिहासिक महत्व बोेकेको बुलबुले तालको गुरुयोजना बनेको तीन आर्थिक वर्ष बितिसकेको छ । आर्थिक वर्ष ०७३/७४ मा बुलबुले उद्यानमा विभिन्न काम गर्न गुरुयोजना निर्माण भएको थियो ।

सरोकारवालाहरुको वेवास्ताका कारण नगर विकास समितिले निर्माण गरेको उक्त गुरुयोजना विस्तारमा ढिलाइ भएको छ । नगर विकास समिति सुर्खेतका अनुसार शहरी विकास विभागको अनुगमनपछि प्राप्त निर्देशनबमोजिम गुरुयोजना निर्माण भनिएको थियो । विभागको योजना शाखामा उक्त गुरुयोजना पेश गर्ने र बजेट विनियोजन गर्ने भनिए पनि कार्यालय मर्ज भएका कारण समस्या भएको नगर विकास समिति सुर्खेतले जनाएको छ । नगर विकास समिति स्थानीय तहमा समायोजन भएपछि बुलबुले उद्यान गुरुयोजना विस्तारको काम अलपत्र परेको हो ।

गुरुयोजनामा टिकट घर, स्विमिङ पुल, पार्किङ, रेष्टुरेन्ट, ग्रीन हाउस, विश्राम कक्ष, ताल विस्तार, चिन्ड्रेन पार्क, कमल ताल, बाटो, रिङरोड निर्माण गर्ने उल्लेख थियो । यसका साथै महिला र पुरुषलाई छुट्टाछुट्टै बाथ स्पोर्ट, उद्यान क्षेत्रभित्र सोलार लगायतका २२ वटा योजना गुरुयोजनामा समावेश गरिएको तत्कालीन नगर विकास समितिका अध्यक्ष नारायण कोइरालाले बताए । उनका अनुसार यसका लागि ३१ करोड ६३ लाख रुपैया बजेट अनुमान गरिएको थियो ।

आफूहरुले टेन्डर आव्हान गर्न पठाएको भए पनि मन्त्रालयको वेवास्ताको कारण गुरुयोजना भित्रका केही कामको विस्तारमा ढिलाई भएको उनले बताए । बुलबुले उद्यान ताल विस्तारको लागि मन्त्रालयबाट आर्थिक वर्ष ०७५/७६ मा ५ करोड रुपैयाँ विनियोजन गरी टेन्डर भए पनि काम भने अझै सुरु नभएको कोइरालाले बताए ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले कार्यालय समायोजनका कारण काम रोकिएको र अब छिटै सुरु हुने आश्वासन दिए । मन्त्रालयका सूचना अधिकारी शेरबहादुर रोकायले अघिल्लो आर्थिक वर्षमा ताल विस्तार तथा मन्दिर क्षेत्रको विकासका लागि विनियोजित ५ करोड रुपैयाँलाई क्रमागत योजनामा राखिएको जानकारी दिए ।

चालू आर्थिक वर्षमा बुलबुले उद्यानको ताल विस्तारको लागि ३ करोड रुपैयाँ विनियोजन भएको रोकायले बताए । ‘बजेटको अख्तियारी आइनसकेकाले काममा ढिलाई भएको हो,’ उनले भने, ‘अख्तियारी आए अबको केही हप्तामा काम अगाडि बढाउँछौँ ।’ रोकायको अनुसार हाल मन्त्रालयले ताल बिस्तारलाई मात्रै प्राथमिकता दिएको भए पनि अन्य योजनाका लागि थप रकम आवश्यक परे रकमान्तर गरी बजेट जुटाउन सकिने रोकायले बताए ।

बुलबले ताल विस्तारका लागि जिम्मा पाएको ठेकेदार कम्पनी अमर–मजदुर जेभी सुर्खेतका नवराज सापकोटाले कार्यालयले साइड नदिएका कारण काम गर्न नसकिएको बताए । उनले वन निर्देशनालयले प्राविधिक कारण देखाई काममा ढिलाई गराएको उनको भनाइ छ । उनले कार्यालयले काम लगाएको खण्डमा जुनसुकै बेला पनि आफूहरु तयार रहेको बताए ।

प्रकाशित समय १८:२३ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु