fbpx

गृहपृष्ठ ‘दुलही’झैं जनकपुर : करोडौँ खर्चेर मन्दिर र शक्तिपीठको सरसजावट

‘दुलही’झैं जनकपुर : करोडौँ खर्चेर मन्दिर र शक्तिपीठको सरसजावट

janakpurdham_mandir_dashain_newskarobar (1)

जनकपुरधाम मन्दिर नै मन्दिरको शहर हो । यहाँका शक्तिपीठहरु यतिबेला सरसजावटले झकिझकाउ छन् । जसले गर्दा यहाँँ दसैंको विशेष रौनकता छाएको छ ।

करोडौँ रुपैयाँ खर्चेर सरसजावट गरिएपछि जनकपुरको चोक–चोकका शक्तिपीठहरु ‘दुलही’झैँ देखिएका छन् । सडकमा समेत पण्डाल निमार्णदेखि चारैतिर भक्तिमय गीतसंगीतले जनकपुरधामको माहोल पुरै दसैंमय बनेको छ । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलगायत एक दर्जनभन्दा बढी स्थानमा शक्ति स्वरुपा देवी दुर्गाको प्रतिमा निर्माण गरी श्रद्धा तथा उल्लासपूर्वक पुजाआराधना भइरहेको छ ।

त्रेता युगमा मिथिलाका राजा जनकका कूलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा फूलैफूलको गेट निर्माण, आधुनिक रुपमा गरिएको भव्य सजावट र पण्डाल निमार्णले राजदेवी मन्दिरको स्वरुप ‘मनै हर्ने’ र ‘हेरिरहूँ’ लाग्ने बनेको छ । जानकी मन्दिरलाई समेत भव्य रुपमा सजाइएको छ । रामचौकमा दुर्गाको प्रतिमा बनाई करोडौँको खर्चमा युवाहरुले पण्डाल निमार्ण गरेका छन् ।

राममन्दिरसँगै रहेको राजदेवी मन्दिर, बौधी मन्दिर, अमरखाना मन्दिर, मुरलीचोक, भ्रमरपुराचोक, रामानन्दचोक, देवीचोक, रजौल लगायतका नगरका विभिन्न चोकमा दुर्गाको प्रतिमा बनाएर पूजापाठ गरिँदैछ ।

जनकपुरको दुर्गा पूजा हेर्न जनकपुरमा आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत घुइँचो लाग्ने गरेको छ । काम विशेषले जनकपुरभन्दा बाहिर रहेकाहरु पनि दसैं मनाउन घर फर्केपछि स्थानीय टोल र गाउँबस्तीहरुको माहोल उल्लासमय बनेको छ ।

सरसजावटमै करोडौँ खर्च

जनकपुरधामास्थित देवी शक्तिपीठलाई सजाउनकै लागि बर्सेनि करिब १ करोड रुपैयाँ खर्च हुँदै आएको छ । यहाँका महाविर युवा कमिटि, राम युवा कमिटि, गणेश युवा कमिटि, रामानन्द युवा क्लब, राजदेवी युवा कमिटि लगायतको चोक–चोकमा गठित समितिहरुको आयोजनामा सरसजावटको काम हुँदै आएको छ । दसैंको रमझम बढाउन यहाँका मुख्य–मुख्य युवा क्लबहरूको खर्च मात्र करिब १ करोड रुपैयाँ पुग्ने गरेको छ ।

जनकपुरधामको मुख्य शक्तिपीठ राजदेवी मन्दिरलाई आधुनिक तरिकाले सजाउनुको साथै पूजापाठमा ५० लाखभन्दा बढी खर्च गरिएको छ । महाविर युवा क्लबका अध्यक्ष सन्तोष साहका अनुसार खर्चको व्यवस्थापन व्यापारीको सहयोग, सदस्यता नवीकरण, राजदेवी मन्दिरमा चढाइने बोका बलीबाट जुटाउने गरिएको छ ।

बौद्धिमाई मन्दिर र अमरखाना माई मन्दिरको सजावट तथा पूजाको व्यवस्थापन भने राम युवा कमिटिले गर्दै आएको छ । यसका लागि कमिटिले बर्सेनि २० देखि २५ लाख रुपैयाँ खर्चिने गरेको छ । जनकपुरको हरेक शक्तिपीठमा १५ लाखभन्दा बढी बजेट सरसजावटमै खर्च हुने स्थानीय क्लबहरु बताउँछन् । महाविर युवा क्लव र राम युवा कमिटीले दाताहरुको सहयोगमा दर्शनार्थीका लागि निशुल्क भोजनको समेत व्यवस्था गर्दै आएको छ ।

राजदेवी मन्दिरमा महिलालाई प्रवेश निषेध

जनकपुरको प्रमुख शक्तिपीठ मानिएको माता राजदेवी मन्दिरमा महिलालाई प्रवेशमा रोक लगाइएको छ । घटस्थापनादेखि दशमीसम्म महिलाका लागि मन्दिर प्रवेशमा रोक लगाइएको हो । बाहिरपट्टि पूजापाठ गर्न दिइए पनि मन्दिरको गर्भगृहमा भने महिलालाई निषेध गरिएको छ । घटस्थापनाभन्दा अघिसम्म महिला–पुरुष दुवैले राजदेवी भगवतीको गर्भगृहमै गएर पूजा गर्ने गरिए पनि दसैंको समयमा भने व्यवस्थापन समितिले वर्षौंदेखि यस्तो नियम लगाउँदै आएको छ ।

प्रकाशित समय १३:११ बजे

vayodha-hospital
NCC Bank

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु