fbpx
Nepal Mediciti

गृहपृष्ठ गण्डकी प्रदेशका मुख्यमन्त्री र पोखराका मेयरको दसैं योजना

गण्डकी प्रदेशका मुख्यमन्त्री र पोखराका मेयरको दसैं योजना

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्षको दसैं आफ्नो जन्मथलो लमजुङको गिलुङ (टक्सार)मै मनाउँदै छन् । महाअष्टमीका दिन नै लमजुङ पुगिसकेका मुख्यमन्त्री गुरुङले भोलि मुख्यगरी तीन खलकका आफ्ना मान्यजनबाट टिका लगाउने र आशिर्वाद लिने भएका छन् ।

मुख्यमन्त्री गुरुङले लमजुङ टक्सारमै रहेका काकाहरु ७९ वर्षीय नरजंग गुरुङ, ८० वर्षीय मनिप्रसाद गुरुङ र ७२ वर्षीय अर्का काका गमबहादुर गुरुङको हातबाट गुरुङ परम्पराअनुसार सेतो टिका र जमरा लगाउने छन् ।

मुख्यमन्त्री भए पनि नेपाली परम्पराअनुसार नै विगतका वर्षमा जस्तै यो वर्ष पनि दसैं मनाउने योजना रहेको उनले बताए । आफूले मान्यजनहरुबाट टिका थापेपछि श्रीमती, छोराछोरी, भाइबुहारी, भतिजा लगायतका नातेदारहरुलाई पनि मुख्यमन्त्री गुरुङले टिका लगाइदिने छन् ।

महाअष्टमीको राति मौलाघरमा कालरात्रि पूजा कार्यक्रममा सरिक भएका उनी नवमीमा आफ्नै घरमा बलि दिने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएका छन् । आफन्तहरुसँगको भेटघाट हुँदै रातभर नाचगान हुने मौलाघरमा भोलिपल्ट नवमीको दिन घरघरमा बलि दिने मुख्यमन्त्रीको गाउँमा प्रचलन रहेको छ ।

दसैंको मौलिकता बिस्तारै हराउँदै गएकामा मुख्यमन्त्री गुरुङले चिन्ता व्यक्त गरे । नेपाली परम्परा र संस्कार–संस्कृतिसँग जोडिएका यस्ता पर्वको मौलिकता जोगाउन आफ्नो गच्छेअनुसार तडकभडकरहित तरिकाले मनाउनु पर्नेमा उनले जोड दिए । गाउँ छाडेर शहरकेन्द्रित हुने परम्पराले पनि दसैंजस्ता मौलिक परम्पराहरुको जगेर्ना गर्न समस्या भइरहेको उनको बुझाइ छ ।

‘घरमा रंगरोगन, बाटोघाटो सरसफाई, टोलैपिच्छे पिङ, विदेशिएकाहरु घर फर्कने र दुखसुख साटासाट गर्दै दसैं मनाउने जुन परम्परा थियो, अब करिब हराइसकेछ,’ उनले चिन्ता व्यक्त गरे ।

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले यस वर्षको टिका विगतमा झैँ आफ्ना बाबु ८६ वर्षीय नरबहादुर जिसी र आमा ८८ वर्षीया मानकुमारी जिसीको हातबाट लगाउने भएका छन् । मान्यजनबाट टिका, जमरा र आशिर्वाद लिएपछि उनले पनि आफूभन्दा सानो साइनोका अन्यलाई टिका लगाइदिने छन् ।

नगरवासीलाई खुशी र हर्षोल्लासका साथ दसैं मनाउन आग्रह गर्दै उनले फजुल खर्च नगर्न सुझाव दिए । उनले भने, ‘दसैंले सबैमा नयाँ उमङ्ग, उत्साह, सकरात्मक सोचको विकास गर्न सकोस् । दसैंको मर्म र भावनाअनुसार मनाऔँ । अरुको देखासिकी नगरौँ ।’

त्यसैगरी उपमेयर मन्जुदेवी गुरुङले यस वर्ष पनि आफन्तहरुसँग भेटघाट गरी दसैं मनाउने बताइन् । उनले टिका लगाउन भने विगत केही वर्षदेखि छाडेकी हुन्। दसैंले सबैमा सहयोगी भावना, एक आपसमा आत्मियता कायम गर्दै सकरात्मक सोचको विकास गराउन सकोस् भन्ने उपमेयर गुरुङले कामना गरिन्।

प्रकाशित समय २०:०४ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु