fbpx
Nepal Mediciti

गृहपृष्ठ विराटनगरमा २१ करोडको लागतमा पशु बधशाला निर्माण हुँदै

विराटनगरमा २१ करोडको लागतमा पशु बधशाला निर्माण हुँदै

biratnagar_news

गुणस्तरीय बधशालाको अभावमा अस्वस्थ्यकर मासु खान बाध्य महानगरवासीले अबको डेढ वर्षभित्र स्वस्थ्यकर मासु खान पाउने भएका छन् । विराटनगरमा अत्याधुनिक र गुणस्तरीय पशु बधशाला निमार्ण हुने भएको छ ।

प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाले चासो देखाएपछि बधशाला निर्माण प्रक्रियाले गति लिएको हो । लामो समयदेखि बधशालाको अभाव हुँदा विराटनगरवासी स्वस्थ्यकर मासु खानबाट वञ्चित थिए ।

आगामी डेढ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी बधशालाको डीपीआर तयार भइसकेको छ । बधशाला निर्माणका लागि प्रदेश सरकार र विराटनगर महानगरपालिकाले पाँच।पाँच करोड बजेट विनियोजन गरेको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले टेण्डर आव्हान गरेर दसैंपछि निर्माणको काम शुरू हुने जानकारी दिए ।

मेयर पराजुलीले प्रदेश सरकार र महानगरपालिकाले आगामी बजेटमा समेत थप बजेट विनियोयन गरेर समयमा काम सम्पन्न गर्ने बताए । उनले भने, ‘केही दिनअघि विराटनगर महानगरपालिकाको टोली अनुगमनमा गुद्रीबजार जाँदा त्यहाँ अव्यवस्थित माछामासु विक्रीवितरण गर्दै आएको पायौँ । विराटनगर महनगरवासीले व्यवस्थित वधशालाको माग धेरै अघिदेखि नै गर्दैआउनु भएको हो । ६६ सालमै निर्माण सुरु भएपनि विभिन्न समस्याले पूर्णता पाएको थिएन । तर, अब प्रदेशको राजधानी विराटनगरमा व्यवस्थित र अत्याधुनिक बधशाला निर्माण हुन्छ ।’

बधशाला निर्माणका लागि २१ करोड २५ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । यसको दिगो रुपमा सञ्चालनका लागि सार्वजनिक, निजी ,उत्पादक र साझेदारी अर्थात् ‘फोर पी’ मोडलमा काम अगाडि बढाइएको मेयर पराजुलीले जानकारी दिए ।

मेयर पराजुलीका अनुसार कृषकको १ करोड ७३ लाख, मासु व्यवसायीको १ करोड ६१ लाख लगानी रहनेछ । हेफर इन्टरनेशनल नेपालले सो बधशाला निर्माणका लागि प्राविधिक सहयोग तथा सहजीकरण गरिरहेको कार्यक्रम प्रवन्धक उमाशंकर यादवले बताए । उनले भने, ‘हामीले पशु बधशाला निर्माका लागि प्राविधिक कुराको सहयोग गरिरहेका छौँ । निर्माणका लागि आवश्यक तयारी गरेका छौँ । अब निर्माण कार्य सुरु गर्न मात्र बाँकी छ ।’

नेपालमै नमूना बन्न लागेको बधशालालाई पूर्णता दिन महानगरपालिकाले नेतृत्व गरिरहेको छ । दैनिक ५ सय खसीबोका काट्न सकिने क्षमता रहेको बधशालाको टेण्डर आव्हानका लागि महानगरपालिका प्रशासन महाशाखा प्रमुुख अर्जुुन थपलियाको संयोजकत्वमा सात सदस्यीय समितिसमेत गठन गरेको छ ।

विराटनगर– ८ मा महानगरपालिकाको १ बिगाह ८ कट्ठा जग्गामा वधशाला निर्माणको काम २०६६ सालमा सुुरु भएको हो । तत्कालीन अवस्थामा १ करोड १९ लाख रुपैयाँको लागतमा निर्माण सुरु गरिए पनि कामले पूर्णता नपाउँदा त्यहाँ बनेका भौतिक संरचना अलपत्र अवस्थामा छन् ।

पुरानै भौतिक संरचना भए पनि मापदण्डअनुसार त्यसलाई व्यवस्थित गर्न सकिने भएकाले त्यही संरचनामा नयाँ बधशाला निर्माण हुुन लागेको हो । विराटनगर महानगरपालिका– ८ स्थित निर्माणाधीन पशु बधशाला अलपत्र परेको थियो । पर्याप्त बजेट नहुँदा काम सुरु भएको ९ वर्ष बितिसक्दा पनि बधशाला निर्माण सम्पन्न हुन सकेको छैन । तोकिएकै समयमा बधशाला निर्माण सम्पन्न गर्नुपर्ने उपभोक्ता अधिकारकर्मी उत्तम ढुंगेलले बताए ।

प्रकाशित समय १७:३२ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु